२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालमा वायु प्रदूषण : कार्बन मोनोअक्साइडको घातक असर कति ?

नेपालमा वायु प्रदूषण : कार्बन मोनोअक्साइडको घातक असर कति ?

नेपालमा वायु प्रदूषण : कार्बन मोनोअक्साइडको घातक असर कति ?

नेपालमा वायु प्रदूषण : कार्बन मोनोअक्साइडको घातक असर कति ?

नेपालमा वायु प्रदूषण :  कार्बन मोनोअक्साइडको घातक असर कति ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • निर्मल थारु

    स्वीस वायु गुणस्तर कम्पनी (ए क्यू एअर)ले नेपाललाई हाल सन् २०२६ मा इजिप्ट, अफगानिस्तान पछि तेस्रो वायु प्रदूषित देशको रुपमा प्रस्तुत गरेको छ । शिकागो विश्वविद्यालयअन्तर्गतको वायु गुणस्तर जीवन सूचांक परियोजनाको सन २०२५ को प्रतिवेदनले नेपाललाई तेस्रो प्रदूषित देशको रुपमा चित्रण गरेको छ । उक्त प्रतिवेदन अनुसार नेपालको वायुमा प्रदूषणबाट कुपोषणभन्दा १ दशमलव ५ गुणाभन्दा बढी र फोहोर पानीभन्दा ८ गुणा धेरै स्वास्थ्यमा असर पु¥याइरहेको छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनले पनि विश्वकै वायु गुणस्तरको तथ्याङ्क राख्ने गर्दछ र यसमा पनि नेपालको अवस्था उस्तै देखिन्छ । नेपाल भारत र चिन जस्तो औद्योगिक राष्ट्र नभए पनि यहाँका केही उद्योगहरु बाहेक सार्वजनिक रुपमा चल्ने सबै निजी  सरकारी र सार्वजनिक सवारी साधनहरुको उत्सर्जनले हदैसम्म स्थान विशेष र क्षेत्रगत रुपमा वायु प्रदूषण गरिरहेका छन् । नेपालमा हाल फोहोर पानी वा दूषित पानीबाट हुने मृत्यदर भन्दा वायु प्रदूषणबाट हुने मृत्यदर धेरै माथि पुगिसकेको छ । वायु प्रदूषणबाट हुने अल्पकालिन र दीर्घकालिन रोगहरुबाट समाज र अर्थतन्त्रलाई असर पु¥याउँछ नै यसबाट जन्मिने बच्चा र भविष्यलाई समेत असर गरिरहेको देख्न जरुरी छ । स्वास प्रस्वासको निम्ती वायु नै एउटै मात्रै स्रोत भएकोमा यसको स्वच्छताको ग्यारेण्टी सरकारले गर्नु पर्छ । काठमाडौं उपत्यकामा उद्योगहरुबाट २५ प्रतिशत वायु प्रदूषण हुन्छ भने सवारी साधनहरुबाट ३५ प्रतिशत वायु प्रदूषण हुन्छ । सडक क्षेत्रमा रहेका सबै व्यक्ति र वरपर रहेका बस्तीहरुको निम्ती वायु प्रदूषणको मूख्य स्रोत नै सावरी साधनहरु नै हुन् ।    

     
    पेट्रोल वा डिजेल इञ्जिनहरुभित्र इन्धन जल्नको लागि अक्सिजन चाहिन्छ । इञ्जिनले हावा तान्दा हावाको अक्सिजनसँगै नाइट्रोजन ग्यास पनि छिर्छ । इन्धनहरु कार्बन र हाइड्रोजनले बनेको र हावामा अक्सिजनभन्दा बढी नाइट्रोजन हुने हुँदा सवारी साधनहरुबाट उत्सर्जन हुने धुवाँमा मूख्यतः कार्बन डाइअक्साइड,कार्बन मोनोअक्साइड, नाइट्रोजनका अक्साइड र पूर्णरुपले जल्न नसकेको इन्धनबाट हाइड्रो–कार्बनहरु र कणको रुपमा ब्ल्याक कार्बन हुन्छन् । इञ्जिनभित्रको उच्च तापक्रममा नाइट्रोजन ग्याँस अक्सिजनसँग प्रतिक्रिया भई नाइट्रिक अक्साइड बन्छ र इञ्जिन बाहिर उत्सर्जन हुन्छ । गुणस्तरहीन इन्धनमा सल्फर समेत हुन्छ र यसबाट सल्फर डाइअक्साइड उत्सर्जन भइरहेको हुन्छ । यी सबै उत्सर्जनहरु सिधै हामीले स्वास लिने वायुमा मिसिरहेका हुन्छन् । स्वास प्रस्वासकै प्रकृयाबट यिनीहरु हाम्रो नाक, घाँटी, फोक्सोमार्फत् रगतमा मिसिएर मुटु हुँदै शरीरका विभिन्न अंग प्रत्यगंमा पुगेर असर गरिरहेका हुन्छन् । हुन त इञ्जिनहरुबाट निस्कने प्रदूषक ग्यास र कणहरु विभिन्न खालका हुन्छन् र विभिन्न तरिकाले वायु प्रदूषण गरेर स्वास्थ्यजन्य जोखिम र असर गरिरहेका हुन्छन् । यस लेखमा मुख्य रुपमा कार्बन मोनोअक्साइडसँग सम्बन्धित असर र मापदण्डको परिचर्चा गरेर अन्य ग्याँसहरु समेत सोही तरिकाले वायु प्रदूषण र स्वास्थ्य जोखिम गरिरहेका छन् भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।  


    कार्बन मोनोअक्साइड रंग रहित, गन्धरहित इन्धनको अपूर्ण जलनबाट उत्सर्जन हुन्छ । इञ्जिनहरुबाट सरदरमा १ लिटर पेट्रोल खपत हुँदा २० देखि ५० ग्राम सम्म र डिजेल इञ्जिनबाट ५–१५ ग्राम सम्म कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छ । कारहरुले सामान्यतया प्रति किलोमिटर लगभग ३ ग्राम बराबर कार्बन मोनोअक्साइड उत्सर्जन गर्छन् । मोटरसाइकलबाट २ ग्राम र ट्रकहरुबाट ४.५ ग्राम प्रति कि.मि. कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छन् । कार्बन मोनोअक्साइडले रक्त कोषिकाहरुमा हुने अक्सिजन विस्थापित गरी अक्सिजनयुक्त रक्तकोषिकाको सट्टा कार्बन मोनोअक्साइड युक्त रक्तकोषिका बनाउँछ र यसबाट शारीरिक अक्सिजन घटेर स्नायु प्रणाली सुस्त बनाउँछ र धेरै मात्रामा ज्यान पनि लिन्छ ।


    सडक विभागको सन् २०२४÷०२५ को अनलाइन राजमार्ग व्यवस्थापन सूचना प्रणालीमा उपलब्ध एक दिनको तथ्याङ्क विश्लेषण गर्दा बुटवलको राजमार्ग चौराहामा प्रति घण्टा ९९ वटा ट्रक, ९४ वटा बस, कार ८२ वटा, मोटरसाइकल ३९२ वटा,पिकअप ४४ वटा, ट्याक्टर ६ वटा, तीन पाङ्ग्रे ५५ वटा गुडेको देखिन्छ । सावरी साधनहरु चल्ने मुख्य समय बिहान ६ बजेदेखि राती १० बजेसम्म गरि १६ घण्टाको आधारमा उल्लेखित सवारी साधनहरुको संख्याहरु निकालिएका हुन् । एक किलोमिटर राजमार्गमा दायाँ बायाँ गरी ५० मिटर सडक क्षेत्र र मानिसको औषत उचाई ६ फिट लिँदा स्वास प्रस्वास हुने वायुमण्डलको आयतन ९० हजार घन मिटर हुन्छ । यसमा चल्ने सबै सवारी साधनहरुबाट भएको प्रति घण्टाको उत्सर्जनको हिसाब गर्दा १ घण्टामै ३६ दशमलव ७५ ग्राम अर्थात् ३२ हजार पिपिएम कार्बन मोनोअक्साइड उत्सर्जन हुन जाने देखिएको छ । अमेरिकाको व्यवसायिक सुरक्षा तथा स्वास्थ्य निकाय (ओशा) ले कार्यस्थलको वायुमा ८ घण्टाको अवधिमा ५० पिपिएमभन्दा धेरै कार्बन मोनोअक्साइड हुनु हुदैन भन्ने मापदण्ड राखेको छ । तर बालबालिका र अशक्तहरुलाई समेत हेरबिचार गरी अमेरिकाकै वातावरण संरक्षण प्राधिकरण (इपिए)ले ८ घण्टे अवधिमा कार्बन मोनोअक्साइडको मात्रा ९ पिपिएम तोकेको छ । विश्व स्वास्थ्य संगठनले कार्बन मोनोअक्साइडको २४ घण्टाको सरदर मात्रा ४ पिपिएम तोकेको छ । 


    उपत्यका जस्तो भू–संरचना भएको र हावाको बहाव र मिश्रण न्यून भएको क्षेत्रमा उत्सर्जन भएका प्रदूषकहरुको मात्रा बढेर अन्य खुला स्थानभन्दा धेरै असर गर्छ । कार्बन मोनोअक्साइड २०० पिपिएमको मात्रा पुग्दा मानिसमा निर्णय लिने क्षमतामा ह्रास हुने र चालकहरुमा ट्राफिक प्रति ध्यान गुम्ने, ब्रेक लगाउने निर्णय नै ढिलो गर्ने र यसको कारण सडकमा भएका प्रायः जसो दूर्घटनाहरुमा कार्बन मोनोअक्साइड मूख्य प्रदूषक हुन्छ । यस ग्याँसले मानिसलाई अचेतनातर्फ लैजान्छ । निदाएको बेला वा बन्द कोठा भित्र आगलागी हुँदा वा कोइला÷दाउरा वा ग्याँस बालेर सुत्दा कार्बन मोनोअक्साइडले सबैलाई अचेत गराइसकेको हुन्छ र आगलागी फैलिँदा समयमै भाग्न नसकेर जलेर मृत्य भएको दूर्घटनाहरु समय समयमा समाचारको रुपमा आउने गरेको हमी सबैलाई थाहा छ । कार्बन मोनोअक्साइडको मात्रा १६०० पिपिएम पुग्यो भने एक घण्टा भित्र मानिसको ज्यान जाने हुन्छ ।  


    नेपाल सरकारले पहिले अबलम्बन गरेको सवारी साधन उत्सर्जन सम्बन्धी यूरो ४ को मापदण्ड जून सन २००५ देखि लागू भएको थियो, सो बमोजिम कार्बन मोनोअक्साइडको मापदण्ड मात्रा डिजेल इञ्जिनको लागि ० दशमलव ५ ग्राम÷कि.मि. र पेट्रोल इञ्जिनको लागी १ ग्राम÷कि.मि. रहेको थियो ।  नेपालको  सवारी प्रदूषण मापदण्ड २०६९ ले हलुका कारको लागि प्रति किलोमिटर कार्बन मोनोअक्साइडको उत्सर्जन २ दशमलव ३ ग्राम, मिनिबसबाट ५ दशमलव २२ ग्राम सम्म, डिजेल गाडीबाट २.१ ग्राम सम्म हुनु पर्ने मापदण्ड तोकेको थियो । तर सो बेला यस सम्बन्धमा कही कतैबाट अध्ययन गरिएन । हाल युरो ६ लागू भएको र यस मापदण्डमा प्रदूषक तत्वहरुको मात्रा अझ न्यून भए पनि नेपालमा चलिरहेका अधिकाँश सवारी साधनहरु प्रायः यूरो ४ स्तरको नै भएको र केही त अझ पहिले नै निर्मित भएका सवारी साधनहरु छन् । सवारी साधन चल्नै नसक्ने भए पश्चात मात्रै मर्मत सम्भार गर्ने हाम्रो बानी छदैछ, अझ विडम्बनाको रुपमा काठमाडौं बाहेक अन्य सडकहरुमा सवारी साधनहरुको धुवाँको गुणस्तर नियमन जस्ता कार्यहरु प्रभावकारी रुपमा हुन सकेका छैनन् । यातायात व्यवस्था कार्यालयले सवारी दर्ता र नविकरणको बेला गर्ने धुवाँ परीक्षण, त्यो पनि कार्यालय परिसरभित्र गर्ने हुनाले बाहिर सडक र सार्वजनिक स्थानहरुमा सवारी साधनको धुवाँ समेतको गुणस्तर के छ भनेर हेर्ने निकाय पनि छैनन् । वातावरण विभागले विभागीय कार्यहरु गर्नुपर्नेमा सडकमा उत्रेर धुवाँ परीक्षण गर्ने परेको छ । अर्थात् सडकमा प्रदूषण नियमन गर्नको लागि प्रदेश एवं स्थानीय तहहरुलाई परिचालन गरिएको छैन । विगत केही वर्ष देखि हलुका सवारी साधनहरु विद्युतीय गाडीको रुपमा उपलब्ध हुँदै आएका  भए पनि  हाल सडकहरुमा गुडिरहेका डिजेल र पेट्रोल इञ्जिनहरु अहिले पनि वायु प्रदूषणको मूख्य कारकको रुपमा देख्न सकिन्छ । इन्धनमा १० देखि २० प्रतिशतसम्म इथानोल मिसाउने नेपाल सरकारले हालै नीति ल्याएको छ । तर चलन चल्तीमा रहेका सवारी साधनहरुका इञ्जिनहरु पनि इथानोल मिश्रणको लागि बनेका होइनन् । इथानोलले सजिलै अलुमिनियम, तामा र रबरहरुलाई क्षय गर्न सक्ने भएकोले नेपालका अधिकांश पुराना गाडीहरुको मर्मत खर्च बढ्न सक्ने सम्भावना भए पनि दश प्रतिशत सम्मको इथानोल मिश्रणले प्रदूषण नियन्त्रणमा सहयोग हुने देखिन्छ । तर व्यापक रुपमा प्रयोग हुने दश प्रतिशतभन्दा धेरै मात्रामा इथानोल इन्धनमा मिसाउन सोही अनुसारले इञ्जिन पनि बनेको हुनुपर्छ, नभए प्रदूषण बढ्न सक्छ ।


    पेट्रोल र डिजेलमा आधारित हेभी ट्रक र बसहरुबाट प्रति किलोमिटर १०.१ ग्रामसम्म र मोटरसाइकलबाट ० दशमलव ४ ग्राम प्रति किलोमिटरसम्म नाइट्रोजन अक्साइडहरु उत्सर्जन हुन्छन् । नाइट्रिक अक्साइड वायुमा उत्सर्जन हुँदा  अक्सिजनसँग प्रतिक्रिया गरेर नाइट्रोजन डाइअक्साइड बनाउँछ । सुनौलो र खैरो रंग हुने यस नाइट्रोजन डाइअक्साइडमा नाक, घाँटी र आँखा पिरो गराउने र स्वास नली र छाती भित्र रहेको वाफ (पानी) सँग प्रतिक्रिया गरी अम्ल (एसिड) बनाउने र दीर्घकालिन रुपमा अस्थमा वा दम रोग निम्त्याउने उच्च जोखिम हुन्छ । सूर्यको किरणमा नाइट्रोजन डाइअक्साइड र अक्सिजन एक आपसमा प्रतिकृया भई ओजोन ग्याँस बन्छ । ओजोन ग्यास प्राणघातक ग्याँस हो र यसलाई कीटनाशकको रुपमा प्रयोग गर्ने गरिएको हामी सबैलाई थाहा छ । तर कीरा मार्न सक्ने रसायनले हाम्रा संवेदनशील अंगहरुलाई पनि असर गर्छ । इन्धन जलेर उत्पन्न हुने नाइट्रोजन डाइअक्साइड,अक्सिजन र जल्न नसकेका हाइड्रो–कार्बन मिलेर वायुमा परअक्जि–एसिटाइल–नाइट्रेट वा पि.ए.एन बन्छ जुन एकदमै क्रियाशील हुन्छ अर्थात जे पनि यसको सम्पर्क आयो भने तुरुन्तै क्षयीकरण सुरु हुन्छ । पि.ए.एन.ले सम्पर्कमा आउने शरीरको अंग–प्रत्यङ्गसँग नै रसायनिक प्रतिक्रिया गर्न सक्ने क्षमता हुन्छ । अझ नाइट्रोजन डाइअक्साइड,ओजोन र पि.ए.एन. मिश्रण हुँदा वायुमा सुनौलो–खैरो रंगको तुवालो बन्छ र सो तुवाँलो युक्त वायु श्वाँस प्रश्वाँस लिने सबैको लागि प्राणघातक हुन्छ । भौगोलिक रुपमा बन्द रहेका उपत्यका जस्ता स्थानहरुमा र हावा नचल्ने मौसमको बेला अत्यधिक ट्राफिकले गर्दा नाइट्रोजन डाअक्साइड,ओजोन, पि.ए.एन. र खैरो तुवाँलो एकै साथ बनिरहेको हुन्छ । यस खालको तुवाँलोबाट दीर्घकालिन रुपमा आँखा सम्बन्धी रोग, स्वास –प्रस्वास सम्बन्धी रोग,फोक्सोसम्बन्धी रोग, मुटु र रगतसम्बन्धी समस्या आउने हुन्छ । 


    विश्व स्वास्थ्य संगठनले १० माइक्रोग्राम नाइट्रोजन डाइअक्साइडको मात्रा नै जोखिमपूर्ण ठहर गरेको र २४ घण्टाको समयमा २५ माइक्रोग्राम प्रति घन मिटर सम्म र वार्षिक सरदर १० माइक्रोग्राम प्रति घन मिटर सम्म कायम गर्नुपर्ने निर्देशन गरे पनि हाल नेपालको राष्ट्रिय वायु गुणस्तर मापदण्ड २०६९ ले नाइट्रोजन डाइअक्साइड २४ घण्टा सम्म ८० माइक्रोग्राम प्रति घन मिटर तोकेको छ जुन तुरुन्तै संशोधन गर्नु पर्ने देखिन्छ । हाइड्रोकार्बन र नाइट्रोजनका अक्साइडबाट बनेको खैरो तुवाँलोमा बेन्जिन, ब्यूटाडिन, एल्डेहाइड, टोल्यूइन, जाइलिन जस्ता पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पि.ए.एच.) हुन्छन् । यी सबै रसायनहरु अर्बुदरोग (क्यान्सर) का कारक हुन् र फोक्सो, रगतमार्फत् मुटु र मूत्र थैली सम्म पुगेर क्यान्सर लगाउने कारकको रुपमा पहिचान गरिएको छ । ताइवानको एक अध्ययनमा ० दशमलव १ पिपिएमले वायुमा हाइड्रो कार्बन  बढ्दा सर्वसाधरणको ,स्वास–प्रस्वास र रक्तसंचार सम्बन्धी समस्या लगभग १ प्रतिशतले  बढ्दै जाने तथ्य पनि पाइएको छ । नेपालको राष्ट्रिय वायु गुणस्तर मापदण्ड २०६९ मा तोकिएको बेन्जिन पनि एक हाइड्रोकार्बन हो र यसको मापदण्ड मात्रा वार्षिक सरदर ५ माइक्रोग्राम प्रति घन मिटर (० दशमलव १५ पिपिएम) तोकिएको छ । तर हावामा हुने बेन्जिन घातक रसायन भएकोले वार्षिक भन्दा पनि कम्तीमा ८ घण्टाको मात्रा तोकिन पर्ने र अन्य रसायनहरुको प्रभावकारी सूचक बेन्जिन नहुने भएकोले पि.ए.एच.लाई समेत मापदण्डमा ल्याउन उपयुक्त देखिन्छ । विश्व स्वास्थ्य संगठनले बेन्जिनको ८ घण्टाको सरदर मात्रा ० दशमलव ००३ मिलिग्राम प्रति घनमिटर (० दशमलव ००१ पिपिएम भन्दा पनि थौरै) पि.ए.एच.को मात्रा ० दशमलव ००००८७ न्यानोग्राम प्रति घन मिटर तोकेको छ जुन क्यान्सर लगाउन सक्ने मात्रामा आधारित छ ।


    हालको हाम्रो वायुमण्डलमा प्रति दश लाख भागमा ४३० भाग (४३० पिपिएम वा ० दशमलव ०४३ प्रतिशत) कार्बन डाइअक्साइडको मात्रा पुगेको छ । कोइला, पेट्रोल डिजल प्रयोग शुरु हुनु भन्दा पहिलेको वायु मण्डलमा यसको मात्रा २८० पिपिएम (० दशमलव ०२८ प्रतिशत) भन्दा न्यून रहेको अनुमान छ । औद्योगिकरण र सवारी साधन मूख्य उत्सर्जक रहेकोले वायुमा कार्बन डाइअक्साइडको मात्रा बढ्दै गइरहेको छ । यदि हाम्रो पृथ्वीको वायुमा कार्बन डाइअक्साइडको मात्रा ६०० पिपिएम (० दशमलव ०६ प्रतिशत) मात्रै पुग्ने हो भने पनि केही घण्टामै हामी मानसिक रुपमा कार्य गर्न असक्षम हुन सक्छौं ।  वायुमा ५ प्रतिशत कार्बन डाइअक्साइडको मात्रा पुग्यो भने मुटुको चाल र रक्त संचार सुस्त हुन जाने र एशिडोसिस (अम्लिय रगत) भई हामी अचेत हुँदै जान्छांै । कार्बन डाइअक्साइडको मात्रा १४ प्रशितभन्दा माथि हुँदा मानिसलाई केही सेकेन्डमै बेहोस बनाउन सक्छ । कार्बन डाइअक्साइड ग्याँस अक्सिजन ग्याँसभन्दा गह्रुँगो हुने भएकोले यो वायुमण्डलको माथिभन्दा पनि तल पिंध वा पृथ्वीको सतहमा जम्मा भएर बस्छ । इनार, गूफा जस्ता खाल्डा खुल्डीमा अक्सिजन विस्थापित गरेर कार्बन डाइअक्साइड ग्याँस जम्मा हुने भएकोले इनार वा गहिरो गुफामा पसेका मानिसहरु अचेत भइ मृत्यु भएको घटना हामी सुनिरहेका हुन्छौं । कार्बन डाइअक्साइड ग्याँसले ताप सोसेर राख्ने भएकोले यसलाई हरीत गृह ग्याँस पनि भनिन्छ । वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दै जाँदा यसबाट वायुको तापक्रम बढिरहेको हुन्छ । प्रति १०० पिपिएम कार्बन डाइअक्साइडको वृद्धिले वायुको तापक्रम १० सेन्टिग्रेडले बढ्ने तथ्य उजागर भएको देखिन्छ । वायुमा ग्याँसहरु सहजै मिश्रण भई पातलिने, बहेर जाने र घाम लागेको बेला बोट बिरुवाले कार्बन डाइअक्साइड सोस्ने भएकोले कार्बन डाइअक्साइडको प्रभाव हामीले अनुभव गर्दैनौ । नेपालको वायु गुणस्तर मापदण्ड २०६९ र सवारी प्रदूषण मापदण्ड २०६९ दुवैमा कार्बन डाइअक्साइड उत्सर्जनको मापदण्ड राखिएको छैनन् ।


    युरोपियन राष्ट्रहरुको लागि सवारी साधनको प्रदूषण मापदण्ड युरो ६ सन २०१४ मै लागू भएर हाल सन २०२१ मा ल्याइएको युरो ६ डी लागू छ । यस मापदण्डमा सवारी साधनको वर्गिकरण गरेर उत्सर्जनका सीमाहरु तोकिएका छन् । पेट्रोलमा आधारित सेडान, ह्याचब्याक, एसयूभी कारहरुको वर्ग (एम १) को लागि प्रति किलोमिटर कार्बन मोनोअक्साइड १ ग्राम, नाइट्रोजनका अक्साइडहरु ० दशमलव ०६ ग्राम, कणजन्य उत्सर्जन (डाइरेक्ट इग्निशन) ० दशमलव ००५ ग्राम र २३ न्यानोमिटर व्यास भएका कण (पि.एन.) हरुको संख्या  ६ खर्ब सम्म राखिएको छ । त्यसै गरी डिजेलमा आधारित कारहरुको लागी कार्बन मोनोअक्साइड ० दशमलव ५ ग्राम, नाइट्रोजन अक्साइडहरु ० दशमलव ००८ ग्राम र बाँकी अन्य प्रदूषक तत्वहरुको लागि पेट्रोल कारहरुकै सरह रहेको छ । त्यसै गरी १ दशमलव ३ देखी १ दशमलव ८ टन वजन सम्मका यात्रुबाहक गाडीहरुको लागि नइट्रोजन अक्साइडहरुको मात्रा प्रति किलोमिटर ०दशमलव ०८ ग्राम देखि ० दशमलव १२५ ग्रामसम्म तोकिएका छन् भने समग्र प्रदुषक कणहरुको लागी ० दशमलव ००५ ग्राम प्रति किलोमिटर तोकिएका छन् । 


    यस वर्गभन्दा बढी वजन भएका सवारी साधनहरुको लागी प्रति किलोमिटर नाइट्रोजन अक्साइडहरु ० दशमलव  ४ ग्राम, कणहरु ० दशमलव ०१ ग्राम, हाइड्रोकार्बन ० दशमलव १३ ग्राम, कार्बन मोनोअक्साइड १ दशमलव ५ ग्राम र १ किलोवाट बराबरको शक्ती दिने इञ्जिनले १ घण्टासम्म इन्धन खपत गर्दा पि.एन. (व्यास २३ नानोमिटर) कणहरुको संख्या अधिकमा ८ खर्ब सम्म हुनु पर्ने उल्लेख गरेको छ। युरोपमा मोटरसाइकलको लागि युरो ५ मा केही संशोधन गरी यूरो ५+ लागू गरिएको छ । यस युरो ५+ मा १२५ सिसिभन्दा माथिका मोटरसाइकलको लागि प्रति कि.मि. कार्बन मोनोअक्साइड १००० मिलिग्राम, नाइट्रोजन अक्साइडहरु ६० मिलिग्राम, हाइड्रोकार्बन १०० मिलिग्राम, धुलोका कणहरु ४ दशमलव ५ मिलिग्राम र पि.एन. (व्यास २३ नानोमिटर) कणहरुको संख्या ६ खर्ब नै राखिएको छ । हाल प्रचलनमा रहेको सवारी साधन प्रदूषणका मापदण्डहरु युरोप, जापान, चीन, दक्षिण कोरिया र भारतको एउटै रहेको छ । नेपालमा हाल सवारी साधनको लागि युरो ६ लागू भएको र अन्तर्राष्ट्रिय लक्ष्यहरु बमोजिम अन्य राष्ट्रहरु जस्तै नेपालले पनि सन २०३५ सम्म नीजि तथा सार्वजनिक सवारी साधनहरु सबै विद्युतीय हुने प्रतिबद्धता जाहेर गरिसकेको छ ।


     यातायात व्यवस्था विभागको सन २०१८ को प्रतिवेदन बमोजिम नेपालमा हाल सम्म कूल ३२ लाखभन्दा बढी सवारी साधन दर्ता भइसकेका छन् । यसमा मोटरसाइकल मात्रै करिब २५ लाख संख्यामा दर्ता रहेका छन् । कार जीपहरुको संख्या २ लाख ३७ हजार र १ लाख ४३ हजार भन्दा बढी संख्यामा ट्रेक्टरहरु दर्ता रहेका छन् । यस प्रतिवेदन बमोजिम नेपालमा बसको संख्या करिब ५० हजार छ भने डोजर÷क्रेन वर्गका सवारी मेशिनहरु ९० हजारको संख्यामा दर्ता रहेको देखिन्छ । इ–रिक्सा भने करिब २६ हजार भन्दा बढिरहेको उल्लेख छ । तर हाल ५÷६ वर्षको दौरानमा सवारी साधनको संख्या स्वाभाविक रुपमा अझै बढेको अनुमान गर्न सकिन्छ । विगत केही वर्षहरुको बिक्री दर हेर्दा ८० प्रतिशत सवारी साधनहरु इ.भि. (विद्युतीय) वर्गका रहेको पाइन्छ । तर जति नै दर्ता भए पनि स्थानको वायु प्रदूषण सो स्थानमा गुड्ने सवारी साधनहरुको संख्याले निर्धारण गर्दछ ।  यस्तै अनुपातमा नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड जस्ता अन्य ग्याँसहरुले पनि सडक क्षेत्र र वरपर दूषित गरिरहेका छन् । विद्युतीय सवारी साधनको खरिद बिक्री बढ्नुको अर्थ सडकमा डिजेल र पेट्रोल गाडीहरुको संख्या हाल घटिरहेको मान्न सकिंदैन । 


    विश्व स्वास्थ्य संगठनको वायु  गुणस्तर निर्देशिका २०२२ अनुसार ८ घण्टा सम्मको उत्सर्जन हुँदा १ घनमिटर (अर्थात १००० लिटर)को वायुमा ० दशमलव ००२५ सेन्टिमिटर (२ दशमलव ५ माइक्रोमिटर) व्यास भएका कणहरु जसलाई पि.एम.२.५ (एः२ दशमलव ५) पनि भनिन्छ, यसको मात्रा ० दशमलव ०००००५ ग्राम (५ माइक्रोग्राम) र २४ घण्टाको वायुमा १५ माइक्रोग्राम (० दशमलव ००००१५ ग्राम) भन्दा बढी हुनु हँुदैन भनी तोकेको छ । त्यसै गरी नाइट्रोजन डाइअक्साइड (एनओ २) मात्राको ८ घण्टाको अवधीमा १० माइक्रोग्राम र २४ घण्टामा २५ माइक्रोग्राम हुनु पर्ने र कार्बन मोनोअक्साइड(सीओ)को मात्रा २४ घण्टामा ४ माइक्रोग्राम हुनुपर्ने निर्देशन राखेको छ । यसै गरि नेपालले २४ घण्टामा पि.एम.२ दशमलव ५ को मात्रा ४० माइक्रोग्राम, नाइट्रोजन डाइअक्साइडको मात्रा ८० माइक्रोग्राम, कार्बन मोनोअक्साइडको मात्रा ८ घण्टामा १० हजार पिपएम राखिएको छ । राष्ट्रिय वायु गुणस्तर मापदण्ड  २०६९ जारि भएपश्चात् यसको आधारमा नेपालको वाय गुणस्तर के कस्तो छ भन्ने आवधिक अध्ययन गरी सार्वजनिक रुपमा नागरिकहरु माझ सूचना प्रभाव भएको कतै देखिंदैन । वि.सं. २०७३÷०७४ देखी हाल सम्म जडान गरिएका ३१ वटा वायु गुणस्तर मापन केन्द्रहरु मध्ये हाल जम्मा १२ वटाले मात्रै काम गरिरहेका छन् । पोलुसन डट जिओभी डट एनपी मार्फत उपलब्ध गरिएको वायु गुणस्तरको जानकारीमा पि.एम.का कणहरु बाहेक अन्य प्रदूषक तत्वहरुको तथ्याङ्क राखिएको देखिंदैन । तोकिएका मापदण्ड बमोजिम प्रदूषकहरु नाप जाँच गर्ने संस्थागत र प्राविधिक क्षमता र विषयगत जनशक्ति परिचालन नभएकोले यस प्रति नेपालको क्षमता बनिसकेको छैन । यातायात व्यवस्था हेर्ने निकायले सवारी दर्ता र नविकरणको बेला प्रदूषक ग्याँस जाँच गरिने कार्यबाट मात्रै वायु प्रदुषणको रोकथाम गर्न सकिंदैन । वातावरण भनेकै व्यक्ति र जनसंख्याको हुने भएकोले सार्वजनिक स्थान र वायुमा सवारी साधनबाट हुने उत्सर्जन र प्रदूषण वातावरणीय रुपले अझ संवेदनशील हुन्छ । नेपाल सरकारको जलवायु परिवर्तनसम्बन्धी दूर्गामी योजना (राष्ट्रिय निर्धारित लक्ष्य ३.०) मा पनि हाल उत्सर्जन भैरहेको प्रदूषण रोकथाम र हाल गुडिरहेका डिजेल र पेट्रोल इञ्जिनहरुलाई प्रभावकारी रुपले सम्बोधन गरेको देखिदैन, बरु सन २०३५ सम्म सबै निजी र सार्वजनिक सावरी साधनहरु विद्युतीय हुने भनी लक्ष्य तोकिएको पाइन्छ । सरकारबाट डिजेल÷पेट्रोल बिक्री वितरण वापत प्रदुषण शुल्कको नाममा हाल सम्म उठाइएको  करिब रु २ अर्ब ४८ करोड पनि परिचालित गरिएको छैन । देखासिकी गरेर र उद्देश्य बिनाको कर उठाँउदा केमा र कसरी खर्च गर्ने भनी टुंगो लगाउन नसकिने भएकोले यस्तो हुन गएको भन्न सकिन्छ ।  


    प्रचलित वायु गुणस्तर मापदण्ड २०६९ स्वच्छता र स्वास्थ्यको लागी पर्याप्त छैनन् । नेपालमा कुन ग्याँसले के कति शरीरलाई हानी गर्छ भन्ने अध्ययनहरु भएको भए त्यही आधारमा वायु गुणस्तरका मापदण्डहरु तोकिन पथ्र्यो । यसको लागी वायुको नमूना, त्यसमा भएका हानिकारक ग्याँस र कणहरुको मात्रा, ती तत्वहरु मानव शरीरमा पस्दा मानिसिक र शारीरिक प्रणालीमा के कस्तो असर गरी समुच्च स्वास्थ्यमा के कस्तो प्रभाव पार्छ भन्ने सम्मको अध्ययन अनुसन्धान गर्न जरुरी हुन्छ । हुन त यस खालका अध्ययनहरु अन्य देशहरुबाट हुने गरेको र सो सजिलै उपलब्ध हुने भएकोले नेपालको आफ्नो अध्ययन खासै भएको देखिंदैन । अन्य देश एवं विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट जारी भएका निर्देशिका र मापदण्डहरु हेर्ने हो भने नेपालको वायु गुणस्तरको मापदण्ड २०६९ लाई देशको भूगोल सुहाउँदो संशोधन गरी उच्चस्तरको वायु गुणस्तर कायम गर्न जरुरी छ । 


    प्रदूषण हुने गरी सवारी साधन गुडाएर वा  प्रदूषण हुने गरी उद्योग चलाएर आर्थिक लाभ लिने र यसबाट हुने वायु प्रदूषण व्यक्ति वा सर्वसाधरणले सहनु पर्ने न्यायसंगत हुँदैन । सर्वसाधरणको स्वास्थ्य र जीवन जोखिम र नोक्सान पु¥याइ प्रदूषण गर्ने अर्थतन्त्रबाट लाभ लिने कार्य सरकारले गर्न हँुदैन । नेपालमा सवारी साधनबाट हुने उत्सर्जनले पनि उल्लेखनीय रुपमा स्थानीय र राज्यको वायु गुणस्तर ह्रास र प्रदूषित गरिरहेकोले यस प्रति तीन वटै तहका सरकारहरुको भूमिका विकास गर्नु पर्ने देखिन्छ । नेपाल भित्रबाट सृजित वायु प्रदूषण नियन्त्रण संयन्त्र विकास र अवलम्बन गर्न सके मात्रै सोहीअनुसार सीमा पारबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न सुझाव र ज्ञान दिन सकिनेछ ।
    (लेखक लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक हुन् ।) ु 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij