पश्चिम एसियामा एक महिनादेखि जारी युद्धको चौतर्फी प्रभाव देखिन थालेको छ । हवाई यातायातको भाडा दोब्बर बढेको छ । यातायात भाडा बढाउन व्यवसायीले दबाब दिइरहेका छन् । इन्धनको निरन्तरको मूल्यवृद्धिले अब बजारमा चौतर्फी असर पर्नेछ ।
हवाई इन्धनको मूल्य ९८ प्रतिशतले बढेपछि आन्तरिकमा हवाई उडानको भाडा समेत झण्डै दोब्बरले वृद्धि हुँदा अब हवाइजहाजमा यात्रु पाउन समस्या देखिन्छ । हवाइ भाडाअन्तर्गत फ्यूल सर चार्ज बढ्दा सबैभन्दा धेरै हवाइ भाडा काठमाडौं– धनगढी रूटको पुगेको छ । नयाँ दरअनुसार काठमाडौं– धनगढी रूटको भाडाअन्तर्गत फ्यूल सर चार्ज एकैपटक ५४ सय ८० रुपैयाँले बढेको छ । मंगलबारसम्म वायुसेवा कम्पनीले यो रुटको टिकटअन्तर्गत इन्धनमा लाग्ने शुल्क ( फ्यूल सर चार्ज) ५६ सय १० रुपैयाँ मात्रै थियो ।
अब धनगढीको हवाई भाडामा फ्यूल सर चार्ज मात्रै ११ हजार ९० पुगेको छ । यसमा एयर फेयर र विमानस्थल सेवा शुल्क अलग्गै तिर्नुपर्ने छ । काठमाडौं– भैरहवा रुटमा २५ सय ५५ रुपैयाँले वृद्धि भई ५१ सय ७० पुगेको छ । तर अहिले नै योभन्दा धेरै भाडा निजी विमान कम्पनीले असुली रहेका छन् । डिजेल र पेट्रोलको पनि निरन्तर मूल्यवृद्धि भएको छ । अब यातायात भाडा पनि बढ्ने छ । बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य चुनावपछि निरन्तर बढिरहेको छ । अब नागरिकका कष्टकर दिन आए । नागरिकको आम्दानी बढ्न नसकिरहेका बेला भएको मूल्यवृद्धिले सबैभन्दा असर न्यून र मध्यमवर्गलाई पार्नेछ ।
भर्खरै चुनाव भएको छ । चुनावपछि आएको नयाँ सरकारसँग नागरिकका धेरै अपेक्षा छन् । चुलिएका नागरिकका अपेक्षा पूरा गर्न सरकारलाई स्रोत जुटाउन चुनौती छ । अहिले तत्काल गर्नुपर्ने काम हो, बजारलाई नियन्त्रणमा राख्नु । बजारमा व्यवसायीले आफूखुशी मूल्यवृद्धि गर्ने प्रवृत्ति बढ्दै गएको छ । बजारमा खाना पकाउने एलपी ग्यास कालोबजारी भइरहेको छ । बुटवलमा जिल्ला प्रशासन कार्यालय र बुटवल उप–महानगरपालिकाको अगुवाइमा भएको अनुगमनले कालोबजारी गर्नेलाई जरिवाना गरेको छ । तर अन्यत्र ग्यासमा कालो बजारी भएको समाचार आइरहेका छन् ।
बजारमा मनपरी हुँदा सर्वसाधारणलाई मार पर्छ । सरकारले मूल्यवृद्धि आफूखुशी गर्न दिने होइन्, जायज ढंगले सरकारी निकाय नै अग्रसर हुनुपर्छ । पश्चिम एशियाको युद्धका कारण हामीले भोग्नपर्ने समस्याका बारेमा सरकार चनाखो हुनुपर्छ । अहिलेदेखि नै योजना बनाएर अघि बढ्दा जोखिमसँग जुध्न सकिन्छ ।




