मोहम्मद हबिब
भैरहवा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन कक्षमा स्वचालित ब्यागेज ह्यान्डलिङ सिस्टम जडान भई सुचारु भएको छ । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार सार्वजनिक खरिद नियमावली बमोजिम अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् २ करोड ६९ लाख रुपैयाँ भ्याटसहितको लागतमा यो प्रणाली जडान गरिएको हो ।
सेवा र सुविधामा थप सुधार गर्दै विमानस्थल प्रशासनले प्रणाली सुचारुसँगै अब यात्रुले जहाजमा ल्याएको व्यागेज सहजै पाउने छन्, कर्मचारीले वितरण गर्नुपर्ने अवस्था रहँदैन । स्वचालित ब्यागेज ह्यान्डलिङ सिस्टमको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्णले स्वीच थिचेर उद्घाटन गरेका हुन् । बिहान आएको यती र बुद्ध एयरबाट यात्रुका ब्यागेज सिस्टममा राखि सुरुवात गरिएको हो ।
यसअघि सानो कोरिडोरबाट सेवा दिँदै आएको आन्तरिक आगमनलाई पुरानो भवन रिनोभेट गरी विस्तार गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले बताए । एक हजार किलोसम्मको लोड टेस्ट सफल भइसकेको यो नयाँ प्रणालीले एकैपटक तीनवटा उडानका ब्यागेजहरू बिना ढिलाइ व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ, स्वचालित तरिकाले नै हामीले ब्यागेज डिस्ट्रिब्युसन गर्न सक्छौँ ।
पहिले हामी डोमेस्टिक एराइभलतर्फ हाम्रो इन्टरनेसनल डोमेस्टिक डिपार्चरसँगै सानो कोरिडोर थियो । त्यसलाई हामी अर्को तिर पुरानो बिल्डिङहरुमा रिनोभेट गरेर त्यहाँबाट अलि ठूलो ठाउँमा सञ्चालन गर्यौँ । अहिले त्यहाँ ब्यागेज ह्यान्डलिङ सिस्टम पनि जडान गरेर ल्यायौँ । रसाथै, उक्त क्षेत्रमा केही दिनभित्रै एसी जडानका लागि ठेक्का प्रक्रिया समेत सम्पन्न भइसकेको निमित्त महाप्रबन्धक साहले जानकारी दिए ।
५ दशक बढीदेखि पुरानो संरचनामा रहेको विमानस्थलको आन्तरिकतर्फ आगमन, प्रस्थान र भिआइपी कक्ष एकै ठाउँमा हुँदा असहज स्थिति बनेपछि आगमन कक्षलाई केहीसमय पहिला सेवा सुविधा थप्दै स्तरोन्नति गरी अत्याधुनिक बनाइएको थियो । विमानस्थल आन्तरिकबाट अन्तर्राष्ट्रिय बनेपनि आन्तरिकतर्फको संरचनाहरु अपग्रेड हुन नपाउँदा सेवाग्राहीले सास्ती पाउने गरेका थिए ।
भैरहवाबाहेक मुलुकका धनगढी, नेपालगञ्ज, जनकपुर र विराटनगर विमानस्थलमा यस्तो प्रविधि जडान गरिएको छ । यसले आगमन कक्ष व्यवस्थित हुनुका साथै यात्रुलाई सुविधा पुग्ने गरेको निमित्त महाप्रबन्धक साहले जानकारी दिए ।
विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार आन्तरिकतर्फ एक वर्ष ८–९ लाख बढी यात्रुहरुलाई सेवा दिँदै आएको र यो तथ्याङक बढ्दो रहेको बताउँदै यहाँबाट नियमित सरदरमा २० वटा उडान हुने गरेको जनाए । जसमा ३ वटा एयरलाइन्समार्फत् एक वटा पोखरा र बाँकी काठमाडांै उडान हँुदै आएको छ ।विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ पनि नयाँ पहलहरू सुरु भएका छन् । थाइ एयरवेजले आउँदो विन्टर सेड्युलबाट पुनः उडान गर्ने प्रतिबद्धता जनाएको छ भने नेपाल वायुसेवा निगमको एउटा जहाजलाई भैरहवामै ‘बेस’ राख्ने तयारी भइरहेको छ ।
मध्यपूर्वमा देखिएको संकटका बिच विदेशी वायुसेवाहरूलाई भैरहवालाई ट्रान्जिट वा बेस बनाएर अन्य मुलुक उडान भर्न सक्ने गरी ‘फिफ्थ फ्रिडम’ को सुविधा दिने तयारी समेत भइरहेको छ । यसैक्रममा खाडी मुलुकमा अलपत्र नेपालीहरूलाई ल्याउन आजै कुवेत एयरवेजले चार्टर्ड उडान गर्दैछ भने दमामबाट पनि अर्को उडानको प्रक्रिया अघि बढेको छ । नियमित र चार्टर्ड उडानमार्फत् विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले छिट्टै विशेष निर्णय गर्ने अपेक्षा छ ।
‘अरु फ्लाइट उडान बढाउनको लागि हामीहरू नेपाल वायुसेवा निगमको एउटा जहाजको बेस नै यहाँ राख्ने, महानिर्देशकज्यू त्यसको लागि सक्रिय रूपमा लाग्नुभएको छ । र आशा छ नेपाल सरकारले केही निर्णय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी केही निर्णयहरू चाँडै नै गर्नेछ । जसमा अरु वायुसेवा, अरु विदेशी वायुसेवाहरू जस्तो अहिले मिडिल इस्टमा संकट भएको छ ।’–उनले भने । अहिले केही चार्टर्ड उडानहरू खाडी मुलुकमा अलपत्र परिरहेका नेपाली नागरिकहरू ल्याउनको लागि केही चार्टर्ड उडानहरू हुन गइराखेका छन्, जसमा बुधबार साझ कुवेतबाट कुवेत एयरवेजको जहाजले नेपाली नागरिकहरू लिएर आएको छ । दमामबाट पनि एउटा चार्टर्ड फ्लाइट प्रक्रियामा रहेको छ ।




