परासी
पश्चिम नवलपरासीमा राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले २०८३ साल बैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्नेभएको हो ।
उद्योग, प्रतिष्ठान, पसल कृषि वन तथा माछा पालन दर्ता भएका मात्र खानी तथा उत्खनन् औद्योगिक उत्पादनलगायत आर्थिक गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।
उनका अनुसार यसअघि २०७५ सालमा पहिलो पटक आर्थिक गणना भएको र जिल्लामा दोस्रो आर्थिक गणना गर्न लागिएको हो ।
उद्योग, प्रतिष्ठान, पसलहरूको संकलन गरी अर्थतन्त्रको आकारलाई सुदृढ गरी थप विश्वसनीय बनाउने राष्ट्रिय तथा स्थानीयस्तरमा आर्थिक सम्भाव्यता पहिचान गर्ने, उद्योग तथा व्यवसायमैत्री सरकारी नीति योजनाहरू ल्याउने उद्देश्यले गणना हुने उनले बताए । गणनाको नतिजाले देशको आर्थिक र अन्य सामाजिक नीति निर्माण, योजना तर्जुमा र लक्ष्य निर्धारण तथा प्रगति मापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
गणनाका क्रममा वस्तु वा सेवा उत्पादन गर्नेहरूको विवरण संकलन हुनेछ ।
आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्नु नै गणनाको मुख्य उद्देश्य रहेको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले जनाएको छ । आर्थिक गणना गर्न निम्ति गणक पनि छनौट गरिएको र जिल्लामा ७ सुपरीक्षवेक, गणक ५२ जना गरी ५९ जना कर्मचारी खटाउने आर्थिक गणना अधिकारी भण्डारीले जानकारी दिए ।
त्यस्तै सुनवल नगरपालिकामा १२ जना, बर्दघाट नगरपालिकामा ११ जना, रामग्राम नगरपालिका १० जना ,पाल्हिनन्दन गाउँपालिकमा ४ जना, प्रतापपुर गाउँपालिकमा ६, सरावल गाउँपालिकमा ४ जना, सुस्ता गाउँपालिकमा ५ जना गणकहरू खटाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले जनाएको छ ।




