टेकराज पौडेल
(त्याग, स्वाभिमान र सत्ता–संघर्षबीच अल्झिएको नेतृत्वको कथा)
“इतिहासले देखाएको छ कि राष्ट्रका लागि ठूलो सपना देख्नेहरूलाई सधैँ पुरस्कार होइन, प्रायः परीक्षा लिइन्छ ।”
इतिहासको पानाहरू पल्टाउँदा एउटा कठोर यथार्थ बारम्बार दोहोरिन्छ । राष्ट्रका लागि समर्पित नेतृत्व सधैँ सम्मानित हुँदैन । उनीहरू प्रायः षड्यन्त्र, अविश्वास र दण्डको घेरामा पारिन्छन् । स्वाधीनता र आत्मनिर्भरताको बाटो रोज्नेहरू शक्तिशाली स्वार्थहरूका लागि असहज पात्र बन्छन् ।
जुल्फिकार अली भुट्टोले पाकिस्तानलाई स्वायत्त नीतितर्फ मोड्न खोज्दा फाँसीको सजाय पाए ।
शेख मुजीबुर रहमानले बङ्गलादेश निर्माण गरे, तर आफ्नै भूमिमा हत्या गरिए ।
इराकका रास्ट्रपति सद्दाम हुसेन र लिबियालाई स्वतन्त्र र स्वाधीन बनाएका मुअम्मर गद्दाफी जस्ता नेताहरू बाह्य शक्तिसँग ठोक्किँदा जीवन नै गुमाउन बाध्य भए ।
नेल्सन मण्डेलाले अफ्रिका २७ वर्ष जेल भोगे—तर अन्ततः उनी नै न्यायको प्रतीक बने ।
कङ्गोका प्याट्रिस लुमुम्बा र बर्माका आङ सान जस्ता व्यक्तित्वहरूले राष्ट्रका लागि आफ्नो जीवन नै उत्सर्ग गरे ।
यी उदाहरणहरू केवल विगतका घटना मात्र होइनन्, यी हाम्रा लागि चेतावनी हुन् ।
राष्ट्रलाई आत्मनिर्भर बनाउने प्रयास सधैँ सहज हुँदैन, बरु प्रतिरोधको केन्द्र बन्छ ।
नेपालको सन्दर्भः संघर्ष र स्वाभिमानको विम्ब
नेपालमा केपी शर्मा ओलीको राजनीतिक यात्रा यही विमर्शसँग गाँसिएको छ । लोकतान्त्रिक आन्दोलनका क्रममा १४ वर्षको कठोर काराबास—यो केवल व्यक्तिगत कथा होइन, व्यवस्था र अवस्था परिवर्तनको इतिहास हो । उनकै नेतृत्वमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सार्वजनिक गरिएको नयाँ नक्सा राष्ट्रिय स्वाभिमानको प्रतिक बन्यो । दैलेखमा पेट्रोलियम अन्वेषण, नवलपरासीमा फलाम खानीको तयारी, उत्तरतर्फ व्यापार विस्तारका लागि पारवहन मार्ग खोल्ने पहल ! यी सबै प्रयासहरू आत्मनिर्भर राष्ट्र निर्माणतर्फ लक्षित थिए ।
“स्वाधीनताको प्रश्न केवल भूगोलको होइन, आत्मसम्मानको पनि हो ।”
राजनीतिक जटिलताः आन्तरिक कमजोरी र बाह्य प्रभाव तर यहींबाट जटिलता सुरु हुन्छ ।
नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील देशमा, कुनै पनि ठूला निर्णय केवल आन्तरिक विषय रहँदैनन् । यहाँको राजनीति सधैँ छिमेकी शक्ति र अन्तर्राष्ट्रिय स्वार्थसँग गाँसिएको हुन्छ ।
के यी प्रयासहरूले क्षेत्रीय शक्ति सन्तुलनलाई चुनौती दिए ?
के आन्तरिक राजनीतिक प्रतिस्पर्धाले बाह्य प्रभावलाई निम्त्यायो ?
यी प्रश्नहरू गम्भीर छन्, र एकपक्षीय उत्तरले पुग्दैन ।
तर एउटा सत्य निर्विवाद छ—
आन्तरिक विभाजन नै बाह्य हस्तक्षेपको सबैभन्दा ठूलो आधार हो ।
जब नीति भन्दा सत्ता प्राथमिक बन्छ,
जब राष्ट्रिय सहमति कमजोर हुन्छ,
त्यस बेला निर्णयहरू देशभित्र होइन,
बाहिरबाट प्रभावित हुन थाल्छन् ।
सूचना–युद्धः नयाँ युगको अदृश्य शक्ति
आजको युगमा शक्ति केवल हतियार वा अर्थतन्त्रमा सीमित छैन् । सूचना र धारणा निर्माण पनि त्यत्तिकै प्रभावशाली अस्त्र बनेको छ । डिजिटल माध्यम, सामाजिक सञ्जाल र एल्गोरिदमले जनमत निर्माणमा गहिरो प्रभाव पारिरहेका छन् ।
जब एउटै प्रकारका सन्देशहरू बारम्बार जनतासम्म पुग्छन्, तब त्यो धारणा वास्तविकताजस्तै देखिन थाल्छ । यसले नेतृत्वप्रति विश्वास कमजोर पार्न, भ्रम सिर्जना गर्न र निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्छ ।
यसैले आजको राजनीतिक संघर्ष केवल सत्ता प्राप्तिको लडाइँ होइन—
यो विचार, सूचना र मनोविज्ञानको लडाइँ पनि हो ।
यदि राष्ट्रले सूचना–सुरक्षा, जनचेतना र समालोचनात्मक सोचलाई बलियो बनाउन सकेन भने, बाह्य प्रभावहरू झन् सजिलै प्रभावकारी बन्न सक्छन्।
निर्णायक प्रश्नः व्यक्ति मात्र कि प्रणालीमाथि प्रहार ?
आजको बहस केवल व्यक्ति केन्द्रित हुनु हुँदैन् ।
यो बहस राष्ट्रको दिशा, नीतिगत स्थायित्व र कूटनीतिक सन्तुलनको हो ।
तर यहीं एउटा गम्भीर चेतावनी लुकेको छ—
केपी शर्मा ओली जस्तो नेतृत्वलाई सिध्याउनु भनेको केवल एक व्यक्तिलाई हटाउनु होइन, यो नेपालको लोकतान्त्रिक व्यवस्था, नीतिगत निरन्तरता र कूटनीतिक सन्तुलनमाथि प्रहार हुन सक्छ ।
किनकि, जब स्वाधीनताको पक्षमा उभिने आवाजहरू कमजोर पारिन्छन्,
जब दीर्घकालीन राष्ट्रिय हितलाई राजनीतिक खेलमा बलि चढाइन्छ,
त्यसले केवल सत्ता परिवर्तन गर्दैन—राष्ट्रको दिशा नै मोडिन्छ ।
निष्कर्षः
इतिहासको पाठ र वर्तमानको जिम्मेवारी
“राष्ट्रका लागि उभिनेहरूलाई यदि सधैँ सन्देह गरियो भने, भोलि कोही पनि राष्ट्रका लागि उभिन तयार हुने छैन् ।”
इतिहासले देखाइसकेको छ—त्यागको मूल्य तत्काल नहुन सक्छ, तर अन्ततः त्यसको मूल्याङ्कन अवश्य हुन्छ ।
आज प्रश्न हामी सबैसँग छ, के हामी स्वाधीनता र आत्मनिर्भरताको मार्ग रोज्नेछौँ ?
वा अल्पकालीन राजनीतिक स्वार्थका लागि दीर्घकालीन राष्ट्रिय हितलाई त्याग्नेछौँ ?
यदि हामीले सही निर्णय गर्न सकेनौँ भने,
भोलि इतिहासले केवल नेतालाई होइन—
हाम्रो सामूहिक चेतनालाई दोष दिनेछ ।




