तुल्सीराम पाण्डे
२०७४ सालमा संघीयता लागू भएपछि बनेको सरकारले कृषिको आधुनिकीकरण, कृषिबाट समृद्धि, समृद्ध नेपाल सुखी नेपाली जस्ता कुराहरु अगाडि सारेको छ । त्यसै कार्यक्रमअनुसार पहाडमा समूहलाई हाते ट्याक्टर अनुदान दिने, एक गाउँ एक उत्पादनमा जोड दिने, कृषकहरुलाई आफूले गर्ने उत्पादनका नाममा फर्म दर्ता गर्न लगाउने, केहीलाई अनुदान दिने गरेको छ । तराईमा समेत त्यहाँको अवस्थाअनुसार बाख्रा, कुखुरा, गाइर्, भैंसी, माछा र अन्य उत्पादनहरुमा अनुदान दिने उन्नत बिउ र मल ल्याउने व्यवस्था गर्ने र आधुनिक कृषि उपकरणहरू ल्याउनलाई सहजीकरण गरेको छ ।
मेसिनले काम गरेर आधुनिक तरिकाले खेती गर्दा मानिसलाई ज्याला दिएर र पुरानो तरिकाले खेती गर्दाभन्दा केही सस्तो र उत्पादनमा वृद्धि भएजस्तो देखिन्छ तर यहाँको काम गर्ने पुरानो तरिका बिर्सिदै गएको छ । मानिसमा बसेर खाने बानी परेको छ । यहाँको साधन स्रोत खेर गएको छ । त्यसबाट हुने घाटाको कसैले हिसाब गरेको छैन । यहाँ खेर गएको साधन स्रोत र विदेशबाट आउने वस्तुहरुको नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर अध्ययन गर्ने हो भने केही वर्षपछी उत्पादन कम हुँदै जाने र नेपालीहरु अझै गरिव हँुदै जाने छन् । त्यो कुरा बुझ्न पहिले र अहिले गरिने कामका तरिकाहरुको सामान्य मात्र अध्ययन गरेमा जान्न सकिन्छ ।
पहिले मानिसहरुले मिहिनेत गरेर सबै काम उत्रन्थ्यो । सबै मानिसहरुले मिलेर काम गर्दथे । गोरुले जोत्ने, गाई भैंसीको मल खेत बारीमा राख्ने, स्याउला र सोतरबाट मल बनाउने, बिउ जोगाएर राख्ने, सबैले वर्म पर्म र हुद्दा गर्ने, गोरु नपाल्नेले जोत्न बोलाएमा पैसा वा खेतारो तिर्ने गर्दथे । खेतीमा विष हाल्नु पर्दैनथ्यो, जग्गाको उर्वराशक्ति कायम रहन्थ्यो । खेती थन्क्याउँदा समेत काट्ने, ओसार्ने, झाँट्ने, दाइँ गर्ने, कोदो ठटाउने, तोरी माड्ने र अन्य प्रशोधनका काम सबै मानिसले नै गर्दथे । कृषकलाई आवश्यक पर्ने डोको, नाम्लो, दाम्लो, हलो र अरु सामानहरु आफैँ बनाउँथे । निमेक गर्नेहरूलाई ज्यालामा अन्न दिए हन्थ्यो ।
अहिले सबै काम मेशिनले गर्न थालेको छ । हातमा पैसा भएपछि मात्र सबै काम गर्न सकिन्छ । टेक्टरले जोत्ने, महँगो रासायनिक मल किन्नुपर्ने, विदेशी पाकेटको बिउ किन्नु पर्ने, कुनै समयमा फल नै नलाग्ने, विषादी छर्कनुपर्ने, बाली काट्ने, झाट्ने, ओसार्ने, दाइँ गर्ने र अन्य प्रशोधनका कामहरु सबै मेसिनले गर्न थालेका छन् । टेक्टर विदेशी, बाली काट्ने र प्रशोधन गर्ने मेशिन विदेशी, मेशिनमा राख्ने तेल विदेशी, मेशिन मर्मतलाइ चाहिने पुर्जाहरु विदेशी, मेशिन चलाउने मानिस विदेशी, आधुनिकीकरणको नाममा पैसाजति सबै विदेश गएको छ । उत्पादन भएको खेतीको मूल्य गर्ने हो भने उल्टै घाटा लाग्दछ ।
पहिले एक जना मान्छे विदेश गएमा परिवारले जनतन गुजारा गरेर बस्दथे । कमाएर ल्याएको पैसाले केही न केही काम गर्थे । अहिले एकजना विदेश गएमा आधुनिक सुविधाको उपभोगले बचत हुन मुस्किल पर्दछ । यहाँको जग्गा बाँझो हुँदै गएको छ । घाँस त्यसै खेर गएको छ । पशुपंक्षीलाई चाहिने दाना र घाँस समेत विदेशबाट आउन थालेको छ । पहिले मानिसले आफूलाई चाहिने सबै काम एकजनाले गर्दथे । अहिले एकजनाले एउटा वस्तुको उत्पादनको फर्म दर्ता गर्नु पर्दछ । दर्ता भएको फर्मको प्रत्येक वर्ष कर तिर्नु पर्दछ । कर तिर्नेले मात्र राहत, अनुदान र अन्य सरकारी सुविधा पाउँछ ।
कृषि क्षेत्रमा रहेका सबै नागरिकले फर्म दर्ता गरेमा राजश्वमा वृद्धि हुनेछ । संघीय कानुनअनुसार मजदुरले समेत स्थायी लेखा नम्बर लिनुपर्दछ । आम्दानीको एक प्रतिशत कर तिर्नु पर्दछ । वर्तमान समयमा ठूला उद्योगहरु बन्द भएका छन् । साना उद्योगहरुले प्रतिस्पर्धा गर्न सकेका छैनन् । सरकारले तोकेको ज्याला दिएर कृषि क्षेत्रमा काम गराउने हो भने सबै मानिसहरुले खेती गर्न छाड्नेछन् । उद्योग र निर्माण क्षेत्रमा काम गर्ने मजदुरले समयमा र तोकेको तलब पाउँदैनन् । कमाई जति सबै खर्च गर्दछन् ।
केही समयपछि व्यवहारिक रुपमा गरिबी अरु बढ्नेछ । कृषिको आधुनिकीकरण गरेर देशलाई समृद्ध बनाउने हो भने यहाँका कृषि प्रयोगशालाहरु बदाउनु पर्दछ । कृषिको लागि आवश्यक जनशक्तिको वृद्धि गरेर तालिम दिनु पर्दछ । प्राङ्गारिक मलको कारखाना खोल्ने, स्थानीय बिउलाई जोगाएर राख्ने, र आवश्यक औजारहरु यही उत्पादन गर्नुपर्दछ ।
त्यति पनि गर्न नसकेमा जनताले उत्पादन गरेका वस्तुको बजारको ग्यारेन्टी गरेमा अरु सबै कुरा जनताले आफैँ गर्नेछन् । अहिलेको सरकारी नीति र राजनैतिक व्यक्तिहरुको काम गराइ देख्दा पञ्चायतको समयमा काम दिने, माम दिने, सुख दिने राजा भनेर पाठ पढाइएको थियो, त्यसैको नयाँ रुप जस्तो लाग्दै छ । माछो माछो भ्यागुतो भनेर जनताहरु झुक्किरहेका छन् ।




