रामचन्द्र श्रेष्ठ
समयको सुरुवात घटनाको सुरुवातसँगै हुन्छ भने एक बेग्लै समय गोर्कीको आमा उपन्याससँगै सुरु भएको थियो ।
सन् १८६८ को मार्च २८ मा रुसको गरिब परिवारमा जन्मेका गोर्की आफ्नो बाल्यकाल पारिवारिक सुखसयल, माया ममतामा होइन रुखो, अपहेलित र तिरस्कृत वातावरणमा बिताएका थिए । बाबुको मृत्यु र आमा अर्कै पुरुषसँग बस्न थालेपछि गोर्की मावली बाजे बज्यैसँग बसेका थिए । उनलाई पे्रम गर्ने उनको बज्यै मात्र थिइन । र उनै बज्यैको दयालु र मानविय भावनाले गोर्की ओतप्रोत थिए । गरिबीको कारण आठ–नौ वर्षको उमेरदेखि नै अरुको घरको नोकर, भारी बोक्ने, फाटेका लुगाफाटा, हाडखोर बटुल्ने खातेको कामदेखि जहाजको भान्साघर र माझीको पेसासम्म अपनाएका थिए । आफ्नो पुरै किशोरावस्था र युवावस्थाको केही अंश अपहेलित र शत्रुतापूर्ण वातावरणमा बिताएका गोर्कीको खास नाम अलेक्सेई मक्सिकोभिच पेशकोभ हो र गोर्की उनको उपनाम हो । गोर्कीको अर्थ ‘तितो’ हुन्छ जुन उनको जिन्दगीसँग साह्रै मेल खान्छ । बाल्यकालमै बाजेद्वारा ‘तँ तक्मा होइनस् जसलाई घाँटीमा झुण्ड्याएर हिडुँ, आफ्नो बाटो आफँै लाग’ भनेर घरबाट निकालिदिएपछि उनको लागि आफन्त र पराई कोही रहेनन्, त्यसकारणले नै जहाँ काम गर्छन् त्यही नै आफन्त भेटिए र त्यहि नै पराई नै । जीवनको तितो क्षणहरूले उनलाई यतिविधि निराशाको दलदलमा पु¥याएको थियो कि किशोरावस्थामै (सम्भवतः १४ वर्षको उमेरमै) उनले आफैँलाई गोली प्रहार गरका थिए । तर संयोगले मुटुमा हानेको गोली फोक्सोमा लाग्यो र उनी बाँच्न सफल भए ।
जीवनको कटु क्षण, तिरस्कृत वातावरण र नोकर, खातेको जीवनमा गोर्कीले कति बेला अध्ययन गरे ? कतिबेला कलम समाए ? र कुन प्रेरणाले उनी लेखक बने ? यी प्रश्न जति महत्वपूर्ण छन् त्यति नै अप्ठ्यारा पनि । उनको लागि कुनै स्कुल बनेको थिएन र उनलाई कलम समाउन प्रेरणा दिने पनि कोही थिएन । बरु लुकीलुकी पढ्दा मालिक्नीको चुटाई सधैं उनको भागमा पथ्र्यो । त्यसैले उनले नयाँ नयाँ उपाय लगाएर पढ्थे । मालिक–मालिक्नी सबै सुतेपछि, भान्सा र घरको काम सबै सकेपछि ताप्केलाई राम्ररी माझेर चन्द्रमाको प्रकाशलाई केन्द्रित गरेर उज्यालो जम्मा गर्थे । पढ्नुलाई अपराध सम्झने त्यस्तो वातावरणमा उनलाई पुस्तकहरू पढ्नलाई पे्ररित गर्ने कुन तत्व थियो ? गोर्की आफ्ना संस्मरणात्मक उपन्यासहरूमा भन्छन्, बाँचेको यथार्थ जिन्दगीको कटुता, निराशा, दरिद्रता र भोगेका मान्छेको छुद्र व्यवहार नै अध्ययनको लागि प्रेरणा बन्यो किनभने पुस्तकहरूमा सुन्दर जीवनको चित्रण हुन्थ्यो । भोगेको जिन्दगीबाट पुस्तकको जीवनको खोजी नै उनको लागि प्रेरणाको श्रोत थियो । उनी जीवनको निरशता, छुद्रता, दरिद्रताबाट मुक्ति चाहन्थे त्यसैले नै उनले पढे अनि हो, त्यहि कारणले नै उनले लेखे । उनका प्रारम्भिक लेखाईमा जीवनको अत्याशपूर्ण दैनिकी प्रतिको छट्पटी प्रष्ट झल्कन्छ । सन् १८९२ को सेप्टेम्बरमा पहिलो कथा मकरचुद्रा छापिएपछि गोर्कीको वास्तविक जन्म भएको थियो, अलेक्सेई मक्सिकोभिचबाट गोर्कीमा । उन्नाइसौं शताब्दीको अन्त्यसम्मका उनका लेखनीमा माक्र्सवादका प्रभाव पाइन्न तर त्यतिबेलाको लेखनीमा स्वच्छन्दतावादको प्रभाव झल्किन्छ । तर उनको स्वच्छन्दतावाद स्वैर कल्पनामा आधारित छैन । त्यो यथार्थबाटै उठेको छ । रङ्गहिन जीवनमा रङ्गभर्ने अभिलाषाले उनलाई जीवनबोध भएका ‘मकरचुद्रा’, ‘बुढी इजरगिल’, ‘बाजको गीत’, ‘बल्दो मुटुको दन्त्यकथा’ कथाहरू लेख्न घच्घचायो । त्यस्तै पे्रम र मानवताको चाहनाले ‘छब्बीस केटा र एक केटी’, ‘नुनखानी’, ‘घण्टा’ जस्ता कथाहरू लेख्न प्रेरित ग¥यो । यी कथाहरूका पात्रहरू आवारा, घुमन्ते जीवन बिताउने खातेहरू हुन् जो दासतापूर्ण श्रम गर्न बाध्य छन् र सामाजिक अन्यायद्वारा पीडित । उनका यी पात्रहरू नकारात्मक छन् र अराजक पनि । तर यिनैहरूमार्फत् गोर्की अन्यायको मौन समर्थनको विरोध गर्छन् । उनका यी पात्रहरू फोहोरी छन्, असभ्य भाषा बोल्छन्, रुखा छन्, तर तिनीहरूभित्र आक्रोशको आगो सल्किएको छ । यी आफ्नो वर्तमान जीवनलाई घृणा गर्छन् । गोर्की यिनै पात्रहरूमार्फत् नयाँ जीवनको चाहना व्यक्त गर्छन् । पुँजीवादी समाजको रुखो जीवनको तीव्र आलोचना गरेर गोर्कीले विश्वसाहित्यको इतिहासमै यस्ता निम्न पात्रहरूमार्फत् सामाजिक उत्तरदायित्वको गम्भीर पाठ व्यक्त गरे, जसले गर्दा ह्रासोन्मुख साहित्यप्रति तीव्र प्रहार भयो र जीवनको सुन्दरताको नयाँ पाटो उद्घाटन भयो । हो, साहसको उन्माद र स्वतन्त्रताको लागि बलिदानसम्मको अठोट सृजना गर्ने उनको यस्तै लेखनीले नै विश्वसाहित्यमा नयाँ घटनाको जन्म गरायो अर्थात् नयाँ समयको जन्म गरायो ।
लेखनीको प्रथम चरण स्वच्छन्दवादी ढंगले बिताएका गोर्की उन्नाइसौं शताब्दीको शुरुवाततिर संक्रमणकालिन समय बिताउँछन् । अर्थात् त्यतिबेलाका उनका साहित्य स्वच्छन्दतावादबाट प्रगतिवादतर्फ लम्किदै गर्दाको समय हो । त्यतिबेला सन् १९०० मा लेखिएको उनको ‘तीन’ नामक उपन्यासले पनि उनको संंक्रमणको संकेत गर्छ । जीवनको कटु वास्तविकताको बारेमा उपन्यासका तीन पात्रहरूले छुट्टाछुट्टै तीन बाटो अपनाउँछन् । पहिलो पात्रले सामान्य बुर्जुवाहरूले जस्तै व्यक्तिगत तवरले नै समाधान गर्ने कोशिस गर्छ र असफल भएपछि आत्महत्या गर्छ, दोस्रोले संघर्ष र विरोधको माध्यमलाई अस्विकार गर्छ र नम्रता र विनयको बाटो अंगाल्न खोज्छ र उसको पनि नराम्रो अन्त्य हुन्छ । तेस्रो क्रान्तिकारी बुद्धिजीविहरूसँग संगत गर्छ र जीवनको सही बाटो चुन्छ । गोर्की यही तेस्रो पात्र हुन् जो स्वयं जीवनको नयाँ बाटोमा हिंड्दै थिए ।
सन् १९०२ मा ‘निम्न पुँजीजीवि’ नाटक लेखेपछि गोर्की पुरानो गोर्की रहेनन् । उनी अब माक्र्सवादी भएका थिए, एक क्रान्तिकारी र कम्युनिष्ट भएका थिए । नाटकको पात्र नील विश्वसाहित्य इतिहासकै पहिलो त्यस्तो क्रान्तिकारी पात्र हो जो आफ्नो वर्गको शक्तिसँग परिचित छ र वर्तमान शोषणयुक्त समाजलाई बदल्न सकिन्छ भन्ने बुझ्दछ । उ भन्छ, “जो श्रम गर्दछ मालिक त्यही हो, अधिकार दिइँदैन, लिइन्छ ।” “शत्रु” त्यस्तै उत्कृष्ट नाटक हो । यी साहित्य रचना गर्दा गोर्की बोल्सेभिक पार्टीका सदस्यमात्र होइन १९०५ को असफल क्रान्तिका सक्रिय क्रान्तिकारी पनि थिए ।
गोर्कीबारे हामी सबैलाई चिनाउने ‘आमा’ उपन्यास यहि समयमा नै लेखिएको थियो । आमामा चित्रित पात्रहरूको पृष्ठभूमि सोरमोभो बस्ती र त्यहाँ १९०२ मा भएको क्रान्तिकारी गतिविधिहरू नै हुन् । तर आमा उपन्यास क्रान्ति रक्षात्मक स्थितिमा हुँदा, प्रतिक्रियावादी दमन तीव्र र कठोर भएको र धेरै उत्तम भनिने क्रान्तिकारीहरू पनि समर्पणको बाटो अंगालिरहेको निरश समयमा सृजना गरिएको थियो । तर क्षणिक वर्तमानको सपाट चित्रणभन्दा आमा उपन्यास धेरै पर छ । यसमा भविश्यको उज्यालो दिनको चित्रण गरिएको छ भने संघर्ष कै मैदानबाट आशाको सुन्दर अभिव्यक्ति प्रस्तुत गरिएको छ । राजनीतिक घटनाक्रम र संघर्षको वर्णन मात्र होइन आमा उपन्यास । त्यस्तै कला र विचारको उत्कृष्ट संयोजनमात्र पनि होइन । यो व्यक्तिको कायापलटको दस्तावेज हो । पुँजीवादी समाजको विषमताले जीवन कसरी धुजाधुजा हुन्छ र फेरि त्यहि नै विषमतामाझ मै आत्माको जागरण कसरी हुन्छ अनि त्यो पुर्नजिवित आत्मा कसरी अमर हुन्छ भन्ने चित्रण नै आमा उपन्यास हो । दोस्तोबस्की र केही मात्रामा टोल्सटोइले क्रान्तिले मानिसमा हिंसाको भावना भर्दछ भन्ने विश्वास राख्दथे । तर आमामा गोर्कीले चित्रण गरे क्रान्तिले कसरी आत्मालाई पुनर्जीवित गर्दछ र त्यो कसरी नयाँ सृजनाको लागि संघर्ष गर्दछ ।
आमाको पात्र आमा कठोर दैनिक जीवन, शोषण, अत्याचार र अपहेलनाको कारण आत्मालाई बन्धकी राखेर वा भनौ जीवनको उल्लासमय क्षणहरूलाई गुमाएर एक मृत आत्मा लिएर बाँचेकि थिइन । तर क्रान्तिको गतिविधिमै, नयाँ जीवनको खोजीको क्रममै उनको आत्मा फेरि जाँगेर आयो । जीवनमा फेरि उल्लास सृजना भयो, अब संसार घमाइलो र रमाइलो भयो । हो, जीवनमा शत्रुहरू पनि थपिए र त्योभन्दा धेरै आफन्तहरू पनि । अनि आमाको आत्मा कसैले दबाउन नसक्ने आत्मा बन्यो । अमर आत्मा । मान्छे कसरी जाग्छ, कसरी सचेत हुन्छ भन्ने दस्ताबेज नै आमा उपन्यास हो । यो किन अमर छ भने यसमा हामी जस्तोको आत्माको चित्रण छ । जसको आत्मा खुम्चिएको छ पुँजीवादी समाजको विकृत जीवनपद्धतिले ।
सन् १९१७ को क्रान्तिको समयमा क्रान्तिप्रति आशंका जन्माएर भुल गरेता पनि गोर्की फेरि समाजवादी यथार्थवादको प्रर्वतकको रूपमा र साहित्यिक आन्दोलनका नेताको रूपमा उदाए । पटक–पटक क्षयरोगले शिकार भएका उनी बिरामीकै कारण सन् १९३६ मा ६८ वर्षको उमेरमै उनको मृत्यु भयो । तर प्रगतिवादी साहित्यको प्रणेताको रूपमा उनी हामीसँग जीवीत हुनेछन् । रहिरहनेछन् । हाम्रो हृदयमा । आमा उपन्यासले हाम्रा मनहरूमा पारेको अमिट प्रभावहरूमा ।




