लुम्बिनी संवाददाता
बुटवल
रुपन्देहीको तिलोत्तमा १३ चिल्हियामा लुम्बिनी प्रदेशकै पहिलो बियर गार्डेन सहितको टाइगर फरेस्ट रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
बाह्रसिंगे ब्राण्डको बियर उद्योगका सञ्चालक तिलोत्तमाका उद्यमी मिनराज भुसालले यस क्षेत्रमै नौलो र मौलिक पहिचान दिने गरी ५ बिघा क्षेत्रफलमा बियर गार्डेनसहितको रिसोर्टबनाउन लागेका हुन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कर्जा लगाानीमा रिसोर्ट बनेको हो ।
हाल एक अर्ब बढी लगानी भएको गरेको रिसोर्टको नयां विशेषताहरियाली जंगलको छेउ, रुमहरु पूर्णतः सल्लाको काठबाट बनेका (उडन भिल्ला) र बोतलमा सिलबन्दी नभएको आफ्नै उद्योगको फ्रेस (ड्राफ्ट) बियर उपलब्ध हुनु हो ।
पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टसँगै जोडिएर दक्षिणतर्फ बन्दै गरेको रिसोर्टमा पहिलो चरणमा बियर गार्डेन, २० वटा उडन भिल्ला, ५० जना क्षमताको हल, चौतारी बार, डान्स क्लब र स्पा सञ्चालनमा आइसकेका सञ्चालक भुसालले बताए ।
उडन भिल्लाको डिजाइन अष्ट्रियन इञ्जिनियरले गरेका हुन् । यस्ता उडन भिल्ला र ड्राफ्ट बियर गार्डेन त्रिशुली किनार कुरिनटारमा बाह्रसिंगे बियर उद्योग बाहिर मात्रै रहेको भुसालले बताए ।
करिब दुई सय जना क्षमताको चाइनिज रेष्टुरेन्ट र एक हजार जना क्षमताको ब्याङ्क्वेट हल निर्माणको अन्तिम चरणमा रहेकाले नयां वर्षमा उद्घाटन गर्ने गरी काम भइरहेको सञ्चालक भुसालले बताए ।
निकट भविष्यमा थप ४० वटा रुम, स्वीमिङ पूल र मिनी क्यासिनो निर्माण गरी चारतारे होटेलको स्वीकृति लिने गरी तयारी भइरहेको उनले जानकारी दिए ।
‘आन्तरिक र भारतीय पर्यटकलाई फरक विशेषता सहितको नौलो हस्पिटालिटी सेवा दिने उद्देश्यले रिसोर्ट व्यवसायमा लगानी गरेको हो,’ भुसालले भने–‘खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरेका छौं ।’ आउँदो नयाँ वर्षको अवसर पारेर रिसोर्टको औपचारिक उद्घाटनको तयारीमा रहेको सञ्चालक भुसालले बताए ।
बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटक पनि रिसोर्टका लक्षित पाहुना भएको उनले खुलाए ।
मुलुकमा राजनीतिक स्थिरता र व्यवसायिक वातावरण बन्यो भने भविष्यमा थप १५० करोड रुपैयाँ लगानी गरी पाँच तारे होेटलमा स्तरोन्नति गर्दै भारतीय पर्यटक लक्षित सेवा सुविधा थप्दै जाने योजना रहेको भुसालले बताए ।
‘शहरभन्दा टाढा, शान्त र हरियाली वातावरणमा बन्दै गरेको रिसोर्टले प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने विश्वास छ,’ भुसालले भने– ‘प्राकृतिक परिवेश, खुला स्थान र मौलिक संरचनाको शैलीले रिसोर्टलाई अन्य परम्परागत होटलभन्दा अलग बनाएको छ ।’
रिसोर्टमा हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको जनरल म्यानेजर क्षितिज खनालले बताए । होटलले पूर्ण सञ्चालनपछि थप सय जना बढीले रोजगारी पाउने उनले बताए । आन्तरिक तथा लुम्बिनी आउने विदेशी र भारतीय पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो परियोजना तिलोत्तमाको मात्र नभई प्रदेशकै नमूना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए ।




