बुटवल । व्यवसायीमैत्री कानुन बनाउन ट्रक व्यवसायीले सरकारसंग माग गरेका छन् । तीनै तहका सरकारका फरक फरक काुनन भएकाले यातायात व्यवसायी समस्यामा परेको उनीहरुको गुनासो छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको शनिबार आयोजित २५औं वार्षिक साधारणसभा तथा १४औं अधिवेशनमा बोल्दै उनीहरुले राज्यलाई ठूलो कर तिर्दै आएका व्यवसायी समस्यामा पर्दा पनि सरकारले न्याय दिन नसकेको गुनासो गरे । पेट्रोलियम पदार्थमा अत्याधिक मूल्यवृद्वि भएको अवस्थामा पनि तोकिएको भाडा सहज रुपमा नपाउँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको व्यवसायीको गुनासो थियो ।
व्यवसायीहरुले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र भारतीय गाडीहरुको निर्वाध आगमनलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यातायात क्षेत्रमा अझैँ पनि थुप्रै समस्या रहेको बताउँदै स्थानीय सरकारको तर्फबाट समस्या समाधानका लागि सामूहिक छलफल गरेर अघि बढ्न आफू तयार बताए ।
यातायात व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताउँदै नगर प्रमुख पाण्डेले बुटवल उप–महानगरपालिकाले आफ्नो सम्पति धितो राखेर भए पनि यातायात व्यवसायीको हितका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने आश्वासन दिए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र बानियाले तीनै तहका सरकारका फरक–फरक कानुनले यातायात व्यवसायी समस्यामा परेको बताए । अध्यक्ष बानियाले व्यवसायमैत्री कानुन बनाउन सरकारलाई आग्रह गरे । तेलको मुल्य वृद्दि हुंदापनि ट्रक व्यवसायीले भाडादर वृद्वि नगरेको बताउँदै बैज्ञानिक भाडादर कायम गर्नुको विकल्प नभएको उनले बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले संकटको अवस्थामा रहेको यातायात व्यवसायलाई जोगाउन भारतीय ट्रकहरुको निर्वाध आगमन र अत्याधिक भारवहनका कारण पेशा संकटमा परेको बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले अत्यधिक भारवहनसहित बिना अवरोध नेपालका सबै ठाउँमा पुगिरहेका भारतीय गाडीका कारण नेपाली व्यवसायी संकटमा परेको बताए । उनले ट्रक व्यवसायीहरु बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसकी लिलाम हुने अवस्था पुगेको बताउंदै कतिपय चालक र व्यवसायीहरु पलायन हुँदै गएको बताए ।
कार्यक्रममा गण्डकी यातायात व्यवसायी समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष टंकप्रसाद गैरे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासे, समितिका उपाध्यक्ष उज्वल केसीलगायतले बोलेका थिए । समितिका कार्यालय प्रमुख प्रकाश गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
अधिवेशनबाट सर्वसम्बत रुपमा नेतृतव चयन हुन नसकेपछि शनिबार निर्वाचन हुने निर्वाचन आयुक्त महेन्द्र पाण्डे जानकारी गराएका छन् । निर्वाचन समितिका आयुक्त यमलाल भुसालका अनुसार समितिमा ५ जना जिल्ला उपाध्यक्षहरु निर्विरोध निर्वाचित भएका छन् ।
रुपन्देही उपाध्यक्ष बसन्ती आले र राजकुमार लामा, नवलपरासी उपाध्यक्ष कृष्णबहादुर कंडेल, कपिलवस्तु र अर्घाखांची उपाध्यक्ष उज्वल केसी, नवलपुर उपाध्यक्ष पर्शुराम भण्डारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा समितिका पूर्व वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, पूर्व सचिव पंकज राई र यामबहादुर जीसीले उम्मेदवारी दर्ता गराएका छन् ।




