प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल चुनिएका छन् । रास्वपाका उप–सभापति समेत रहेका अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भए । झण्डै दुई तिहाइको बहुमत पाएको रास्वपा प्रतिनिधिसभामा बलियो छ । छोटो समयमै रास्वपाको उदयसँगै बर्चश्व कायम गरेको छ । प्रतिनिधिसभाको सभामुखमा अरु दलले उम्मेदवार नदिएर सर्वसम्मतिको वातावरण बनेको छ । अर्थात् उनी अरु दलबाट पनि स्वीकारिएका छन् ।
डोलप्रसाद आफैँ सरल र समन्वयकारी छवि निर्माण गरेका नेता हुन् । उनको यो छवि अब सभामुखका रुपमा परीक्षा हुनेछ । नेता धेरै हुन्छन्, तर केही विशिष्ट गुण र कामले केही नेता सधैँ सम्झिइन्छन् । सभामुखको रुपमा नेपालमा तीन सभामुखको सधैँ सम्झना हुन्छ । आइतबारको प्रतिनिधिसभा बैठकमा त्यसबारेमा पनि चर्चा भयो । २०१५ सालको पहिलो प्रतिनिधिसभाका सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गाना र २०६४ सालको संविधानसभा र प्रतिनिधिसभाका सभामुख सुवास नेम्वाङ केही विशिष्ट गुण र कामले अरुभन्दा फरक पहिचान बनाए । भट्टराईले सरकार सत्तारूढ दलको र सदन प्रतिपक्षको भन्ने मानक स्थापित गरे । ढुङ्गाना आफू आबद्ध दलभन्दा माथि उठेर निष्पक्ष भूमिका निभाए ।
नेम्वाङले २०६२-०६३ को आन्दोलनपछिको संक्रमणकाललाई सहज व्यवस्थापन उनको समन्वयकारी भूमिकाले काम गरेको थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वदायी भूमिकामा रहेर सभामुखमा पुगेका अर्याललाई पनि अरुभन्दा फरक देखिने अवसर आएको छ । पदमा पुगेर मात्रै हुँदैन, पदमा पुग्ने व्यक्तिले पदको गरिमा राख्नुपर्छ । समन्वयकारी छवि छ, अर्यालको । यो छविले सभामुखको रुपमा उनी अब्बल हुनेछन् भन्ने अपक्षा गर्न सकिन्छ । झण्डै दुई तिहाइको सरकारलाई खबरदारी गर्ने थलो हो संसद । पहिलो सभामुख भट्टराईले भनेझै संसद प्रतिपक्षको हो भन्ने मानक स्थापित गर्न सक्दा सरकार बाटो बिराएर लडखडाउने जोखिम हुँदैन । संसदलाई प्रतिपक्षको थलो बनाउन सक्दा सत्तापक्ष र प्रतिपक्षबिच सन्तुलन कायम हुन्छ । र, हाम्रो लोकतान्त्रिक प्रणाली सही बाटोमा अघि बढ्छ । अब अर्यालको पल–पल परीक्षा हुनेछ, ती परीक्षामा उनी उष्कृष्ट हुनेछन् ।
अहिले दर्जनौं कानुनहरू संसदको प्रक्रिया पुरानगरेका कारण अल्झेका छन् । संघीयता लागु भएको एक दशक भइसक्दा पनि प्रहरी समायोजन, निजामति, विद्यालय शिक्षालगायतका कानुनहरू पास हुन सकेका छैनन् । संसद प्रभावकारी ढंगले सञ्चालन हुन सकेमात्रै नतिजा दिने संस्थामा रुपान्तरण हुन सक्छ ।
संसद भनेको कानुन बनाउने ठाउँ मात्र होइन, यो लोकतन्त्रको अभ्यास गर्ने थलो हो । साना–ठूला विवादले संसद् लामो समयसम्म ठप्प हुने, महत्वपूर्ण विधेयकहरू वर्षौंसम्म अल्झिने, र जनताका सरोकारका विषयहरू छलफलमै सीमित रहने प्रवृत्तिले संसद्को प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ । अब यस्तो अवस्थालाई परिवर्तन गर्ने जिम्मेवारी अर्यालको काँधमा आएको छ । संसद् अवरुद्ध हुँदा, विपक्षीले नाराबाजी गर्दावा सत्तापक्षले आफ्नो बहुमत प्रयोग गर्न खोज्दा कसरी सन्तुलन कायम गर्ने सभामुखको निर्णायक भूमिका हुन्छ । त्यही भूमिकाले नै हो सभामुखलाई अब्बल वा कमजोर बनाउने भन्ने निर्धारण गर्नेछ ।




