भैरहवा
सिद्धार्थनगर नगरपालिकाले आफ्नो नवनिर्मित अत्याधुनिक प्रशासकीय भवनको उद्घाटन गरेको छ । सोमबार एक भव्य समारोहकाबिच वास्तु पूजासहित नगरवासीको उपस्थितिमा नयाँ भवनबाट औपचारिक सेवा शुभारम्भ गरिएको हो । २०७८ सालमा शिलान्यास गरिएको यो भवन केही समय अगावै प्रयोगमा आए पनि विधिवत रुपमा वास्तु पूजासहित सोमबार उद्घाटन गरिएको हो ।
२३ करोड ९२ लाख ६९ हजार ३५३ रुपैयाँमा निर्मित भवन २०७८ असार २४ गते स्काई रामसागर जेभीसित निर्माण सम्झौता गरिएको थियो । ४ कठ्ठा क्षेत्रफलमा निर्मित, बेसमेन्ट पार्किङ्सहित २६ वटा कोठा र शौचालयहरू, दुई स्थानमा लिफ्ट, कार्यपालिका तथा नगरसभाको हल, फायर हाइड्रेन्ट, स्मोक डिटेक्टर, फायर एक्स्टिङ्गुइसर, हुटर आलाराम र लाइटिङ प्रोटेक्टर रडको व्यवस्था, १४४५.७५ वर्गमिटरको बेसमेन्ट पार्किङ्मा २० वटा कार र १३० वटा बाइक पार्किङ् गर्न सकिने सुविधा छ । २०८२ असोज ३ गते भवन निर्माण पूरा भएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
प्रशासनिक सेवालाई झन्झटमुक्त बनाउन नगरपालिकाले सेवा प्रवाहको शैलीमा ठूलो परिवर्तन ल्याएको छ । अब धेरैजसो सेवाहरू भवनको भुइँतलाबाटै प्रदान गरिने लक्ष्य राखिएको छ । प्रमुख प्रशासकीय अधिकृत थापाले कर्मचारी र जनप्रतिनिधि मिलेर प्रविधिको अधिकतम प्रयोग गरी नागरिकलाई प्रभावकारी सेवा दिनु नै अबको मुख्य प्राथमिकता रहेको बताए ।
नगर प्रमुख इश्तियाक अहमद खानले पर्यटनको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नका लागि सफा, सुन्दर, ग्रीन र इको–फ्रेन्डली सिटी आवश्यकता अनुसारको काम भइरहेको बताए । ‘जति राम्रो काम गर्नुस्, जति विकास गर्न खोज्नुस्, जबसम्म क्लिन हुँदैन, ग्रीन हुँदैन, इको–फ्रेन्डली हुँदैन, तबसम्म हाम्रो जुन बाहिरका पाहुनाहरू आउँछन्, स्वदेशी वा विदेशी, कोही पनि सहरमा बस्न चाहँदैनन ।’ –उनले भने
बहुमतको सरकार छ । जनताले दिइसकेको बहुमतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ छिटोभन्दा छिटो सञ्चालन गरी यहाँको विकास हुने उनले बताए । उनले सम्पूर्ण सिद्धार्थनगरवासीमा अनुरोध गर्दै सबैको सहकार्यले नगरको विकास सम्भज छ, लक्ष्यअनुसार सिद्धार्थनगर छिट्टै फूलै फूलको शहरको रुपमा परिणत हुन लागेको बताए ।
उनले सिद्धार्थनगर नगरपालिकामा अरुपालिका समाहित गरेर एउटा महानगरपालिका बनाउनु पर्नेमा जोड दिए ।
उप–प्रमुख अधिकारीले स्थानीयको योगदान र सहयोगले नै नगरपालिका अहिलेसम्म सफलतापूर्वक अगाडि बढिरहेको बताउँदै ‘अब हाम्रो ध्यान कर्मचारी र जनप्रतिनिधि मिलेर नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नमा केन्द्रित हुनेछ,’ उनले भने–‘नयाँ भवनबाट प्रविधिको उपयोग गरेर सेवा दिइनेछ ।’ उनले अधिकारसँगै कर्तव्यको ख्याल गर्न नगरवासीलाई आग्रह गरिन ।
नगर प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगरलाईक्लिन, ग्रीन र इको–फ्रेन्डली सिटी बनाउने संकल्प व्यक्त गर्दै लक्ष्य पूरा गर्नेतर्फ उन्मुख भएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो र पूर्णरूपमा सञ्चालन भए मात्र यस क्षेत्रको आर्थिक विकास सम्भव हुने बताउँदै सिद्धार्थनगरलाई छिमेकी पालिकाहरूसँग मिलाएर महानगरपालिका बनाउनुपर्नेमा जोड दिए ।
पूर्व नगरप्रमुख हरिप्रसाद अधिकारीले पूर्वाधार तयार भइसकेकाले अब नागरिकले सामाजिक सञ्जालमा गुनासो गर्नुभन्दा कार्यालयमै आएर रचनात्मक सुझाव दिनुपर्ने बताए । आफ्नो पालामा शिलान्यास भएको भवनको उद्घाटन गरिएकोमा खुसी व्यक्त गर्दै सेवा सुधार र प्रवाह प्रभावकारी तुल्याउन स्थानीय बासिन्दाले पनि सकारातमक भूमिका खेल्नुपर्ने बताए । सेवाग्राहीसित गुनासोमात्र नगर्न उनले अनुरोध गरे ।
उद्योग व्यपार संगठनका अध्यक्ष सचिन रोक्काले सिद्धार्थनगरपालिका यो क्षेत्र उद्योग, व्यापार, पर्यटन क्षेत्रको सम्भावना बोकेको पनि क्षेत्र रहेकोले यस क्षेत्रलाई आर्थिक चलायमान बनाउनलाई निजी क्षेत्र सहकार्य गर्दै अगाडि बढ्दै आएको छ र अगाडि बढ्दै जाने प्रतिबद्धता व्यक्त गरे । नयाँ भवनसँगै प्रशासनिक सहजता हुने विश्वास व्यक्त गर्दै पुरानो भवनलाई पार्किङ्का लागि उपयोग गर्न सुझाव दिए । आर्थिक चलायमान र सिद्धार्थ नगरपालिकाको विकासमा निजी क्षेत्रको सहकार्य भूमिका महत्वपूर्ण रहने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष दिलीप कान्दुुले नगरपालिकाको भवन भव्यताका निर्माण भई प्रशासनिक सेवामा सहजता हुनु निजी क्षेत्रका लागि गौरवान्वित विषय हो । नगरवासीले यहाबाट हुने सेवामा पनि भव्यता पाउने आशा र विश्वास राखेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नगरपालिका भनेको यो नगरको विकासको लागि महत्वपूर्ण निकाय हो र यो भवनबाट जनताले चाहे अनुसारको सेवा सहज रुपमा प्रदान गर्न सकोस् । हामी केही कुरामा ढिलासुस्ती गरिरहेका छौं, यसलाई अब हामी एउटा गति दिन जरुरी देखिन्छ । अब राज्य परिवर्तन भइसकेको छ, ढिलासुस्ती वा केही कमजोरी भए कसैले जनताले छोड्ने वाला छैनन् भन्दै उनले हामी सच्चिई ठोस आधारमा सुध्रिनु पर्ने बताए । उनले फोहोर व्यवस्थापन र नगरको सौन्दर्यकरणमा ध्यान दिन समेत आग्रह गरे ।
साहित्यकार विजय गोविन्द श्रेष्ठले ऐतिहासिक सिद्धार्थ ज्ञानमन्दिर पुस्तकालयको संरक्षणमा नगरपालिकाले विशेष चासो दिनुपर्ने बताए । सिद्धार्थनगरको गरिमाको रुपमा रहेको सिद्धार्थ ज्ञानमन्दिर पुस्तकालयलाई व्यवस्थित तरिकाले सञ्चालन गरी नगरपालिकाले संरक्षण गर्नमा ध्यान दिनुपर्ने बताए । यहाँ अर्पाप्य पुस्तकहरू छन् तर संरक्षण नभएको बताउँदै उनले सिद्धार्थनगर नगरपालिकामा बसेर नेपाली भाषा साहित्य कला संस्कृतिलाई उत्थान गर्ने व्यक्तित्वहरूको सम्झना स्वरुपको फोटो संग्रह राख्नुपर्ने बताए ।
नगर प्रवक्ता मुक्तिनाथ यादव भोलाले २०७४ साल मा निर्वाचित भएर शिलान्यास गरेको भवन समुद्घाटन समारोहमा कार्यपालिका सदस्यको रूपमा उपस्थित हुन पाउँदा उनले गर्व महसुस गरेको बताए । अबका दिनमा सम्पूर्ण काम कारबाही पारदर्शी हुने र जनताका काममा कुनै पनि ढिलासुस्ती हुन नदिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको मुख्य समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनलाई जनप्रतिनिधि र कर्मचारीले मात्र नभई सम्पूर्ण नगरवासीको सहकार्यमा समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
नगरपालिकाले विकास र सुशासनमा टेवा पु¥याउने पत्रकार, भाषा, साहित्य र कलामा योगदान गर्ने, नगरपालिका र देशको नाम रोशन गर्ने खेलाडी, उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार, सेवा निवृत्त र उत्कृष्ट कार्य गर्ने सहायकस्तरका कर्मचारीहरूलाई सम्मान गरेको छ ।




