बुटवल
कुनै बेला पूर्व–पश्चिम आवतजावत गर्न महेन्द्र राजमार्ग मात्रै थियो । पश्चिम डोटीबाट काठमाडौं पुग्न होस् वा पूर्व ताप्लेजुङबाट सुदुरपश्चिम पुग्न महेन्द्र राजमार्ग भएरै मात्र सम्भव थियो । अब पूर्व–पश्चिम आवतजावत गर्न महेन्द्र राजमार्गकै भर पर्नु पर्दैन् । पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणले मध्यपहाडको यातायात सञ्जाललाई बलियो बनाएको छ ।
नेपालको पूर्व पाँचथरको चिवाभञ्याङदेखि मध्यपहाडका २६ जिल्लालाई जोड्दै सुदूरपश्चिम बैतडीको झुलाघाट पुगेर यो मार्ग टुंगिन्छ । यो राजमार्गको कुल लम्बाई १ हजार ८ सय ७९ किमि छ । सरकारले आर्थिक वर्ष २०६४-६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । कुनै बेला रूकुम पूर्वका ग्रामीण बस्ती यातायात सञ्जालको अभावमा विकट थिए । बाग्लुङ सदरमुकामबाट पश्चिम बुर्तिवाङ पुग्न उत्तिकै कठिनाइ थियो । पुष्पलाल राजमार्र्गको निर्माणले विकट मानिने बाग्लुङको पश्चिम क्षेत्रका तराखोला, बुर्तिवाङ, गल्कोट जति सुगम भएका छन्, रूकुम पूर्वको सदरमुकाम रूकुमकोट, खावाङ, लुकुम लगायत बस्तीलाई पनि उत्तिकै सहज भएको छ । यहाँको समाजमा सामाजिक–आर्थिक परिवर्तन रेखा धेरै देख्न सकिन्छ । मध्य पहाडी राजमार्र्गले पहाडमा छरिएर रहेको बस्तीलाई जोडेको छ । भौगोलिक विकटताले बाग्लुङ र रूकुमको ग्रामीण बस्ती पहिले आपसमा सम्बन्ध हुँदैन्थ्यो । यातायातको सुविधाले आवतजावत बढ्दा अहिले विहेवारी, लेनदेन जस्ता विषय सामान्य बनेका छन् । कृषिको व्यवसायिक विकास र बजारीकरण गर्न सघाउ पुगेको छ । औधषीमुलो गर्न अस्पताल पुग्न बिरामीलाई सहज भएको छ । रूकुमका सुन्दर बस्तीमा पर्यटन प्रवद्र्धन गर्न ढोका खुलेको छ ।
रूकुम पूर्व र बाग्लुङको सीमा पातीहाल्ने कुनै बेला विकट थियो । अहिले पातीहाल्ने पर्यटकीय स्थलको रूपमा विकास हुँदैछ । अहिले यहाँ हिउँ खेल्न पोखरा, बुटवलका युवायुवती पुग्छन् । यहा पुग्न बुर्तिवाङबाट २२ किमी र रूकुमपूर्वको सदरमुकाम रूकुमकोटबाट २० किमि यात्रा गरेपछि पुग्न सकिन्छ ।
रूकुमपूर्व प्राकृतिक वैभवपूर्ण ठाउँ हो । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वका पर्यटकीय स्थल ढोरपाटन सिकार आरक्ष, पुथा र सिस्ने हिमाल, अग्ला पहाड र सुन्दर बुकी पाटन अनि सिस्नेको गुप्ता दह, कमल ताल, महत र चुन्बाङको युद्ध स्मृति संग्रहालयका साथै यहाँको खाम मगर संस्कृति प्रचार प्रसार गर्न सके धेरै लाभ लिन सकिने नेपाल पत्रकार महासंघ रूकुमपूर्वका पूर्व अध्यक्ष मैत्तेय घर्ती बताउँछन् । तकसेरा यो राजमार्गको काँक्रीबाट २२ किमि उत्तर पर्छ । अहिले तकसेरा घुम्न जानेहरू बढेका छन् । ‘अब प्रकृति र संस्कृतिमा रमाउन चाहनेलाई आर्कषित गरेर यहाँको नागरिकको जीवन बदल्नुपर्छ ।’–उनले भने ।
काठमाडौंबाट पोखरा हुँदै रूकुम पूर्व–पश्चिम भएर डोल्पाको से–फोक्सुन्डो तालसम्म जान यो मार्गको बाटो सबैभन्दा छोटो पर्छ । तर, यसको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धनको योजना बन्न सकेको छैन ।
तत्कालीन रूकुम जिल्ला विकास समितिका सभापति खेममान खड्काका भनाइमा पोखरा र मुस्ताङ जाने पर्यटकलाई यहाँको प्रकृति र संस्कृतिमा भुलाउन र रमाउन सकिन्छ । राम्रो यातायात पूर्वाधारको जग तयार भएको छ । तहगत सरकारले समन्वय र सहकार्य गर्दै पर्यटन प्रवद्र्धनका योजना र कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माणले रूकुम पूर्वका कृषि उत्पादनले बजार पाएका छन् । यहाँको भाङ, सिमी, भट्ट, टिमुर, कोदो र फापरको पिठो काठमाडौं र पोखराको बजारमा माग छ । बजारको माग अनुसार पु¥याउन सहज भएको छ । भुमे गाउँपालिकाको खवाङमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामसुर बुढाका अनुसार व्यवसायिक उत्पादनका लागि किसानले प्रविधि भित्र्याउन पाएका छन्, कृषि उत्पादनको बजारको सहज पहुँच पुगेको छ । कृषि उत्पादनले बजार पाउँदा व्यवसायिक खेतीतर्फ किसान आकर्षित भएका छन् । यो सहकारीले गत वर्ष ६ करोड रुपैयाँको कारोबार गरेको थियो ।
बागलुङ र रूकुम पूर्वको सीमास्थल पातीहाल्नेबाट दर्जनौं बस्तीलाई जोड्दै जिल्ला सदरमुकाम रूकुमकोटबाट यो मार्ग पश्चिमतर्फ अघि बढ्छ । त्यसपछि रूकुम पश्चिमको खोपिचारदेखि जिल्ला सदरमुकाम खलंगा भएर चौरजहारी हुँदै जाजरकोटतर्फ लाग्छ ।
बुर्तिवाङबाट पातीहाल्नेसम्म कालोपत्रे भएको छ । पातीहाल्नेबाट पश्चिम पञ्चासेसम्म १३ किमि कालोपत्रे नहुँदा सधँै यात्रुलाई सास्ती भएको छ । झरी र हिमपात हुँदा यातायात अबरूद्ध हुँदै आएको छ । निर्माण कम्पनी भरत महादेव खिम्ती सिद्धिसाई जेभीले ३७ करोड ४५ लाख रुपैयाँमा ठेक्का लिएको १० वर्ष नाघेको छ । निर्माणको काम अघि नबढाएपछि मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाले ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेर ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको छ । ‘ठेक्का लागेको लामोसमयसम्म यो खण्ड कालोपत्रे नहुँदा यातायातका साधन आवागमनमा सास्ती भएको छ, अब नयाँ ठेक्का लगाएर कालोपत्रे गर्ने दबाबमा छौँ ।’-पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर नविन खरेलले भने । यो कार्यालयले रूकुमपूर्वको पातीहाल्नेदेखि अछामको बयलपाटासम्म ४ सय २ किमि हेर्ने जिम्मेवारी छ । पातीहाल्ने-बयलपाटा खण्डमध्ये अलपत्र पातीहाल्ने-पञ्चासेको १३ किमि बाहेक अधिकांश ठाउँमा कालोपत्रेको काम सकिएको छ । कतिपय ठाउँमा धमाधम काम हुँदैछ । रूकुमकोट-चौरजहारीको ७७ किमिमध्ये रूकुमकोट पश्चिमतिर २ किमी कालोपत्रे हुन बाँकी छ । चौरजहारी–जाजरकोट ८६ किमिमध्ये ६५ किमी पक्की भइसकेको छ । जाजरकोट खण्डको २० किमी अहिले कालोपत्रेको काम भइरहेको छ । दैलेख खण्डको ४० किमि पनि कालोपत्रे भइसकेको छ । त्यहाँबाट पश्चिम लागेपछि कालोपत्रेको काम पूरा भएको छ ।
भुमे गाउँपालिकाका अध्यक्ष होमप्रसाद श्रेष्ठ पुष्पलाल लोकमार्ग मध्यपहाडको लाइफलाइन भएको बताउँछन् । ‘पूर्व–पश्चिमको यात्रा गर्न तराई झर्नैपर्ने बाध्यताको अन्त्य भएको छ । अब तराईमा कुनै समस्याले सडक बन्द हुँदाका सास्तीका दिन सकिए ।’–उनले भने ।
रूकुमलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न कुनै बेला एक मात्र सडकका रूपमा राप्ती लोकमार्ग थियो । घोराही होलेरी थवाङ, महत हुँदै तकसेरा, मैकोट जाने शहिद मार्ग मध्यपहाडी राजमार्गको खावाङमा जोडिन्छ । शहिद मार्गको ठाउँ–ठाउँमा कालोपत्रे हुँदैछ ।
अहिले मैकोटसम्म ट्रयाक खुलेको छ ।
भुमे गाउँपालिकाका अध्यक्ष श्रेष्ठका भनाइमा, फराकिलो सडक बनेकोले यो सडकमार्फत् समृद्धिको यात्रा तय गर्नुपर्छ । कृषि उत्पादनलाई बजारीकरण, ग्रामीण उद्यमशिलता र पर्यटन प्रवद्र्धन गरी ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । पर्यटन गुरुयोजना बनाएर प्रवद्र्धनको काम अघि बढेको छ ।
मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुपूर्व रूकुमबाट सल्यान हुँदै दाङ झरेर लमहीबाट पूर्व–पश्चिम हुँदै काठमाडौं जाँदा करिब दुई दिनमा काठमाडौं पुगिन्थ्यो भने यो मार्ग सञ्चालन भएपछि रूकुमबाट बागलुङ, पोखरा हुँदै डेढ दिनमै काठमाडौं पुगिन्छ । अहिले रोल्पाको उत्तरी क्षेत्र, रूकुमका बासिन्दाका लागि काठमाडौं जानका लागि दाङ झर्नैपर्ने बाध्यता हटेको छ । मध्यपहाडी राजमार्गको बाटो पोखरा हुँदै मुग्लिन झरेर काठमाडौं पुग्छन् ।
मध्यपहाडी राजमार्गअन्तर्गत १० ठाउँमा आधुनिक शहर बनाउन पनि नेपाल सरकारले काम गरिरहेको छ । यो राजमार्ग आसपासको अर्थतन्त्रलाई चलायमान बनाउन १० ठाउँमा शहर बनाउने योजनालाई कार्यान्वयन गर्न ढिलाइ भइरहेको छ ।
यो राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ ।
पूर्व अर्थमन्त्री रामेश्वर खनाल मध्यपहाडी राजमार्ग जलविद्युत् आयोजनाको पहुँचमार्ग र पर्यटन प्रवद्र्धन गर्ने हेतुले अघि सारिएको बताउँछन् । खनालका अनुसार, मध्यपहाडी क्षेत्र जलविद्युत् आयोजनाको ठूलो सम्भावना बोकेको क्षेत्र हो । त्यसैले यो राजमार्ग बनेसँगै जलविद्युत् आयोजना बन्ने वातावरण तयार हुनेछ । पहाडी गाउँगाउँमा सडक पुगेसँगै गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न मद्दत पुग्नेछ । ग्रामीण क्षेत्रमा पनि सहरी विकासमार्फत् आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य रहेको छ ।




