बुटवल । पहाड र तराईको संगमस्थलका रूपमा चिनिँदै आएको बुटवल पछिल्लो समय पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ । सडक, खानेपानी, विद्युत्, शहरी सौन्दर्यीकरण, शिक्षा र सार्वजनिक भवन निर्माणका क्षेत्रमा भएका कामहरूले बुटवललाई प्रदेशकै अग्रणी शहरी केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेका छन् । स्थानीय तह पुनर्संरचनापछि बुटवल उप–महानगरपालिकाले विकासलाई तीव्रता दिँदै पूर्वाधारलाई प्राथमिकतामा राखेको देखिन्छ ।
उप–महानगरपालिकाको तथ्याङ्क अनुसार, हालसम्म २ हजार २ सय ४२ भन्दा बढी योजना सम्पन्न भइसकेका छन्, जसले बुटवलको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।२०७४–२०८२ सम्म, बुटवलले स्थानीय शासन सुदृढीकरण, सेवा प्रवाह सुधार र क्षेत्रगत विकासलाई लक्षित गर्दै १ सयभन्दा बढी ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण तथा संशोधन गरेको छ।
बुटवलले योजनाहरू पारदर्शितापूर्वक, दीर्घकालीन सोचसहित र छिटो कार्यान्वयन गर्ने विशेषता प्रदर्शन गरेको छ । सडक पक्की, नाली, पुल, मन्दिर, सामुदायिक भवन, खानेपानी पाइपलाइन, तारबार र गमला निर्माण जस्ता पूर्वाधार परियोजना पूर्ण वा कार्यान्वयन चरणमा छन् । सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन, खानेपानी र छाडा चौपायाको समस्यामा प्राथमिकता दिँदै समाधानतर्फ अग्रसर रहेको छ । बुटवलको पर्यटनलाई आर्थिक केन्द्र बनाउन, सुशासनले यस क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ । स्थानीय प्रशासनले विकास, औद्योगिक विस्तार, पूर्वाधार सुधार, सामाजिक सुरक्षा र कानुनी संरचनालाई सुदृढ बनाउँदै बुटवललाई देशकै आदर्श सहरका रूपमा अघि बढाइरहेको छ ।
सहज आवागमनकोे ध्येय
बुटवलको विकासको मेरूदण्डका रूपमा सडक पूर्वाधारलाई लिइएको छ । पछिल्लो अवधिमा करिब ७० किलोमिटर सडक पक्की गरिएको छ भने ४० किलोमिटर सडक ग्राभेल तथा नाली निर्माण सम्पन्न भएको छ । त्यसैगरी, ३० किलोमिटर नाली निर्माण, २७ किलोमिटर सडक मर्मत तथा ३ किलोमिटर क्षेत्रमा इन्टरलक टायल बिछ्याउने कामले शहरी र भित्री सडक सञ्जाललाई थप व्यवस्थित बनाएको छ । पहिले धुलाम्मे र हिलाम्मे हुने सडक अहिले कालोपत्रे र सफा बनेका छन् । यसले दैनिक जीवन मात्र सहज बनाएको छैन, व्यापार व्यवसायलाई समेत गतिशील बनाएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउँछन् ।
उज्यालो बुटवल
‘उज्यालो बुटवल’ अभियानले शहरको स्वरूप नै परिवर्तन गरेको छ । ६८ स्थानमा हाइमास्ट लाइट जडान गरिनुका साथै ४ किलोमिटर क्षेत्रमा विद्युत् लाइन विस्तार र सौन्दर्यीकरण गरिएको नगरप्रमुख पाण्डेयको भनाई छ । पहिले अँध्यारो रहने मुख्य चोक र सडक अहिले उज्यालो बनेका छन् । यसले सुरक्षा बढाउनुका साथै रात्रिकालीन बजार, हिँड्डुल र सामाजिक गतिविधिलाई पनि प्रोत्साहन दिएको छ । बुटवल अब केवल दिनमा मात्र होइन, रातमा पनि चलायमान शहरका रूपमा विकास हुँदैछ ।
यी क्षेत्रमा पनि भइरहेको छ प्रगती
पूर्वाधार विकास केवल सडकमा सीमित छैन । १८ किलोमिटर खानेपानी पाइपलाइन विस्तारले बुटवलबासीको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको छ । यसका साथै ८ किलोमिटर तटबन्ध तथा रिटेनिङ वाल निर्माणले बाढी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेष गरी नदी किनार क्षेत्रका बस्तीहरूमा जोखिम न्यूनीकरण भएको स्थानीयले अनुभव गर्न थालेको बुटवल उप–महानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले दाबी गरिन् । उनका अनुसार शिक्षा क्षेत्रको पूर्वाधार विकासलाई पनि समान प्राथमिकता दिइएको छ । नयाँगाउँ मावि, बुटवल मावि, मोतीपुर माविलगायतका विद्यालयमा आधुनिक भवन निर्माण सम्पन्न भएका छन् । त्यसैगरी वडा कार्यालय भवन, स्वास्थ्य चौकी, मदरसा, गुरुकुल तथा अन्य सार्वजनिक संरचनाको निर्माणले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको छ । यी संरचनाहरूले केवल सुविधा मात्र होइन, दीर्घकालीन विकासको आधार तयार गरिरहेका छन् ।
धार्मिक तथा सांस्कृतिक सम्पदामा लगानी
बुटवलको पहिचानसँग जोडिएका धार्मिक तथा सांस्कृतिक संरचनाको संरक्षण र विकासमा पनि काम भएको छ । बाघभैरव मन्दिर, मुक्तिनाथ धाम, दुर्गा मन्दिरलगायतका संरचनाको निर्माण तथा पुनःनिर्माणले धार्मिक पर्यटनलाई टेवा पुर्याएको छ । यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । बुटवलमा विकास कार्य केवल कागजमा सीमित छैन । ठेक्का प्रक्रियाबाट १४३ योजना, सेवा परामर्शमार्फत ३४ योजना, कोटेशनमार्फत् ६६ योजना र उपभोक्ता समितिमार्फत् १९९९ योजना सम्पन्न भएका छन् । विशेष गरी उपभोक्ता समितिमार्फत् गरिएको कामले स्थानीय सहभागिता बढाएको छ, जसले विकासलाई दिगो र प्रभावकारी बनाएको देखिन्छ ।
बजेट र कार्यान्वयनः पूर्वाधारमा प्राथमिकता
चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म बुटवल उपमहानगरपालिकाको कुल आय १ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने ८७ करोड ४२ लाख रुपैयाँ खर्च भइसकेको छ । यस खर्चको ठूलो हिस्सा पूर्वाधार विकासमा केन्द्रित रहेको छ । यसले उप–महानगरपालिकाले विकासलाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गर्दछ ।
हाल बुटवलको तिनाउ नदी किनारमा ६.६२ करोड लगानमा तिनाउ आरती केन्द्र निर्माणाधिन रहेको छ । नुवाकोट पदमार्ग (५ करोड), नयाँगाउँ मावि भवन (१.१० करोड) र योगहल निर्माण (१ करोड) लगायतका महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा छन् । यी परियोजनाहरू सम्पन्न भएपछि बुटवलको पर्यटन, शिक्षा र शहरी जीवनस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ ।
बुटवलको पूर्वाधार विकास केवल वर्तमानका लागि मात्र होइन, भविष्यका लागि पनि लक्षित देखिन्छ ।
उज्यालो सडक, व्यवस्थित संरचना, सुरक्षित बस्ती र आधुनिक सेवासहित बुटवललाई नमुना शहर बनाउने लक्ष्य अघि सारिएको छ । स्थानीय सरकारका अनुसार आगामी दिनमा अझै ठूला योजना ल्याई बुटवललाई आर्थिक, शैक्षिक र पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ । पूर्वाधारमा भएको यो तीव्र प्रगतिले बुटवल अब केवल सम्भावनाको शहर मात्र नभई वास्तविक विकासको यात्रामा अघि बढेको शहर बनेको स्पष्ट संकेत दिएको छ ।
यस्तो छ बुटवलमा पुर्वाधार विकासको फेहरिस्त
माथि उल्लेखित क्षेत्रहरूका साथै अन्य विभिन्न क्षेत्रमा पनि पूर्वाधार विकासको कामहरू भइरहेको छ । बुटवल–१५ मा बन्दै गरेको आश्रममा योगाहल निर्माणका लागि १ करोड बजेटमा लागत अनुमान निर्माण चरणमा, सिरान गाउँ (टप–मजुवादेखि बुद्धनगर जाने सडक) निर्माण, बुटवल–११का लागि २ करोड बजेट परी सूचनामा प्रकाशित गरी ठेक्का प्रक्रियामा रहेको छ ।
बुटवल – ९ मा ६० लाखको लगानीमा बहुआयामिक वडा भवन निर्माणको ठेक्का प्रक्रियामा रहेको, बुटवल– ११ प्रगतिनगरमा रहेको प्रगति मावि कम्पाउण्ड बालसहित खेलमैदान संरक्षणका लागि २५ लाख बजेट परी सूचना प्रकाशन गर्ने चरणमा ठेक्का प्रक्रियामा, बुटवल–१९ को स्वास्थ्य केन्द्र भवन निर्माणका लागि ३० लाख लगानी रहेको र ठेक्का प्रक्रियामा रहेको बुटवल उप–महानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख मोहनराज पौडेलले जानकारी दिए ।
त्यस्तैगरी बुटवल – १२ स्थित नयाँगाउँ मावि भवन निर्माणका लागि १ करोड १० लाख लागतमा सम्झौता भई कार्यान्वयनमा प्रक्रियामा, वडा नं. १९ स्थित वडा कार्यालयका भवन निर्माण कार्यका लागि ४ करोड ७१ लाख ८८ हजार लागतमा सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।
माइक्रोबस पार्किङ् स्थलमा नाली, ढकनीसहित पि.सि.सि. निर्माण कार्यका लागि २३ लाख लगानीमा सम्झौता भई कार्यान्वयन चरणमा, बुटवल–७ मा प्रशोधन केन्द्र ट्रष्ट निर्माणका लागि २५ लाख, बुटवल– ३ स्थित बुटवल बहुमुखी क्याम्पसको पर्खाल भत्काएर ज्योतिनगर जाने बाटो निर्माण कार्यका लागि २५ लाख लगानीमा सम्झौता भई कार्यान्वयन प्रक्रियामा रहेको, बुटवल उपमहानगरपालिका, नगर कार्यपालिका कार्यालयका विभिन्न महाशाखाको प्लाईबाट पार्टेशनमा २ लाख ८३ हजार ८ सय ७२ लागत रकममा कार्य सम्पन्न भैसकेको बुटवल उप–महानगरपालिकाका योजना शाखा प्रमुख ठगिश्वर पोखरेले जानकारी दिए ।
त्यस्तैगरी बुटवल उप–महानगरपालिका नगर कार्यपालिकाका विभिन्न महाशाखा, शाखा एवं प्यासेजमा रहेका झ्याल एवं आल्मुनियम पार्टेसनहरू मर्मत कार्यमा ९ लाख ७६ हजार ४ सय ८९ रुपैयाँ ७२ पैसा, बुटवल–७ को वडा कार्यालयको भवन मर्मत कार्यमा ४ लाख ३२ हजार ९ सय ४७ रुपैयाँ ८७ पैसा, बस टर्मिनल भवन मर्मतमा ९ लाख ९७ हजार ८ सय ४३ रुपैयाँ १४ पैसा र बुटवलको वडा नं. ९ स्थित बुटवल बस टर्मिनल भवन रंगरोगन कार्यमा ९ लाख ८१ हजार ४ सय ४४ रुपैयाँ ३४ पैसा लगानी भएको र कार्य सम्पन्न भैसकेको छ ।
त्यस्तैगरी अन्य नगरस्तरीय योजनाहरूलागत स्टिमेट तैयारी र ठेक्का प्रक्रियामा रहेको, अन्य वडास्तरीय उपभोक्ताबाट सञ्चबलन हुने योजनाहरूको सम्झौता भई कार्यान्वयन चरणमा रहेको साथै १८औं नगरसभाबाट थप भएका योजना तथा कार्यक्रमहरूको लागत स्टिमेट तैयारीर कार्यान्वयन प्रक्रियामा रहेको आगामी आ.व. २०८३/८४ का लागि संघीय समपुरक र विशेष अनुदानका योजनाहर छनौट गरी योजना आयोगमा पेश गरिएको छ । साथै मुख्य प्रशासकीय भवनलगायत संरचनाको क्षती मूल्याङ्कन भैरहेको छ ।
त्यस्तैगरी पूर्वाधार विकास महाशाखाबाट विभिन्न मुख्य कार्यहरू सम्पादित भएका छन् । विद्यालय भवन निर्माणअन्तर्गत बुटवल– १२ नयाँगाउँ मा.वि., बुटवल– देवीनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर रिता मावि, बुटवल– १० मा रहेको कालिका मानवज्ञान मावि, बुटवल–१९ स्थित श्री अमर मावि, बुटवल– १ स्थित बुटवल मिावि, बुटवल– १७ स्थित मोतीपुर मावि, बुटवल–१८ स्थित भवानी मावि, बुटवल– ७ स्थित सिद्धेश्वरी लालकुमारी मावि, बुटवल– ६ स्थित तिलोत्तमा मावि, बुटवल– ७ स्थित सन्तोषीमाता गुरुकुल विद्याङम भवन, बुटवल – १३ स्थित मदिना मदरसा भवन निर्माण, बुटवल – २ स्थित उजिरसिंह मावि, बुटवल – १३ स्थित जितेश्वरी मावि, बुटवल – ५ स्थित ज्ञानोदय मावि भवन निर्माण, बुटवल–११ नहरपुर मावि, बुटवल–१ सरस्वती आधारभूत विद्यालय भवन निर्माणहरू रहेका छन् । त्यस्तैगरी बुटवलका विभिन्न वडामा मन्दिर निर्माण, सडक पिच, स्वास्थ्य चौकी र वडा कार्यालयहरू समेत पूर्वाधार विकास महाशाखाबाट मुख्य कार्यहरू सम्पन्न भएका छन् ।
त्यस्तैगरी आ.व. २०७९ देखि ०८१/०८२ सम्म सञ्चालित योजनाहरूको एकीकृत उभौतिक तथा वित्तीय प्रगति पनि सकारात्मक रहेको छ । बुटवका विभिन्न स्थानमा सडक पिच तथा नाली निर्माण, सडक ग्राभ्रेल तथा नाली निर्माण, सडक इन्टरलक टायर बिछ्याउने कार्य, सडक पिच मर्मत, पुल कल्भर्ट, तटबन्ध, रिटेनिङ्ग वाल,रेलिङ्ग निर्माण, मठ मन्दिर निर्माण, सेड, ट्रस निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माण तथा मर्मत, भवन पार्क र मन्दिरमा कम्पाउण्ड वाल निर्माण, शालिक, पार्क निर्माण, खानेपानी पाइप लाइन विस्तार, खानेपानी बोरिङ्ग जडान, जग्गा संरक्षका लागि तारबार र गमला निर्माणलगायतका विभिन्न पूर्वाधार निर्माणका कार्यहरू भएका छन् ।
बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ । अपांगता परिचयपत्र वितरण, सुत्केरी र गर्भवती महिलाको घरमै स्वास्थ्य सेवा, पशुसेवा, पोषण सेवा–सबै नागरिकका ढोकासम्म पुर्याउँदै आएको छ । स्थानीय सरकार जनतासम्म पुग्छ भन्ने कुरा बुटवलले व्यवहारमै प्रमाणित गरेको छ ।




