भोजेन्द्र नेपाली
बुटवल । बुटवल–गोरूसिङ्गे सडकखण्ड विस्तारको काम तीव्ररूपमा भइरहेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार ११ गते ठेक्का पाएका थिए ।
ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र अर्थात् २०८४ कार्तिक ३ गते सडक निर्माण सक्ने सम्झौता छ । २०८१ कार्तिक १२ देखि निर्माण व्यवसायीले काम सुरु गरेको हो ।
आयोजनाकाअनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । सडकलाई बुटवल–सालझण्डी खण्डको २५ किलोमिटरलाई लट १ र कपिलवस्तुदेखि गोरूसिंगेतर्फको २५ किलोमिटरलाई लट २ मा विभाजन गरी काम भइरहेको छ । लट १ का लागि ७ अर्ब ८९ करोड ४३ लाख र लट १ का लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो ।
जसअनुसार फागुन अन्तिम सातासम्म लट १ तर्फ भौतिक प्रगति २१ दशमलव ३३ प्रतिशत र वित्तीय प्रगति करिब १९ प्रतिशत भएको आयोजनाका सूचना अधिकारी अशोक पौडेलले जानकारी दिए । यस्तै लट २ तर्फ भौतिक प्रगति २३ प्रतिशत र वित्तीय प्रगति १७ दशमलव ६५ प्रतिशत भएको उनले बताए ।
सडक विस्तारकै लागि सडक किनारमा रहेका करिव सात हजार बढी रूख काटिएको थियो । अन्य आयोजनामा रूख कटानका लागि धेरै लामो समय लाग्ने गरे पनि आयोजना प्रमुख इञ्जिनियर कुशलता न्यौपानेको सक्रियतामा यो आयोजनामा रूख कटानको प्रकृया निकै छिटो पूरा गरी कटान भएको थियो । जसले गर्दा निर्माणको काम छिटो अघि बढेको हो ।
सडक क्षेत्रभित्र बनेका संरचनालाई घर धनीले आफैँ भत्काएर क्षतिपूर्ति समेत लिइसकेका छन् । ५० किलोमिटर लामो दुरीको यो सडक तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको हो ।
कुन खण्डमा कति काम ?
लट १ तर्फ ११ किलोमिटरसम्म माटो फिलिङको काम भइरहेको छ भने २ किलोमिटरमा ग्राभेल भइरहेको छ । ६ वटा आकाशे पुलमध्ये २ वटा निर्माणको काम भइरहेको छ । यो खण्डमा ५ वटा बन्नेमध्ये जितगढी झोलुङ्गेपुल चोक, नयाँगाउँ चोक र तामनगरमा गरी तीन स्थानमा फ्लाइ ओभरको काम भइरहेको छ । यो खण्डमा सैनामैनाको बुद्धनगर र मुर्गियामा पनि फ्लाइ ओभर बन्ने छ । यो खण्डमा साना ठूला गरी २० वटा पुल र ६७ वटा कल्भर्ट बन्ने छन् । जसमध्ये १८ वटा पुल र ३७ वटा कल्भर्टको निर्माण कार्य भइरहेको छ ।
यो खण्डमा वन्यजन्तु आवतजावतका लागि सालझण्डी र कोठी नदीमा एनिमल क्रसिङ निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा नदीजन्य सामग्रीको समयमै सहज उपलब्धता भएमा यो खण्डमा बजार क्षेत्रबाहेकको ठाउँमा साढे ९ किलोमिटर दुरीमा २४ मिटर चौडा सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । यस्तै यो खण्डमा सडक छेउमा लगाइने सिमेन्ट पर्खालको काम ८० प्रतिशत सम्पन्न भएको छ । नाली पनि तयार भएको र प्रिकास्ट ब्रेल राख्ने काम भइरहेको छ ।
लट २ तर्फ १४ किलोमिटरमा माटो फिलिङ र ६ किलोमिटरमा ग्राभेल भइरहेको छ । १० वटा पुल बनाउनुपर्नेमा ९ वटा पुल निर्माण जारी रहेको छ । यस्तै चार नम्बर जितपुरमा फ्लाइओभर निर्माण भइरहेको छ । ५ वटा आकाशे पुल बनाउनुपर्नेमा एउटा निर्माण भइरहेको छ भने ६६ वटा बक्स कल्भर्ट बनाउनुपर्नेमा ४३ वटा निर्माणको काम भइरहेको छ । १६ वटा एनिमल क्रसिङमध्ये १५ वटाको काम भइरहेको छ । ढल निकासका लागि बनाइने प्रिकास्ट तयार भएका र राख्न मात्र बाँकी रहेको छ । यो खण्डमा असार मसान्तसम्म १२ किलोमिटर पीच गर्ने लक्ष्य छ ।
बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारी साधन र यात्रुहरूलाई सास्ती नहोस् भनेर बुटवल–गोरूसिङ्गे सडक विस्तार गर्दा बिचको पिच सडक नभत्काई सुरुमा दायाँ–बायाँतर्फको बनाइसकेर मात्र बिच भागको सडक भत्काउने तयारी छ ।
वन्यजन्तुमैत्री सडक
यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा ओभर फ्लाइ, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज तथा वन्यजन्तु वारपार गर्न जंगल क्षेत्रमा १८ वटा अण्डर पास बनाइने छ ।
बाक्लो बस्ती भएका शहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययनपश्चात् गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अण्डरपास’ निर्माण भइरहेको आयोजनाका कार्यालय प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बताइन् ।
रूपन्देहीमा पर्ने जितगढी बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जितपुर चोकमा ‘भेहिकल अण्डरपास’ बनाइँदै छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको करिब ५० किलोमिटर खण्ड विस्तारको काम पूरा भएलगत्तै कपिलवस्तुको चन्द्रौटासम्मको सडकखण्ड विस्तारको प्रक्रिया अगाडि बढाउने गरी टेण्डर आह्वान भइसकेको छ ।
गोरूसिङ्गे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटर छ । अहिले सो सडकखण्ड डिजाइनको काम भइरहेको छ । बुटवलदेखि चन्द्रौटासम्म फराकिलो र आधुनिक सडक निर्माण पूरा भएपछि बुटवल बजार थप गुल्जार हुने र नयाँ–नयाँ अवसरका ढोका खुल्ने अपेक्षा छ । पूर्वतर्फ पनि बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा पुगेकाले अब चन्द्रौटादेखि बर्दघाटसम्मको आर्थिक केन्द्र बुटवल बन्ने निश्चित छ । बुटवलको पूर्वतर्फ बर्दघाटसम्म र पश्चिममा चन्द्रौटासम्म दुबैतर्फ सडक विस्तारले बुटवल देशकै आर्थिक केन्द्र बन्ने ढोका खुलेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् ।
नदीजन्य पदार्थको अभाव झेल्दै
तर नदीजन्य पदार्थको अभावले काम प्रभावित भइरहेको छ । हाल लट १ तर्फ दैनिक साढे दुई सय जना बढी र लट २ तर्फ करिब २ सय जना जनशक्तिले काम गरिरहे पनि सडक निर्माणका लागि आवश्यक माटो, भस्कटलगायत नदीजन्य पदार्थको समयमा सहज उपलब्धता नहुँदा काम प्रभावित भएको गुनासो छ । चालु आर्थिक वर्षमा ३ लाख घनमिटर माटो आवश्यक परेकामा मागअनुसारको परिमाणमा उपलब्ध भएको छैन ।
अर्को आर्थिक वर्षसम्म ८ लाख घनमिटर माटो र भस्कट आवश्यक छ । बुटवल उप–महानगरपालिकासँग एक वर्षअघिदेखि नदीजन्य पदार्थका विषयमा कुरा राखे पनि करिब १० महिनासम्म चासो नदिइएको र दुई महिनाअघि मात्र यस विषयमा ध्यान गएको आयोजनाको गुनासो छ । माटोको अभावमा काम प्रभावित भएर निर्माण कार्य ढिला भएमा ३२ करोड रुपैयाँ अतिरिक्त आर्थिक भार पर्ने भन्दै निर्माण व्यवसायीले दबाब दिइरहेका छन् ।
तर पनि स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायले नदीजन्य पदार्थको सहज उपलब्ध गराउने विषयमा अझै ढुक्क हुने वातावरण नबनाएको गुनासो छ । निर्माण व्यवसायीले जुन पालिकाले नियमअनुसार नदीजन्य पदार्थ उपलब्ध गराउँछ, त्यो पालिकातर्फको काम मात्र अघि बढ्ने र अन्यत्र काम नहुने चेतावनी दिन थालेको आयोजना प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बताइन् ।
सडक निर्माणका लागि नभई नहुने नदीजन्य पदार्थ नियम कानुनअनुसार निर्माण व्यवसायीले समयमै पाउने वातावरण बनाउन सकारात्मक प्रयत्न गर्नुपर्ने सरकारी निकायको बेवास्ताले सडक निर्माण समयमै पूरा नहुने जोखिम बढाएको छ ।
जेन–जी आन्दोलनअघिको सरकारको पालामा सडक निर्माणको कामको प्रगति र समस्याबारे सम्बन्धित सरकारी निकाय र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियमितरूपमा जानकारी लिने गरे पनि जेन जी आन्दोलन यता कसैले चासो नदिएको आयोजना कार्यालयको गुनासो छ ।
संघीय सरकारको रूपान्तरणकारी आयोजना भएकाले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वयस समिति र स्थानीय पालिकाहरूले आयोजना समयमै सम्पन्न गर्न सकारात्मक भूमिका खेल्नुपर्ने आयोजना प्रमुख न्यौपानेको आग्रह छ ।
अमेरिका–इरान युद्धले अलकत्रा अभावको जोखिम
आयोजनाले धमाधम अरू काम गरे पनि अमेरिका र इजायल मिलेर इरानविरुद्ध युद्ध गरेकाले त्यसले अलकत्रा आयातमा असर गरेको खण्डमा पनि सडक निर्माण कार्य प्रभावित हुन सक्ने जोखिम देखिएको छ ।
सडक कालोपत्रे गर्न नभई नहुने अलकत्रा (बिटुमिन) इरानबाट आउने गर्छ । सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेले आफूहरू सम्झौता अवधिमै सडक निर्माण पूरा गर्ने हिसाबले आफ्नोतर्फबाट कुनै कसर बाँकी नराखी तदारूकताका साथ निरन्तर काम गरे पनि नदीजन्य पदार्थको अभाव, जेन–जी आन्दोलन, सरकार फेरबदल र पछिल्लो अमेरिका–इरानबिचको युद्धले अलकत्रा अभाव हुन सक्ने जोखिमलगायत कारणले ठेक्का सम्झौताअनुसार निर्धारित अवधिमा सडक निर्माण पूरा नहुने हो कि भन्ने आशंका उब्जिएको बताइन् ।




