बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका पूर्वाधार विकासमा अब्बल पालिका बनेको छ । तिलोत्तमा नगरपालिका यतिबेला भौतिक पूर्वाधार विकासमा उल्लेखनीय फड्को मार्दै आधुनिक, व्यवस्थित र सुविधासम्पन्न शहरको रूपमा आफूलाई रूपान्तरण गर्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको छ । नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रशासनिक संरचनालगायतका बहुआयामिक क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको लगानी गर्दै विकासको स्पष्ट खाका कार्यान्वयन गरिरहेको देखिन्छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र उप–प्रमुखमा नेकपा एमालेकी जगेश्वरदेवी चौधरी निर्वाचित भएका थिए । नगर प्रमुख खाँण नेपाली कांग्रेस रूपन्देहीको जिल्ला सभापति समेत रहेकाले उनले संघीय र प्रदेश सरकारसँग मात्र नभई अन्तर्राष्ट्रिय दातृ निकायसम्म पहुँच र सम्बन्ध विस्तार गरी नगरपालिकामा बजेट ल्याउन प्रभावकारी भूमिका निर्वाह गरेका कारण नगरले पूर्वाधार विकासमा फड्को मारेको हो ।
नगर प्रमुख खाँणको अग्रसरतामा विश्व बैंक, एशियाली विकास बैंक, यूएसएआईडी पीएफएम, सिटिज फर वुमन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी विकास निर्माण तथा वित्त व्यवस्थापन भएको छ ।
सुदृढ प्रशासनिक संरचना
नगरपालिकाले स्थानीय सरकारलाई प्रभावकारी बनाउन वडा कार्यालय भवन निर्माणलाई उच्च प्राथमिकता दिएको छ । वडा नं. ६ मा २ करोड २५ लाख, वडा नं. १४ मा २ करोड र वडा नं. १७ मा २ करोड ३५ लाख रुपैयाँ लागतमा आधुनिक सुविधा सम्पन्न भवन निर्माण भएका छन् । यसले सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउने विश्वास गरिएको छ ।
सडक पूर्वाधार
तिलोत्तमाको विकासमा सडक पूर्वाधार मुख्य आधारको रूपमा देखिएको छ। एक वडा, एक सडक कार्यक्रमअन्तर्गत ५ दशमलव ५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि मात्रै ५२ करोड रुपैयाँ खर्च गरिएको छ ।
त्यस्तै, विश्व बैंकको सहयोगमा मंगलापुर – कान्छीबजार सडक निर्माणका लागि ६५ करोड रुपैयाँको विशाल परियोजना सञ्चालनमा रहेको छ । यसले यातायात सहजता मात्र नभई आर्थिक गतिविधि विस्तारमा पनि ठूलो टेवा पुर्याउनेछ । चक्रपथ निर्माणमा ३ करोड ९० लाख खर्च भएको छ । विभिन्न क्षेत्रमा पार्किङ् व्यवस्थापन, सिक्स लेन सडक आसपास संरचना विकासलगायतका योजनाले सहरलाई व्यवस्थित बनाउने लक्ष्य राखेका छन् ।
नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा पनि उल्लेखनीय लगानी गरेको छ । वडा नं. २ मा निर्माणाधीन वनवाटिका परियोजना ५ करोड रुपैयाँको लागतमा बहुआयामिक पर्यटकीय केन्द्रका रूपमा विकास हुँदैछ । यहाँ स्विमिङ पुल, म्युजिकल फाउन्टेन, आकर्षक पार्क, व्यवस्थित पार्किङ् क्षेत्र तथा बाउन्ड्री वाल निर्माण भइरहेका छन् ।
त्यसैगरी, कुञ्जपार्कमा १ करोड २३ लाख रुपैयाँमा म्युजिकल फाउन्टेनसहितको पूर्वाधार विकास र बीपी बाटिकामा भवन निर्माण कार्यले नगरको सौन्दर्य र आकर्षण थप बढाउने अपेक्षा गरिएको छ । यी परियोजनाहरूले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनेछन् ।
शिक्षा क्षेत्रमा उल्लेख्य लगानी
शिक्षा पूर्वाधार सुदृढीकरणमा नगरपालिकाले विशेष जोड दिएको छ । जनज्योति मा.वि. (वडा नं. २), जनभावना मा.वि. (वडा नं. ८) र वरौलिया मा.वि. (वडा नं. १७) का लागि मात्रै ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी सिद्धार्थ आ.वि., गणेश प्रा.वि., जनहित मा.वि., बालविकास प्रा.वि., सरस्वती प्रा.वि. तथा दुर्गा मा.वि. लगायतका विद्यालयहरूमा ३ करोड ५० लाख रुपैयाँ खर्चेर भवन निर्माण भइरहेका छन् । यसले विद्यार्थीहरूलाई सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्नेछ ।
स्वास्थ्य सेवामा पहुँच विस्तार
नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै वडा नं. ३, ४, ८, १४ र १६ मा स्वास्थ्य चौकी पूर्वाधार निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसले आधारभूत स्वास्थ्य सेवाको पहुँच गाउँ–गाउँसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।
आधुनिक उपकरण र सेवा विस्तार
नगरपालिकाले सेवा प्रवाहलाई आधुनिक बनाउन दमकल खरिद, विद्युत् पोल व्यवस्थापन मेसिन, ट्याक्टर, पानी ट्यांकर र जेसीबी खरिदमा पनि लगानी गरेको छ । यसले विपद् व्यवस्थापन, सरसफाइ र पूर्वाधार निर्माण कार्यलाई प्रभावकारी बनाउनेछ ।
वातावरण, कृषि र सुरक्षामा पनि ध्यान
फोहोरमैला प्रशोधन केन्द्रको क्षमता विस्तार (१ करोड ३० लाख), सिचाइँ नहर मर्मत (८० लाख), नदी नियन्त्रण कार्य तथा बिरूवामा पानी लगाउने ट्यांकर व्यवस्थापनले वातावरण संरक्षण र कृषि प्रणाली सुधारमा सहयोग पुर्याउनेछ ।
त्यस्तै, विभिन्न वडाहरूमा सीसीटिभी जडान र आकासे पुलमा संरचनात्मक सुधारले सुरक्षा र यातायात व्यवस्थापनलाई सुदृढ बनाउनेछ ।
प्रशासनिक तथा सामाजिक पूर्वाधार विस्तार
नगरपालिकाको प्रशासनिक भवन परिसरमा २५० जना अट्ने सभाहल निर्माणका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । साथै कार्यालय परिसरमा पार्किङ् व्यवस्थापन, प्रवेशद्वार र स्वागत गेट निर्माणका लागि २ करोड ५० लाख रूपैयाँ छुट्याइएको छ ।
योजनाबद्ध विकासको स्पष्ट संकेत : नगर प्रमुख
समग्रमा हेर्दा तिलोत्तमा नगरपालिका योजनाबद्ध, सन्तुलित र दिगो विकासको मार्गमा दृढतापूर्वक अघि बढिरहेको नगर प्रमुख रामकृष्ण खाँण बताउँछन् । भौतिक पूर्वाधारमा गरिएको यो व्यापक लगानीले नगरलाई निकट भविष्यमा आधुनिक, व्यवस्थित र आकर्षक सहरका रूपमा स्थापित गर्ने बलियो आधार तयार पारेको नगर प्रमुख खाँणले बताए ।
स्थानीय सरकारको सक्रियता, योजनाबद्ध लगानी र विकासप्रतिको प्रतिबद्धताले तिलोत्तमा नगरपालिकालाई अन्य नगरहरूका लागि उदाहरणीय मोडेलका रूपमा उभ्याएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
लगातार दोस्रो पटक उत्कृष्ट
रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट ६ मा छनोट भएको यो नगरपालिकाले देशभरिमा तेस्रो स्थान हासिल गर्यो । तिलोत्तमा नगरपालिका अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि उत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्यसम्पादन मूल्याङ्कन गरी पुरस्कृत गर्दै आएको छ ।
यी सबै सूचकहरूमा तिलोत्तमा नगरपालिकाले १०० मा ९७ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेको स्वमूल्यांकन घोषणा गरेको छ । यसमध्ये समग्र स्थिति ९८ दशमलव ८१ प्रतिशत, प्रक्रियागत स्थितिमा शतप्रतिशत र परिमाणात्मक स्थितिमा ९४ दशमलव ४४ प्रतिशत अंक स्वमूल्यांकन गरेको छ ।
तिलोत्तमा अघिल्लो आर्थिक वर्ष जस्तै आर्थिक वर्ष २०८०/०८१ मा पनि उत्कृष्ट बनेको हो । नगरपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्चको संरचना बमोजिम निर्धारित समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन र भुक्तानी गरेकाले स्वमूल्याङ्कनमा उत्कृष्ट बन्न सफल भएको हो । कुल सूचकमध्ये विकासका ५ वटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रहरूमा समन्यायिक रूपमा बजेट विनियोजन गरी नतिजामूलक कार्यान्वयन गर्ने गरेकाले तिलोत्तमा लिसामा लगातार उत्कृष्ट बनेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खुमलाल भुसाल बताउँछन् ।
सबै शाखाहरूलाई सूचना प्रविधिमा जोडी सफ्टवेयरमार्फत् कार्य सम्पादन, नगरवासीलाई निःशुल्क रूपमा दुई स्थानबाट भिडियो एक्सरे सेवा प्रदान, ज्येष्ठ नागरिक उपचार तथा निःशुल्क औषधि सेवा प्रदान, विद्यार्थीको कक्षा छोड्ने दर घटाई नगरपालिकालाई शैक्षिक रूपमा राष्ट्रियस्तरमा चिनाउन वार्षिक २ करोड रुपैयाँ लगानी गरी दिवाखाजा कार्यक्रम सञ्चालन गरिएको छ ।
उनका अनुसार विभिन्न २६ वटा क्षेत्र/सूचकमा नगरपालिकाले अब्बल काम गरेको छ । नगरपालिकाले आफ्नै परियोजना बैंक बनाई आफ्ना योजनाहरूलाई नगरस्तरीय प्राथमिकता प्राप्त आयोजना (रु.१ करोडसम्म लागत भएका), नगर गौरवका आयोजना (रु.१ करोडभन्दा बढी ५ करोडसम्मका) र नगरस्तरीय स्वर्णिम आयोजना (रु.५ करोडभन्दा माथि) लाई प्राथमिकता क्रम तोकी आयोजना छनोट र कार्यान्वयन गरेको छ ।
नगरपालिकाले निर्धारित समयमा नगर कार्यपालिकाको बैठक बसी आफ्ना पुराना निर्णयहरू कार्यान्वयन सम्बन्धमा छलफल र समीक्षा गर्ने गरेको, नगरसभा र नगर कार्यपालिकाका विषयगत समितिहरूको प्रभावकारी परिचालन गर्ने गरेको, नगरपालिका स्थापना भएयताको हालसम्मकै कम बेरूजु कायम र बढी बेरूजु फर्स्यांैट गरी आर्थिक अनुशासन कायम गर्नुले पनि लिसामा उत्कृष्ट हुन भूमिका खेलेको भुसालले बताए ।
अन्तर्राष्ट्रिय संस्थाहरू सिटिनेट, मेयर फर पिस, यूसीएलजी एएसपीएसी र ओआइडीपीको सदस्यता लिई नगरपालिकाको सम्बन्ध र समन्वय अन्तर्राष्ट्रियस्तरमा समेत विस्तार गरी ओआइडीपी अवार्डमार्फत् नगरपालिकाको ख्याति विश्वभर फैलाउन मद्दत गरेको छ । नगरले आफैँ धानिन सक्ने र आफ्ना विकास निर्माणका काम समेत आफ्नै आन्तरिक आयमार्फत् गर्न सक्ने गरी आन्तरिक स्रोत मजबुत पार्ने काम गरेको, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा सञ्चालन, विपद् स्वयंसेवक छनोट तथा क्षमता विकास, अन्तर्राष्ट्रियस्तरको नगर सूचना केन्द्र सञ्चालनमार्फत् विपद् व्यवस्थापनमा नमूना कार्य गरेको छ ।
रूपन्देहीमै पहिलो पटक नगरपालिकाको लगानीबाट हाइमास्ट र मिनीमास्ट लाइट जडान गरी उज्यालो तिलोत्तमा निर्माण, आईटी पार्क निर्माण, कर्मचारी र जनप्रतिनिधिको नियमित क्षमता विकास कार्यक्रम सञ्चालनले संस्थागत क्षमता वृद्धि भएको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।
कुहिने र नकुहिने फोहोरमैलाको स्रोतमै वर्गीकरण गरी सार्वजनिक, निजी, सरकारी साझेदारी मोडलबाट फोहोरमैला व्यवस्थापन तथा अनुसन्धान केन्द्रको विकास गरेको नगर प्रमुख खाँणले बताए ।
यस्तै, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिच नतिजामूलक कार्यसम्पादन सम्झौता, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता गरी गुणस्तरीय कार्य सम्पादन, सेवाग्राहीको सहजताका लागि घुम्ती शिविर सञ्चालन, तिलोत्तमा इन्टर्नसिप कार्यक्रम, स्थानीय उत्पादनको प्रवद्र्धनका लागि मेड इन तिलोत्तमा कार्यक्रमले नगरलाई संस्थागत क्षमतामा अब्बल बनाएको नगर प्रमुख खाँणको भनाइ छ ।
‘सडक यातायात गुरुयोजना निर्माण तथा कार्यान्वयन, दिगो विकास लक्ष्यहरूको स्थानीयकरण गरी कार्यान्वयन, जोखिम संवेदनशील भूउपयोग योजना निर्माण र कार्यान्वयन, आयोजनाहरू छनोट गर्दा नै सम्भाव्यता अध्ययन गरी उपयुक्त देखिएका कार्यान्वयनयोग्य आयोजना मात्र छनोट र कार्यान्वयनले संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा निरन्तर अब्बल भएको हो ।’–नगर प्रमुख खाँणले भने ।




