हरिविष्णु ओली
मध्यपहाडी लोकमार्गले छोएका गाउँबस्तीमा विकासको ढोका खुल्दैछ । आर्थिक अवस्थामा सुधार आउँदैछ र नागरिकमा आशाको दियो बालेको छ । यो नेपालको मध्य पहाडी क्षेत्रमा बनेको एक ठूलो लोकमार्ग हो जसले देशको पश्चिमबाट पूर्व, तराईभन्दा माथि जाने राजमार्गलाई जोडेको छ । यो मार्गले मध्य पहाडी क्षेत्रमा रहेका गाउँहरू र नगरहरूलाई विशेष बनाएको छ । यस लोकमार्गले नेपालको ग्रामीण अर्थतन्त्रमा अनेक लाभहरू लिएर आएको जनअनुभूति रहेको छ ।
व्यापार र वाणिज्यका गतिविधिहरू बढेका छन् । लोकमार्गबाट उत्पन्न हुने स्थानीय सामग्रीहरूले विभिन्न वाणिज्यका गतिविधिहरूमा वृद्धि भएको छ । मध्यपहाडी राजमार्गले यातायातमार्फत् पहाडी क्षेत्रलाई सहरसँग जोडेपछि स्थानीय उत्पादनको बिक्री सहज भएको छ ।
उत्पादन गरेको वस्तुले बजार र मूल्य दुवै पाउने भएपछि उत्पादनमा सुधार हुँदा बिक्रीमा पनि बढोत्तरी भएको छ । जसबाट गाउँ समाजको आर्थिक आम्दानी बढेको छ । यो मार्गले समृद्धि हुने विभिन्न क्षेत्रमा रोजगार सृष्टि गरेको छ । सडक निर्माण, रेलिङ, होटल, रेस्टुरेण्ट, ग्यारेज, आदि विभिन्न क्षेत्रमा रोजगारी श्रृजना भएको छ ।
यस लोकमार्गका कारण शिक्षा र स्वास्थ्यमा पहुँच वृद्धि भएको छ । जसले गर्दा स्कूल र कलेजहरू सहज पठनपाठनका माध्यम भएका छन् । अस्पतालहरूलाई सुधार गर्ने सहारा मिलेको छ । बिरामीहरूलाई तत्काल उद्धार गर्न सकिएको छ । कृषकहरूको उत्पादन सजिलै बजारमा पुगेको छ । खेती र पशुपालनमा सुधार आएको छ ।
केही वर्ष अघिसम्म रूकुम पूर्वको खाबाङ बगर दुर्गम बस्तीमा गनिन्थ्यो । त्यहाँका स्थानीयलाई सरकारी कामको लागि पुग्नैपर्ने सदरमुकाम आउन समेत हप्तादिन बढी समय खर्चिनु पर्ने बाध्यता थियो । खर्चको त कुरै नगरौं, आम्दानी नभएको ती बस्तीका नागरिकका लागि हजारौ खर्च गर्नु पर्ने विवशता थियो ।
आउजाउका लागि सवारी साधन त के समान बोक्ने खच्चड देख्न पनि महिनौसम्म पर्खिनु पर्थ्यो । स्थानीयलाई आवश्यक खाद्य सामाग्री बोकेर आउने खच्चड पनि पालो मिलाएर मात्रै महिनामा आक्कल झुक्कल गाउँतिर आउँथे । दुर्गम बस्तीहरू लुगुम, तकसेरा, हुकाम, मैकोट, कोल, राङसी आसपासका बासिन्दाको दैनिक साह्रै कष्टप्रद थियो ।
तर पछिल्ला केही वर्षयता यहाँको अवस्था फेरिएको छ । घोडा खच्चड हिंड्ने गोरेटो बाटो पिच भएको छ । सडकमा दैनिकै सयौं सवारी साधन कुद्न थालेका छन् । हप्ता दश दिन लगाएर सदरमुकाम पुग्ने गाउँलेहरू आजकाल दुई घण्टामै रूकुम पूर्वको सदरमुकाम रूकुमकोट र चार घण्टामै रूकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा बजार पुग्ने गर्दछन् । गाउँमा आउजाउ पनि बढेको छ ।
स्थानीय रूपमा उत्पादन हुने जौं, कोले, आलु, कोदो, फापर बिक्री हुन थालेको छ । घरमा पालिएका दुई चार वटा गाई, भैंसी, बाख्रा,भेडा बेचेर स्थानीयले आम्दानी गर्न थालेका छन् । गाईवस्तुको दूध र घ्यू अर्गानिक ब्राण्ड भन्दै माग बढेको छ । कष्टकर दैनिकी विस्तारै सहज बन्दै गएको छ । अध्याँरा जीवन उज्याला बन्दै आएका छन् । रूकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केविन्द्र गौतम भन्छन्–‘मध्यपहाडी बाटोले त हाम्रो कायालपलट नै गरिदिएको छ । रूकुमकोट नमूना शहरमा परेको छ । घडेरी व्यापार ह्वात्तै वढेको छ ।ठुल्ठुला होटेलहरू खुलेका छन् ।’
बटाहरू पिच भएपछि गाउँ विद्यालय र स्वास्थ्य चौकीहरूमा पनि राम्रा शिक्षक र स्वास्थ्यकर्मी आउन थालेका छन् । शिक्षाको उज्यालो र स्वास्थ्य जीवन बाँच्नको फाइदा स्थानीयले थाहा पाउन थालेका छन् । पूर्वी रूकुम र बागलुङ निसीको सिमानामा रहेको उराठ पातीहाल्ने डाँडो पर्यटकीय क्षेत्र बन्दै गएको छ । त्यही डाँडोमा रहेको तिलाचन ताल हेर्न अहिले सयौं मान्छे आउन थालेका छन् । भूमे गाउँपालिकाका पूर्व प्रमुख रामसुर बुढामगर भन्छन्–‘बाटोको सहज पँहुचले मात्रै पनि यति धेरै परिवर्तन हुँदो रहेछ भन्ने कुरा अहिले आएर गाउँलेले पुरै अनुभूति गरेका छन् ।’
हुन पनि हो त्यहाँका ब्याँसी र भीरमा त्यसरी गाडी गुड्लान र त्यही गाडीमा आफू पनि चढ्न पाइएला भनेर त स्थानीयले कहिल्यै कल्पना गर्न सकेकै थिएनन् । अझ बाटोले सँगै लिएर आउने परिवर्तनको सपना देख्ने त परको कुरा भयो नै । अहिले त्यहाँका पिच सडकमा दैनिक कुद्ने सवारी साधनमा नै स्थानीयले आफ्नो सुन्दर भविष्य देख्न थालेका छन् । नेकपा एमाले रूकुम पूर्वका पूर्व अध्यक्ष अध्यक्ष टोपबहादुर ओली भन्छन्–“पिच सडकमा गुड्ने गाडीमा अहिले जनताले आफ्नो भविष्य खोज्न थालेका छन् र आशावादी पनि छन् ।”
दुर्गमका बस्तीमा खुशी दिने र भविष्य देखाउने मध्य पहाडी पुष्पलाल लोकमार्ग अहिले सबैको भरोसाको साथी बन्दैछ । बागलुङ पश्चिमको ढोरपाटन, निसी, बोहोरागाउँ, देवीस्थान, बुर्तिवाङ, भीमगिठे, ग्वालीचौर र रिघामा ‘छोरी ल्याउ, छोरी देउ’ चल्न थालेको छ । रूकुम र बागलुङको बिचमा घना जंगल भएको ठूलो डाँडो थियो । जहाँ मानिसहरूको सहज आवतजावत थिएन । तर मध्यपहाडी लोकमार्ग खुलेपछि गाडी चल्न थाले । मानिसहरू बागलुङतिर आउन थाले । त्यसपछि दुईतिरका समाज आपसमा घुलमिल हुन थाले । जसले मानिसहरूलाई कुटम्बेरी सम्बन्ध बनाउन सहज बनायो । राजमार्गले ल्याएको यो परिवर्तन देख्दा अचम्म लाग्छ ।
सडकले कतिपयका दुःख त हरण गरिदियो कतिपयका उस्तै छन् । रोजगारीको अभावमा वैधानिक र अवैधानिक बाटो भएर विदेश भासिनेहरू पनि रूकुम पश्चिम र रूकुम पूर्वमा उस्तै छन् । युवाहरू बैदेशिक रोजगारीतिर गएपछि महिला र वृद्धवृद्धाका काँधमा परिवार र समाजको जिम्मेवारी थपिएको छ । छोरा हुर्किएर पालो पाएका वृद्धहरू छोराहरू विदेश गएपछि फेरि हलोको अनौ समाउन विवश दृष्यहरू यी क्षेत्रमा देखिन्छ ।
मलामी र जन्तीमा युवा थोरै वृद्ध र महिलाको संख्या उल्लेख्य देखिन्छ । हामीलाई आशा छ, मध्यपहाडी लोकमार्गले ल्याउने समृद्धिले हाम्रो रूकुमको यो सामाजिक चित्र बदलिदिनेछ । हामी आशा गर्छौं यो लोकमार्गले यहाँका गाउँ रित्याउने गरी युवाहरूलाई शहर, मधेस र विदेश मात्र नओसारोस्, यहाँको उत्पादन, यहाँको सीप, यहाँको पर्यटनको पनि निर्यात गरोस् । जहाँबाट गाउँलेहरू गाउँमा आर्थिक समृद्धि हासिल गरून् ।
बागलुङ र रूकुमपूर्वका मानिसहरूलाई यही मार्गले व्यवसायमा पनि पार्टनर बनाइदिएको छ । बागलुङको निशीखोला र भूमे गाउँपालिकाका किसान र रूकुम पूर्वका केही पशुपालक किसान मिलेर भेडापालनका साझा खर्क निर्माण गर्न थालेका छन् । मध्यपहाडी राजमार्गमा गाडी चलेपछि भेडाको उन र मासु बिक्री गर्न समस्या रहेन । पूर्वी रूकुमको सबै र पश्चिम रूकुमको कनेक्टिभिटी मध्यपहाडी राजमार्गले कताबाट कता पुर्याइदियो ।
पहिला यहाँका बासिन्दा बजार भर्न दाङतिर झर्थे । सुविधाको खोजीमा बसाई सर्नेहरू नेपालगञ्ज, कोहलपुरतिर सर्थे । तर मध्यपहाडी पछि यी क्षेत्रको गन्तव्य स्थल नै बदलिएको छ । यहाँका मानिसको बजार अहिले बुटवल भइदियो । मध्यपहाड हुँदै गुल्मी, पाल्पा भएर बुटवल र भैरहवाका सामान गाउँगाउँ पुग्न थाले । मानिसहरू बिरामी हुँदा पोखरा झर्न थाले । बागलुङको बुर्तिवाङलाई दैनिक किनबेचको बजारको रूपमा मानिसहरूले विकास गरिरहेका छन् ।
गुल्मी, भैरहवा, पाल्पा, आदि ठाउँबाट आउन थाल्यो । रूकुमपूर्वका मानिस पहिला दाङ, नेपालगञ्ज, अब पोखरा, बुटवल, बुर्तिवाङ जान थाले । मुख्य बजार बुर्तिवाङलाई बनाउन थाले । अछामको मानिस बाजुरा, डोटी भएर धनगढी झर्थे । अछामका मानिसको सुर्खेत र राकम कर्णाली हुनथाल्यो ।
रूकुम पश्चिमको चौरजहारीबाट एउटा रात्रि बस दैनिक रूकुम पूर्व, बाग्लुङ, पोखरा हुँदै काठमाडौ चल्न थालेको छ । मध्यपहाडी आसपासका गाउँहरू पनि सडक विस्तारसँगै आम्दानीमा जोडिन थालेका छन् । यी गाउँबस्तीमा विकासको ढोका खुल्दैछ । आर्थिक अवस्थामा सुधार आउँदैछ र नागरिकमा आशाको दियो बलेको छ ।
हुन पनि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडीसम्मका नेपालीले पहाडी लोकमार्गको यात्रा गर्दा सिस्ने गाउँपालिकाको रूकुमकोटमा रहेको सुन्दर कमल ताल, मुसीकोटमा रहेको मुसी दरबार, रूकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने सानीभेरी र ठुलीभेरीको संगमस्थल रिम्ना दोभानको दृष्यावलोकन गर्न पाइन्छ ।
सिस्ने गाउँपालिकाका उप–प्रमुख एवं नेकपा एमाले रूकुम पूर्वका सचिव गोपाल रेउले भन्छन्–‘रूकुमकोटमा रहेको असाध्यै सुन्दर कमलतालका कारण एक छाक खाना खाने, बास बस्ने र फोटो खिच्ने अवस्था सिर्जना भएको छ । यसले आर्थिक उपार्जन पनि भएको छ । भविष्यमा पर्यटन विकास गर्ने अवसर सिर्जना भई यहाँको समृद्धिको ढोका खोल्ने ठुलो सम्भावना देखाएको छ ।’ बाउन्न पोखरी र त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिएको रूकुम जिल्लामा अग्ला टाकुरा मात्रै होइन टप्पा र सिङारूको मौलिक साँस्कृतिक सम्पति पनि प्रसिद्ध रहेको छ ।
मध्य पहाडी पुष्पलाल लोकमार्गले जिल्लाको मात्रै होइन, कर्णाली प्रदेशको समृद्धिको यात्रालाई पनि सँगै उजिल्याएको छ । यो प्रदेश देउडा संस्कृतिका साथै पर्यटकीय र आर्थिक विकासको सम्भावना बोकेको क्षेत्र हो । यस लोकमार्गले रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट र दैलेखलाई नागबेलीमा चिरेर हिंडेको छ ।
मध्यपहाडी लोकमार्गबाट प्रशस्त फाइदा लिन सकिने आधार रहेको अधिवक्ता रचना मल्ल भन्छिन्–‘मध्यपहाडी लोकमार्गले कर्णाली प्रदेशका लागि समृद्धिको ढोका खोलेर आएको छ । यसको भरपूर उपयोग गर्न सकियो भने कर्णाली प्रदेशलाई सुनको डल्लो बनाउन सकिन्छ ।’ मुख्य मुख्य ठाउँ पहिचान गरेर अवलोकन स्थल निर्माण गरेर यात्री अडिने मार्गको रूपमा यसलाई विकास गरेर लैजाने छलफल भैरहेको दैलेखका समाजसेवी रूद्र शाहीले बताए ।
उनी भन्छन्–‘मध्य पहाडी लोकमार्गले सबै क्षेत्रमा सम्भावना बोकेर आएको छ । हामी यसलाई उच्चतम उपयोग गरेर समृद्धिको यात्रामा लामबद्ध भएका छौं । अछामको सिमानामा पर्ने दैलेखको राकम नयाँ शहर बन्दैछ । जुन साविक कर्णालीको प्रवेशद्धार हो । यो बजारबाट भारतीय मालसामान चीनतर्फ र चीनियाँ मालसामान भारततर्फ आयात निर्यात हुनेछ ।’
(लेखक खलंगा बहुमुखी क्याम्पस पश्चिम रूकुममा प्राध्यापन गर्छन् ।)




