देवदह नगरपालिका वडा नम्बर ६ स्थित बुद्ध सामुदायिक वन उपभोक्ता समूहको लौकेश्वरमा मनपरी फालिएको फोहर व्यवस्थापन नभएपछि स्थानीय बासिन्दाको आक्रोश बढेको छ । पाँच वर्षदेखि देवदह नगरपालिकाले लौकेश्वरमा फोहर फाल्दै आए पनि व्यवस्थापनमा पटक्कै चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।
फोहरमैला व्यवस्थापनको जिम्मेवारी लिएको नगरपालिकाले बस्ती नजिकैको वन क्षेत्रमा मनपरी फोहर फाल्ने र व्यवस्थापनमा ध्यान नदिने गैरजिम्मेवार काम हो । मनपरी फोहर फाल्दा त्यसको दुर्गन्ध बस्तीसम्म पुगेको छ । फोहर व्यवस्थापन गर्न प्राथमिकता नहुनु स्थानीय तहको कमजोरी हो । बुटवल उप–महानगरपालिकाले लामो समयदेखि तिनाउ नदी किनारमा फोहर फाल्दै आएको छ । नदी किनारको फोहर बर्खामा बाढीले बगाएर बस्तीसम्म पु¥याउन थालेको छ । खुला रुपमा फालिएको फोहरको दुर्गन्धको असर बस्तीसम्म पुगेको छ ।
सिद्धार्थनगरपालिकाले लामो समयदेखि डण्डा नदी किनारमा फोहर फाल्दै आएको छ । नदी आसपासको बस्तीका बासिन्दाले पटक–पटक फोहर नफाल्न माग गर्दै आन्दोलन गर्दै आएका छन्, तर नगरपालिकाले विकल्प दिन सकेको छैन । नदीलाई सफा राख्दा पर्यावरणीय सन्तुलन कायम हुन्छ । नदीलाई जोगाउन सक्दा भावी पुस्ताका लागि न्याय हुन्छ भन्ने चेत खुल्न सकेको छैन । अझ वन क्षेत्रलाई डम्पिङ साइट बनाउनु अर्को गम्भीर त्रुटि हो । वनमा खुला फोहर फाल्दा त्यसले पार्ने असर पटक्कै ख्याल गरिएको छैन । नकुहिने फोहर र कुहिने फोहर छुट्टयाएर व्यवस्थापन गर्न नसकिने होइन । हरेक घरबाट कुहिने र नकुहिने फोहर छुट्टयाएर फरक–फरक दिन संकलन गर्ने हो भने व्यवस्थापन गर्न सजिलो हुन्छ । कुहिने फोहरबाट जैविक मल बनाउन सकिन्छ । नकुहिने प्लाष्टिकजन्य फोहरबाट पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाउन सकिन्छ । फोहर व्यवस्थापनको यो मोडलमा नगरपालिकाले सहकार्य गर्न सक्छन् ।
त्यसो त फोहरमैला व्यवस्थापनका लागि पटक्कै ध्यान नपुगेको पनि होइन । बुटवल उप–महानगरपालिकाले चरङ्गेमा आधुनिक खालको फोहरमैला प्रशोधन केन्द्र बनाउने गरी काम अघि बढेको थियो, तर स्थानीय बासिन्दाको अवरोधलाई व्यवस्थापन गर्नुको साटो उक्साउने प्रवृत्ति हावी हुँदा काम अघि बढ्न सकेन् । विकासका हरेक काममा भइरहेको राजनैतिकरण हुने प्रवृत्ति हावी छ । फोहरमैला व्यवस्थापन हुन नसक्नु यही प्रवृत्ति हावी हुँदा हो । फोहरमैला प्रशोधन गर्न सकिने भएकोले आधुनिक खालको प्रशोधन केन्द्र खोल्नका लागि अब ढिलाइ गर्न हुन्न । नदी किनार र वनमा फोहर फालेर वातावरणीय प्रदूषण बढाउने काम बन्द गरौं ।




