बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले भित्ते पात्रो २०८३ प्रकाशनसँगै नववर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संघका अध्यक्ष जिबकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त अवसरमा वक्ताहरूले संघको वर्तमान अवस्था, उद्योगका चुनौती र भावी रणनीतिबारे धारणा राखेका थिए। प्रमुख अतिथि
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक नरेशकुमार श्रेष्ठले संघले विगतमा महत्वपूर्ण काम गरे पनि वर्तमान चुनौती सामना गर्न एकता आवश्यक रहेको बताए । सल्लाहकार विष्णुकुमार श्रेष्ठले स्वदेशी उत्पादन संरक्षण र प्रवर्द्धनमा जोड दिए ।
सल्लाहकार माधव पौडेलले बढ्दो प्रतिस्पर्धा र लागत वृद्धि उद्योगका प्रमुख चुनौती भएको उल्लेख गरे । सल्लाहकार विष्णु पाण्डेले नीतिगत अस्पष्टता र कमजोर अनुगमनले उद्योग प्रभावित भइरहेको बताए ।
सल्लाहकार तेजप्रसाद पराजुलीले दक्ष जनशक्ति अभाव र कच्चा पदार्थको मूल्यवृद्धिले उत्पादनमा असर परेको धारणा राखे। संघका सल्लाहकार बोनिन पियाले उद्योगीबीच सहकार्य अपरिहार्य रहेको बताए।
अध्यक्ष जिवकान्त काफ्लेले संघका गतिविधिको समीक्षा गर्दै संस्थागत सुदृढीकरण, सदस्यता विस्तार तथा बजार व्यवस्थापनमा गरिएका प्रयासबारे जानकारी गराएका थिए । उनले अव्यवस्थित तथा गैरकानुनी व्यवसाय नियन्त्रण र उद्योगीको हक–हित संरक्षणमा संघ सक्रिय रहेको बताए ।
उनका अनुसार संघले तालिम, अन्तरक्रिया तथा बजार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा फर्निचर तथा फर्निसिङ्ग महोत्सव आयोजना, सीप विकास कार्यक्रम विस्तार, स्वदेशी उत्पादनको ब्रान्डिङ तथा सरकारी निकायसँग सहकार्यलाई सुदृढ बनाउने योजना रहेको छ।
कार्यक्रममा नववर्ष २०८३ ले उद्योगी व्यवसायीमा नयाँ ऊर्जा, उत्साह र सफलताको कामना व्यक्त गरिएको थियो। साथै, यस्ता कार्यक्रमले उद्योगीहरूबीच सहकार्य र समन्वय बढाउँदै आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको संयोजन सोनु गुप्ताले गरेका थिए। बरिस्ठ उपाध्यक्ष नेत्र रुचालको स्वागत तथा सचिव अनिरुद्र खनालको सञ्चालनमा कार्यक्रम भएको थियो।




