२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ट्रेड युनियन र जनवर्गीय संगठनहरूको खारेजीमा बालेन सरकार

ट्रेड युनियन र जनवर्गीय संगठनहरूको खारेजीमा बालेन सरकार

ट्रेड युनियन र जनवर्गीय संगठनहरूको खारेजीमा बालेन सरकार

ट्रेड युनियन र जनवर्गीय संगठनहरूको खारेजीमा बालेन सरकार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • भनिन्छ नयाँ साधुले धेरै खरानी घस्छ । यसको अर्थ हो खाटी साधु बनेको बहानाबाजी । ठीक यो राजनीतिमा पनि अर्थात् राजनीतिक नेताहरुमा पनि पाइन्छ । सुरुसुरुमा केकेन गरे जस्तो गर्ने दौडधुप, खाने बस्ने र सुत्ने पनि फुर्सद नभए जस्तो आदि गतिविधि देखाउने गरेको पाइन्छ । कोहीले त राम्रै काम पनि गर्ने गरेका छन् । जस्तो उदाहरण एमालेको ९ महिने शासनकाल अर्थात् मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेका केही सकारात्मक कामहरु । तर पछिका हरेक एमाले नेतृत्वको शासन कालहरुमा भने बाटो हिंड्दै छ पाइला भेट्दैछ भने जस्तै एमालेको अहिलेको ओली शासनकालमा आइपुग्दा हिजोका मनमोहन बीचका माधव, झलनाथ हुँदै अहिले एमालेको विजोक नै भएको छ  । यी सबै कुनै न कुनै अपराधमा मुछिने गरेका छन् । ठीक यस्तै फेरि माओवादी प्रचण्ड–बाबुराम र नारायणकाजीमा देखियो । पहिलो पटक सत्तामा पुगेपछि केकेन नेपाली सेनालाई लोकतान्त्रिकीकरण गराउन खोज्दा उल्टै प्रचण्ड सत्ताबाट अपदस्त हुनु प¥यो । तै पनि पछि यस्ता अनेक भ्रष्टाचारजन्य घटना प्रचण्ड मुछिएकै छन् । सम्पत्ति शुद्धीकरणमा देउवा, प्रचण्ड, बाबुराम आदि सबैलाई जाक्ने दाउमा प्रम बालेन रहेको बुझिएको छ ।


    अर्काे एउटा उदाहरण बाबुराम भट्टराईको लिउ । पहिलो पटक बाबुराम प्रधानमन्त्री बन्दा बित्तिकै मुस्ताङे जीप गाडीको प्रसंग ठूलो चर्चाको विषय बन्यो । अर्थात् बाबुराम प्रधानमन्त्री भएर पनि त्यसभन्दा पहिलेका प्रधानमन्त्रीहरुले जस्तै सरकारी महङ्गा लज्जारी गाडी उपयोग नगरी नेपालमै बनेको मुस्ताङ्गे जीपमा सयर गर्ने भनेर सबैलाई आश्चर्यचकित पारे । तर यो धेरै दिन टिकेन । खास कुरा त उक्त गाडीको प्रचार प्रसार विज्ञापन पो रहेछ । त्यस्तै अर्काे उनको सस्तो लोकप्रियताको नमूना हरेक महिना एक दुईदिन त्यस्तै गरिब निमुखा दलित समुदायहरुको घर दैलो जाने त्यही खानपिन गर्ने र बास बस्ने रह्यो । तर यो पनि धेरै टिकेन । राजधानीका केही सडक फराकिलो पारी हाइहाई भएका तत्कालीन प्रम बाबुराम अन्ततः ललिता निवास घोटला काण्डमा मुछिएर अख्तियारमा बयान दिई बसेका छन् । त्यस्तै अर्काे एउटा प्रसङ्ग नारायणकाजी गृहमन्त्री भई आएपछि कर्मचारी सबलार्ई कार्यालय समय पहिले दश मिनेट योगा अर्थात् ध्यान गर्न लगाए । यी सबै तत्काल देखाइएका सस्तो लोकप्रियता अर्थात् राजनीतिक स्टन थिए । यी कुनै पनि टिकाउ भएनन् । ढिलो चाँडोे यी सबै एकपछि अर्काे रुपमा यथास्थितिमै रमाउन पुगे ।


    अहिले फेरि अर्काे बालेन शाह नेतृत्वको रास्वपाको नयाँ सरकार बनेको छ । बनेकै दिनदेखि सरकारका सब मन्त्रीहरुलाई भ्याई नभ्याई रातदिनको दौडधुप यतिसम्मकि गृहमन्त्री सुदन गुरुङ्ग कार्यालय सोफामा पल्टी निदाएको फेसबुकमा देखाएको छ । मन्त्री हुनु त यस्तो पो ! विचरा ! रात दिन आफ्नो विस्तारमा सुत्न नभ्याए पछि के गरुन् ? अफिसकै सोफामा भए पनि सुत्नै प¥यो । तर यो पनि माथि भनिएका मन्त्रीहरुकै सिको अर्थात् सस्तो लोकप्रियता ‘स्टन’ जनतालाई देखाइएको यो दृश्य र त्यसबाट मिल्ने सहानुभूति नै होे । नत्र भने सुत्नै पर्ने भए आफ्नै निजी वा सरकारी निवासहरुमा सुते भइहाल्छ । सुदन गुरुङ्ग सांसद बनेको अनि मन्त्री भएको त्यसमा पनि अझ गृहमन्त्री नै भएकोमा धेरैलाई पत्यार नै भएको छैन । अरु दल र दल नेता, संघसंस्था व्यक्ति विशेषका त कुरै छोडौ स्वयं रास्वपाका नेता र  कार्यकर्ताहरुलाई पनि यो पचेको छैन । तै पनि मन्त्री नै भइसकेपछि पत्याउनै प¥यो मान्नै प¥यो । तर उनको स्वभाव मन्त्रीको जस्तो छैन । खाली स्वभाव अहिले उनको पनि एउटा टोले गुण्डाको जस्तो । उदाहरण सदनमा एमाले नेता रामबहादुर थापा बोल्दै गर्दा उनले देखाएको हाउभाउ, टीओबी भन्दा अझ आक्रोसित, चोरको खुट्टा काट्छु भन्दा खुट्टा ताने जस्तै ।


    बालेन सरकार बनेकैै दिनदेखि उनी र उनका मन्त्रीहरुले एउटा फिल्मी शैलीमा धमाधम विभिन्न काम कारबाही गरिरहेका छन् । पहिलो एक्सन पूर्व प्रम ओली र गृहमन्त्री लेखकलाई उनीहरुकै घरमा गई गिरफ्तार गर्न लगाइयो । त्यसपछि धमाधम अरुलाई पनि गिरफ्तार गरिंदैछ । तर यो ओली र लेखकको गिरफ्तारलाई अदालतले भने स्वीकारेन र रिहाई गर्न परमादेश जारी ग¥यो । त्यसैले पहिलो गाँसमा नै टुंगा भने जस्तै यो सरकारका प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ्गलाई भएको छ । नैतिकता भए गृहमन्त्रीले पदबाट राजीनामा गर्नुपर्ने  हुन्छ । अब यसमा प्रम बालेन र रास्वपा सभापति रवि लामिछानेले के गर्छन् र भन्छन् ? त्यो हेर्न बाँकी छ । 


    भनिन्छ, दश चोटी नाप अनि एक पटक काट । तर यो सरकारको गतिविधि ठीक उल्टो पहिले काट अनि बल्ल नाप । यस्ता अरु पनि थुप्रै निर्णय र घटना दोहोरिंदै छन् । देशको यति ठूलोे पद र त्यसको जिम्मेवारी लिएपछि त्यत्ति धेरै हतारिनु पर्ने वा प्रतिशोध र बदला अनि पूर्वाग्राही हुनुपर्ने केही थिएन । माथि भने जस्तै लामो सोधबुझ अर्थात् १० पटक नापी काटेको भए यो हुने नै थिएन । यो सब अल्लारेपन र प्रतिशोधको उपज नै भएको प्रष्ट छ । यसको प्रमाण पूर्व प्रजिअ छवि रिजालको गिरफ्तारी अनि केही घण्टामै छोडिदिनु तर ओली र लेखकलाई भने यसरी गिरफ्तार गरी थुनिराख्नु । अझ यही कार्की आयोगको रिपोर्टअनुसार पूर्व प्रहरी प्रमुखलाई त अहिलेसम्म कुनै सोधपुछ र गिरफ्तारी केही पनि नगरेबाट पनि प्रष्ट हुन्छ । 


    यो लोकतन्त्र हो ।  लोकतन्त्रमा कुनै पूर्वाग्रह, प्रतिशोध र बदलाको भावना हुँदैन । चित्त नबुझे खुल्ला आलोचना र विरोध हुन्छ । छलफल, विचार विमर्स आलोचना–आत्मलोचना र सहकार्य एकता हुन्छ । यो नगरी खाली प्र्रतिशोध र बदलाको भावना सामन्ती, निरंकुशताको उपज हो । सामन्तवाद व्यक्ति केन्द्रित व्यक्तिवाद पनि हो । यसमा कुनै सुझबुझ अघि  हेर्ने र बुझ्ने हुँदैन । आदेशका भरमा सब काम हुने गर्दछ । आज यो सरकार र यसका प्रधानमन्त्री बालेन साथै उनका केही आसेपासे नेता कार्यकर्ता र मन्त्री सबको गतिविधि यसैमा आधारित छ । सरकार बनेको लगत्तै यो सरकार र यसका दल नेताहरुले सय बुँदे आगामी कार्य–योजना अघि सारेको बताएका छन् । ती सबैको एकएक गरी यहाँ चर्चा गर्नु सम्भव छैन । विस्तारै ती सबको पनि चर्चा हुँदै जानेछ । अहिलेलाई यो सरकारले अब कार्यान्वयन गर्नै भनेका दुईवटा विषयमा केही चर्चा गरौं । 


    उक्त कार्ययोजना अनुसार अब नेपालमा पेशागत संगठन ट्रेड युनियन र विद्यार्र्थी संगठन स्ववियु आदि सबको खारेजी गर्ने भनिएको छ । यसको बारेमा एउटा जमात जुन २०४५÷०४६ सालको जनआन्दोलनपछि जन्मेर हुर्केको छ साथै हालको जनेजी जमातले यसको स्वागत गरिरहेको छ भने अर्काे जुन केही पुरानो पुस्ता छ, जसले यी संगठन निर्माणका लागि जुन बलिदान गरेर आयो त्यसले यसको विरोध गरिरहेको छ । स्वयं म पनि यी संगठन निर्माणका लागि ठूलो त्याग, तपस्या र बलिदान गर्दै आएकोले सरकारको यो कदमप्रति  घोर विरोध र निन्दा गर्न चाहान्छु । स्मरण रहोस् म पूर्व अनेरास्ववियु छैठौंको  निरंकुश र तानाशाही पञ्चायती शासनकालको केन्द्रीय अध्यक्ष रही लामो समयसम्म काम गरी आएको एउटा विद्यार्थी नेता हुँ । यस अर्थमा पनि यस प्रकारको निरंकुश कार्य योजनाको विरोध गर्नु मेरो कर्तव्य र दायित्व भएको स्वाभाविक छ । पञ्चायती निरंकुशता र शाही शासनसत्ता नै नभोगेकाहरुलाई त्यसको महत्व र आवश्यकताको के बोध ? न यिनीहरुलाई पुरानो इतिहासको ज्ञान छ न यिनीहरुलाई त्यस्ता संगठनकहरुको गतिविधि र आवश्यकताप्रति नै ख्याल छ । खाली अन्तर्राष्ट्रिय मिडिया फेसबुक र त्यसबाट सञ्चालित गतिविधिका आधारमा चल्नेहरुलाई त्यो भए भइहाल्यो । विश्व साम्राज्यवादहरुकै आधारमा सब सञ्चालित  हुने गरेको छ । दुनियाँ  संसार नै त्यही मात्र उनीहरुले बुझेका छन् । तर हरेक संगठन, युनियनको आ–आफ्नै गौरवमय इतिहास छ जसले यो देशको भविष्य निर्माणका लागि ठूलो महत्वपूर्ण योगदान छ । स्वयं विद्यार्थी युनियन र त्यसका नेता कार्यकर्ताहरुको त्यसप्रकारको तपस्या र बलिदान राणा शासन कालदेखिकै पुरानो इतिहास छ । जयन्तु संंस्कृतम् रानी पोखरीस्थित संस्कृत पाठशालाबाट उठेको त्यो विद्यार्थी आन्दोलनले त्यसबेला निरंकुश राणा शासकको सत्तालाई  हलाइदिएको गौरवमय पुरानो इतिहास छ । 


    यस्तै पञ्चायतीकालका विभिन्न विद्यार्थी आन्दोलनको साथमा २०३५।०३६ सालको संयुक्त विद्यार्थी आन्दोलनले निरविकल्प भनिएको पञ्चायती व्यवस्थालाई घुंडा टेकाई तत्काल राजा वीरेन्द्रलाई विकल्पमा बहुदल कि निर्दल के मान्ने २०३६ सालमा जनमत संग्रह नै गर्न बाध्य पारिएको थियो । त्यही विद्यार्थीहरुको आन्दोलनको जगमा पछि २०४५-२०४६ सालको संयुक्त संघर्षद्वारा पञ्चायती व्यवस्थालाई नै ढालेर संसदीय बहुदलीय व्यवस्थाको थालनी भएको थियो । त्यस्तै २०५२ सालबाट थालनी भएको १० वर्षे माओवादी जनयुद्ध र त्यसको जगमा थालनी भएको २०६२-०६३ सालको संयुक्त जनआन्दोलनले त निरंकुश ज्ञानेन्द्र शाही सत्तालाई ढालेर अहिले चालु यो संघीय गणतन्त्र नेपाल स्थापना भएको छ । तर आज यही गणतन्त्रको जगमा बसेर यही गणतन्त्रको स्थापना र यसको विकास र समृद्धिको लागि ठूलठूला योगदान पु¥याउँदै आएका यस्ता ट्रेड युनियन र संगठनहरु हटाउने वा प्रतिबन्ध लगाउने यो वर्तमान बालेन सरकारको निर्णयले आम देशभक्त जनवादी सबै पार्टी, युनियन र संगठनहरुप्रति ठूलो गद्दारी हुँदैछ । स्वयं वर्तमान संविधानकै खिलापमा यो छ । त्यसैले अन्त्यमा वर्तमान यो सरकारका यी सबै अलोकतान्त्रिक कदमको विरुद्ध सब एकजुट होऊ । पुनः देशलाई पञ्चायती महेन्द्र निरंकुशमा बदल्ने रास्वपा र बालेन सरकारप्रति अहिलेदेखि नै खबरदारी गर्दै हिजो भएका हरेक विद्यार्थी र ट्रेड युनियनको आन्दोलन र संघर्षको स्मरण गराउँदै सबै सचेत बनौं ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij