प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सिंहदरबारमा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गरेर सरकारको प्राथमिकता, चासो र छिमेकी तथा मित्रराष्ट्रसँगको सहकार्यबारे धारणा राखे । यो भेट यस कारण पनि महत्वपूर्ण रह्यो कि प्रायः प्रधानमन्त्री र मन्त्री पदमा नयाँ नियुक्तिसँगै व्यक्तिगत भेटघाटका लागि राजदूतको दौडधुप चल्थ्यो । अहिले परम्परालाई तोड्दै प्रधानमन्त्री साहले पहिलो पटक सामूहिक भेट गरे । उनको यो काम जति प्रशंसनीय छ, कुटनीतिक भेटघाटमा डे«स कोडलाई हेक्का नराखेर प्रधानमन्त्रीले आफूलाई फिक्का बनाएका छन् ।
कूटनीतिमा स–साना विषयको महत्वपूर्ण अर्थ हुन्छ । यो व्यक्तिगत विषयमात्रै हुन्न । मुलुकको पहिचान र प्रतिष्ठाको सवाल हुन्छ । भेटघाटमा प्रयोग हुने भाषा, बसाइ, व्यवस्थापन र पोशाक जस्ता विषयलाई अर्थपूर्ण लिइन्छ । विश्वभर नै राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूले विदेशी प्रतिनिधिहरूलाई भेट्दा कि त अन्तर्राष्ट्रिय औपचारिक सुट लगाउँछन्, कि देशको राष्ट्रिय पोशाक लगाउँछन् । प्रधानमन्त्री साह प्रायः कालो टिसर्ट र कोटमा देखिन्छन् । बुधबार भएको कुटनीतिक भेटघाटमा पनि यही पोशाकमा देखिए । यो औपचारिक भेटमा अनौपचारिक पोशाकले भेटघाटलाई खल्लो बनाएको छ । प्रधानमन्त्री साह स–सानो विषयलाई पनि ख्याल गरेर अघि बढ्ने गर्दछन्, कुटनीतिक भेटघाटमा किन औपचारिक पोशाक लगाउन ख्याल गरेनन् ? उनको सचिवालयले किन हेक्का राखेन् ?
औपचारिक पोशाकले आफ्नो पहिचान र प्रतिष्ठा झल्किने मात्रै नभएर पाहुनाको सम्मान पनि हो । औपचारिक पोशाकमा आएका विभिन्न देशका कुटनीतिक अधिकारीको सम्मानमा प्रधानमन्त्री किन चुके ? टिसर्ट र कोट प्रधानमन्त्रीको मनपर्ने पोशाक हुनसक्छ, तर यो अनौपचारिक पोशाक हो, प्रधानमन्त्री संसद बैठकमा पनि यही पोशाकमा गइरहेका छन् ।
कुटनीतिक अधिकारीसँग सामूहिक भेट गरेर जुन सन्देश प्रधानमन्त्रीले दिन खोजे, त्यो निकै महत्वपूर्ण सन्देश हो । तर ड्रेस कोडको ख्याल नगर्दा दिन खोजेको सन्देश फिक्का भएको छ । कुटनीतिक शिष्टाचारका दृष्टिले यो गम्भीर कमजोरी हो ।
प्रधानमन्त्री साहका अरु मान्छेका झैं कतिपय स्वभावगत समस्या छन् । उनी पोशाकमा अरुभन्दा भिन्दै देखिन खोज्छन् । आफूलाई लागेको कुरा र विषयप्रति आँखा चिम्लेर अघि बढ्छन् । उनलाई लागेको र मन परेको सबै विषय सही नहुन सक्छ । त्यसले सबै ठाउँ राम्रो र सकारात्मक सन्देश नदिन सक्छ । कुटनीतिक भेटघाटमा डे«स कोडमा ध्यान नदिएर प्रधानमन्त्रीले जुन गल्ती गरे, त्यो गल्ती आगामी दिनमा दोहो¥याउन हुन्न । प्रधानमन्त्रीको औपचारिक पोशाकले देशको पहिचान दिन्छ, मुलुकको प्रतिष्ठा र इज्जतको सवाल हो ।




