बुटवल निकै लामो इतिहास बोकेको क्षेत्र हो । साविकको लुम्बिनी अञ्चलको एकमात्रै व्यापारिक केन्द्रको रूपमा रहेको बटौली अर्थात् बुटवल क्षेत्रमा हुने हरेक कार्य अहिले आएर लुम्बिनी प्रदेश मात्रै होइन, देशभरनै अर्थ राख्ने गरी हुन थालेका छन् । बुटवल उप–महानगरपालिकाको विकास यात्राबारे चासो र चर्चा बढिरहेका बेला नगरप्रमुख खेलराज पाण्डेयसँग दैनिक लुम्बिनीका लागि आचार्य प्रदीपले कुराकानीहरू गरेका छन् । बुटवलको वर्तमान अवस्थादेखि भविष्यको दिशासम्मको बहसलाई समेटेका छन् ।
तपाईंको कार्यकाल अब अन्त्यतिर पुग्दैछ । यस अवधिमा बुटवलको विकासलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मूल्याङ्कन गर्दा हामीले सुरुमा लिएको दृष्टिकोण सम्झिनुपर्छ । हामीले कहिल्यै पनि देखावटी विकास गर्ने नीति लिएका थिएनौँ । बरू जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कामलाई प्राथमिकता दिने निर्णय गरेका थियौँ । त्यस अनुसार वडाबाट आएका सिफारिस, स्थानीय आवश्यकता र जनगुनासालाई आधार बनाएर योजना बनाइयो । आज धेरै ठाउँमा सडक स्तरीकरण भएको छ, नाली र कल्भर्ट निर्माणले वर्षायामको समस्या घटाएको छ, विद्यालयमा कक्षाकोठा थपिएका छन् र स्वास्थ्य सेवामा पहुँच विस्तार भएको छ । यी सबै कामहरू सायद प्रचारमा कम आएका होलान्, तर नागरिकको जीवनमा प्रत्यक्ष असर पारिरहेका छन् ।
शहर व्यवस्थापनमा प्रविधिको प्रयोगबारे तपाईंको अनुभव कस्तो रह्यो ?
हामीले बुटवललाई क्रमशः प्रविधिमैत्री शहर बनाउने प्रयास गरेका छौँ । “उज्यालो बुटवल” अभियान अन्तर्गत हाइ मास्ट लाइट जडान गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट राखिएको छ, सुरक्षाका लागि सिसी क्यामेरा विस्तार गरिएको छ र सूचना प्रवाहका लागि डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ । तर यथार्थ के हो भने, यी सबै काम स्थानीय तहले मात्र चाहेर पूर्ण रूपमा सफल हुँदैनन् । सडक विभागले समयमै सडक निर्माण र मार्किङ नगर्दा ट्राफिक लाइट सञ्चालनमा समस्या आएको छ । यसले समन्वयको अभाव कत्तिको गम्भीर छ भन्ने देखाउँछ ।
कतिपयले भन्छन् तपाईंको कार्यकालमा ठूला र देखिने संरचना कम बने । यसलाई तपाईं कसरी लिनुहुन्छ ?
त्यो आलोचना मैले सुनेको छु । तर म त्यसलाई फरक रूपमा बुझ्छु । लोकप्रिय बन्नका लागि ठूला भवन बनाउनु सजिलो हुन्छ, तर त्यो दिगो विकास होइन । हामीले प्राथमिकता दिएको कुरा आधारभूत संरचना हो । जबसम्म नाली व्यवस्थित हुँदैन, सडक राम्रो हुँदैन, खानेपानी र सिँचाइको व्यवस्था मिल्दैन, तबसम्म शहरको विकासको आधार बलियो हुँदैन । त्यसैले हामीले “आधार निर्माण” मा ध्यान दिएका हौँ, न कि केवल देखिने संरचनामा ।
वास्तवमा नै के–के भए त पूर्वाधार विकासतर्फका काम ?
बुटवल उप–महानगरपालिकाले पछिल्ला केही वर्षमा पूर्वाधार विकासमा अभूतपूर्व प्रगति हासिल गरेको छ । सडक, खानेपानी, विद्युत्, सार्वजनिक भवन र शहरी सौन्दर्यीकरणका क्षेत्रमा व्यापक काम अघि बढाइएको छ । मुख्य सडकहरूमा पिच, ग्राभेल, इन्टरलक टायल र नाली निर्माण गरी यातायातमैत्री वातावरण सिर्जना गरिएको छ भने हाइमास्ट लाइट जडान र विद्युत् लाइन विस्तारमार्फत् रात्रिकालीन उज्यालोपन सुनिश्चित गरिएको छ । यससँगै नगरभित्रका वडाहरूमा वडा कार्यालय, स्वास्थ्य केन्द्र, आधारभूत विद्यालय र मठमन्दिरहरूको निर्माण तथा मर्मतसम्भार सम्पन्न गरिएको छ ।
नगरपालिकाले ७० किलोमिटर सडक पक्की, ४० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर नाली निर्माण र १८ किलोमिटर खानेपानी पाइपलाइन विस्तार जस्ता ठूला परियोजनाहरू पूरा गर्दै शहरको आधारभूत पूर्वाधार मजबुत बनाएको छ ।विद्यालयहरूको भौतिक पूर्वाधारमा नयाँ भवन, कम्प्युटर सुविधा, आइसिटी ल्याब र विद्यार्थीहरूको आवश्यकताअनुसार फर्निचर र ड्रेस वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा पनि बुटवल उपमहानगरपालिकाले १८ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्दै न्यूनतम स्वास्थ्य सेवा आम बुटवलबासीसम्म पुर्याएको छ ।
सडक र यातायात व्यवस्थापन, बसपार्क र सार्वजनिक स्थलहरूको सुधार, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र पर्यटन प्रवद्र्धनको काम पनि अघि बढाइरहेको छ । बुटवललाई आधुनिक, व्यवस्थित र व्यवसायमैत्री शहर बनाउन हाटबजार, औद्योगिक क्षेत्र र कृषि–व्यावसायिक केन्द्रहरू निर्माणमा विशेष ध्यान दिइएको छ ।
यसैगरी, सुकुम्बासी र अव्यवस्थित बसोबासको नापजाँच, सुरक्षित स्थलमा बसाइसराइ र नगरभित्र हरियाली पार्क, सामुदायिक वन र रात्रिकालीन रोशन शहर बनाउने योजना पनि लागू भइरहेका छन् । यस समग्र विकासमा नगरपालिकाले ठूलो बजेटको प्रयोग गर्दै २०८१/०८२ सम्म हजारौं योजना सम्पन्न गरेको छ र नयाँ परियोजनाहरूको लागि बजेट सुनिश्चित गर्दै निरन्तर काम गरिरहेको छ । बुटवलको यो व्यापक पूर्वाधार विकासले शहरलाई मात्र नभई यहाँ बस्ने बासिन्दालाई पनि प्रत्यक्ष लाभ पुर्याइरहेको छ । सडक, प्रकाश, स्वास्थ्य, शिक्षा, सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माणको संयोजनले बुटवललाई आधुनिक र दिगो विकासको नमुना बनाउँदै भविष्यतर्फ अग्रसर गराएको छ ।
सडक र शहरी विकासको दीर्घकालीन योजना के छ ?
अबको बुटवललाई हामीले केवल सवारीसाधनमैत्री होइन, मानवमैत्री शहरका रूपमा विकास गर्नुपर्छ भन्ने सोच राखेका छौँ । त्यसैले अहिले निर्माण भइरहेका सडकहरूमा फुटपाथ, स्ट्रिटलाइट र सुरक्षित आवागमनका प्रावधान अनिवार्य गरिएका छन् । बेलवास– बेथरी सडकका लागि संघीय सरकारबाट बजेट आएको छ र सेमदार कृषि केन्द्रको काम पनि अघि बढिरहेको छ । हामीले बुटवल–नुवाकोट सडकमा साइकल लेन बनाउने योजना पनि अघि सारेका थियौँ, तर बजेट अभावका कारण त्यो रोकिएको छ । समग्र रूपमा हेर्दा बुटवललाई व्यवस्थित शहर बनाउन ठूलो लगानी आवश्यक छ, तर संघीय र प्रदेश सरकारसँग समन्वयको अभावले धेरै काम प्रभावित भएका छन् ।
तपाईंहरूले अपनाएको साझेदारी मोडल कत्तिको प्रभावकारी रह्यो ?
सार्वजनिक निजी साझेदारी ४ पि मोडल हाम्रो लागि बाध्यता पनि हो र आवश्यकता पनि । सार्वजनिक, निजी र जनसहभागिता बिना विकास सम्भव छैन । तर हाम्रो समाजमा अझै पनि “सरकारले सबै गर्छ” भन्ने सोंच बलियो छ । मानिसहरूले घरअगाडि फोहोर राख्छन् र नगरपालिकालाई दोष दिन्छन्, तर आफैँ डस्टबिनसम्म लैजान चाहँदैनन् । हामीले नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ, तर दीर्घकालीन समाधानका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य छ ।
सडक अतिक्रमण र जथाभावी पार्किङ्जस्ता समस्यालाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
यो समस्या बुटवलमा मात्र होइन, धेरै शहरमा छ । तर अब हामी कडा रूपमा प्रस्तुत हुने तयारीमा छौँ । सडक पेटीमा व्यापार गर्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई नियन्त्रण गरिनेछ । नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिनेछ । साथै, यस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई प्रोत्साहन दिने योजना पनि बनाइएको छ । यसले शहर व्यवस्थापनमा जनताको सहभागिता बढाउने विश्वास लिएका छौँ ।
संघीय सरकारले निर्माण गरेका संरचनाहरूको उपयोग किन हुन सकेको छैन ?
यो हाम्रो ठूलो गुनासोको विषय हो । स्थानीय सरकारलाई जिम्मेवारी नदिँदा ती संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । यदि ती संरचना स्थानीय तहलाई हस्तान्तरण गरिए भने हामीले आवश्यक कार्यविधि बनाएर सञ्चालन गर्न सक्छौँ । तर अहिले केन्द्रमा नियन्त्रण राख्ने प्रवृत्तिले समस्या सिर्जना गरेको छ । विकासका लागि समन्वय आवश्यक हुन्छ, नियन्त्रण होइन ।
बजेट व्यवस्थापनमा कस्ता चुनौती छन् ?
हाम्रो बजेटको ठूलो हिस्सा पूर्वाधार र मानव विकासमा खर्च हुन्छ । तर त्यसको उल्लेख्य भाग कर्मचारीको तलब र सामाजिक सुरक्षामा जान्छ । त्यसैले विकासका लागि छुट्याउन सकिने रकम सीमित हुन्छ । शिक्षा क्षेत्रमा गरिएको लगानी सकारात्मक पक्ष हो, तर समग्र विकासका लागि अझै स्रोतको आवश्यकता छ ।
अन्त्यमा, बुटवलवासीका लागि तपाईंको सन्देश के छ ?
बुटवललाई राम्रो शहर बनाउने जिम्मेवारी केवल जनप्रतिनिधिको होइन । यो सबैको साझा दायित्व हो । नागरिक जिम्मेवार भए, निजी क्षेत्रले साथ दियो र सरकारबीच समन्वय भयो भने बुटवललाई देशकै नमूना शहर बनाउन सकिन्छ। हामीले प्रयास गरिरहेका छौँ, तर यसको सफलताका लागि सबैको साथ आवश्यक छ ।




