२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्वाधार विकासमा लम्कदै चन्द्रकोट

पूर्वाधार विकासमा लम्कदै चन्द्रकोट

पूर्वाधार विकासमा लम्कदै चन्द्रकोट

पूर्वाधार विकासमा लम्कदै चन्द्रकोट

पूर्वाधार विकासमा लम्कदै चन्द्रकोट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • गुल्मी  । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा प्रशासनिक संरचना र आधारभूत पूर्वाधार विकासलाई तीव्रता दिएको छ । स्थानीय तह पुनर्संरचनापश्चात् आफ्नै संरचनामा सेवा प्रवाह गर्ने लक्ष्य लिएको पालिकाले अहिले प्रशासनिक भवन निर्माणदेखि वडा कार्यालय, अस्पताल सञ्चालन र विद्युतीकरणसम्मका कामलाई प्राथमिकतामा राखेको छ ।

    गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री भने– “हामी आइसकेपछि वडा नम्बर १ को भवन निर्माण गर्यौं । यसै वर्ष वडा नम्बर २ र ५ का भवन निर्माण सम्पन्न भइसकेका छन् । अब यही वर्ष र आगामी वर्षभित्र वडा नम्बर ३ र ४ का कार्यालय पनि सम्पन्न गर्ने तयारीमा छौं ।”

    स्थानीय सरकार सञ्चालन ऐनले वडा तहलाई नै सेवा प्रवाहको आधार बनाएको छ । तर धेरै पालिकाहरू अझै भाडाका घर वा अस्थायी संरचनाबाट सेवा दिइरहेका छन् । चन्द्रकोटले भने आफ्नै स्थायी संरचनाबाट सेवा दिने लक्ष्य लिएको छ । अध्यक्ष क्षेत्री भन्छन्‌–“वडा कार्यालयहरू सम्पन्न भएपछि हाम्रा सबै प्रशासनिक र वडासम्बन्धी कार्यहरू आफ्नै भवनबाट सञ्चालन हुनेछन् । यसले सेवा प्रवाह छिटो, व्यवस्थित र प्रभावकारी हुन्छ ।”

    पालिकाको मुख्य प्रशासनिक भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । अघिल्लो कार्यपालिकाको अन्तिम वर्षमा ठेक्का टेन्डर भएको यो आयोजना अहिले सम्पन्न हुने चरणमा रहेको छ । सम्भवतः चालु आर्थिक वर्षभित्रै गाउँपालिका आफ्नै प्रशासनिक भवनबाट सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसले भाडा खर्च घटाउने मात्र होइन, स्थानीय सरकारको संस्थागत पहिचान र स्थायित्वलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ ।

    आधारभूत अस्पतालः सेवा विस्तारको अर्को पाइला
    नेपाल सरकारले सुरु गरेका १५ आधारभूत अस्पतालमध्ये समयमै सम्पन्न हुनेमध्ये चन्द्रकोटको अस्पताल पनि एक रहेको अध्यक्ष क्षेत्री बताउँछन् । “हामीले अस्पतालको भित्री र बाहिरी व्यवस्थापनमा करिब एक वर्ष समय खर्च गर्‍यौं,” उनी भन्छन्‌–“गत असोज २९ गतेदेखि अस्पताललाई करिब पूर्णरूपमा सञ्चालनमा ल्याएका छौं ।”

    अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा अन्य सहर धाउनुपर्ने बाध्यता घटेको छ । आधारभूत स्वास्थ्य सेवा, सुरक्षित प्रसूति, ल्याब सेवा र नियमित उपचार अब स्थानीयस्तरमै उपलब्ध हुन थालेका छन् । स्थानीयका अनुसार, अस्पताल सञ्चालनले समय, खर्च र जोखिम तीनै पक्षमा राहत दिएको छ ।

    ‘उज्यालो पालिका’ घोषणा गर्ने तयारी
    चन्द्रकोटले विद्युत् पहुँच विस्तारमा पनि उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ । अध्यक्ष क्षेत्रीका अनुसार गाउँपालिका ‘उज्यालो पालिका’ घोषणा गर्ने अन्तिम चरणमा पुगेको छ । “नागरिकलाई प्रत्यक्ष राहत दिने हिसाबले हामीले विपन्न नागरिकका लागि विद्युत् मिटर निःशुल्क बनाएका छौं ।”– उनी भन्छन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समूहसँगको साझेदारीमा गाउँपालिकाले सबै घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने अभियान सञ्चालन गरेको छ । यसले ग्रामीण जीवनशैलीमा परिवर्तन ल्याएको छ–शिक्षा, साना उद्योग, कृषि प्रशोधन र घरायसी काममा सहजता बढेको छ ।

    विद्युतीकरणलाई स्थानीय सरकारले सामाजिक न्यायसँग जोडेर हेरेको देखिन्छ । विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क मिटर वितरण गरिएको छ, जसले ऊर्जा पहुँचलाई आधारभूत अधिकारका रूपमा स्थापित गर्ने प्रयास गरेको छ ।

    घट्दो विद्यार्थी संख्या र सामुदायिक क्याम्पसको चुनौती
    पूर्वाधार विकाससँगै शिक्षा क्षेत्र पनि चन्द्रकोटको प्राथमिकतामा परेको छ । तर विद्यार्थी संख्या घट्दै जानु र स्रोत सीमित हुनु चुनौती बनेको अध्यक्ष क्षेत्री स्वीकार गर्छन् । “संघ सरकारसँग समन्वय गरेर साझेदारी नीति ल्याउनुपर्ने आवश्यकता छ,” उनी भन्छन्‌–“सामुदायिक क्याम्पसमा गरिएको लगानीलाई महालेखाले पटक–पटक बेरूजु देखाउँदा हामीलाई अप्ठ्यारो भइरहेको छ ।”

    स्थानीय तहले शिक्षा क्षेत्रमा लगानी गर्दा कानुनी स्पष्टता र नीति समन्वय आवश्यक रहेको उनको धारणा छ । विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय समायोजन, स्रोत व्यवस्थापन र गुणस्तरीय शिक्षाको सुनिश्चितता चुनौतीका रूपमा देखिएको छ ।


    संस्थागत सुदृढीकरणतर्फ अघि बढ्दै
    समग्रमा चन्द्रकोट गाउँपालिका प्रशासनिक संरचना, स्वास्थ्य सेवा, ऊर्जा पहुँच र शिक्षा क्षेत्रमा संस्थागत सुदृढीकरणतर्फ अघि बढिरहेको देखिन्छ ।  आफ्नै भवनबाट सेवा सञ्चालन, समयमै अस्पताल सम्पन्न, ‘उज्यालो पालिका’ घोषणा र शिक्षा नीतिमा समन्वयको माग–यी सबै प्रयासले स्थानीय सरकारको दीर्घकालीन सोंच झल्काउँछन् ।

    अब चुनौती भनेको निर्माण सम्पन्न परियोजनालाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्नु, सेवा गुणस्तर कायम राख्नु र सीमित स्रोतको सदुपयोग गर्नु हो । अध्यक्ष युवराज खत्री क्षेत्रीको दाबीअनुसार, “हामी संरचना मात्र बनाइरहेका छैनौं, हामी सेवा प्रणाली बलियो बनाइरहेका छौं ।” चन्द्रकोटको विकास यात्रा अब संरचनाबाट सेवा प्रभावकारितातर्फ मोडिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij