कृष्ण पोखरेल- पाल्पा ।
तानसेन नगरपालिका पाल्पा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । संघीयता आइसकेपछि तानसेन नगरपालिकाभित्र विभिन्न विषयमा प्रशस्त मात्रामा भौतिक पूर्वाधारका क्षेत्रमा विकास भएका छन् ।
सडक पूर्वाधार
तानसेन नगरपालिकाभित्र बजार क्षेत्रका वडा नं. १ गैरागाउँ, मिशन अस्पताल क्षेत्र, वडा नं. २ को मेहलधारा, नारायाणस्थान, अशनटोल, वडा नं. ३ को टक्सार, भगवतीटोल, वसन्तपुर क्षेत्र, वडा नं. ४ को मखनटोल, विशालबजार, सिल्खानटोल क्षेत्र, वडा नं. ५ को कैलाशनगर बतासे क्षेत्र, वडा नं. ६ को भिमसेनटोल बसपार्क बर्तुङ क्षेत्र, वडा नं. ७ को काजिपौवा क्षेत्रका मुख्य सडकदेखि भित्री सडकहरु पिच, कालेपत्रे तथा ढलाइ भएका छन् ।
तानसेन नगरपालिकाले एक वडा एक किलोमिटर पिच कार्यक्रम सञ्चालन गरी १४ वटा वडाहरूमध्ये २, ३, ४ बाहेक ११ वटा वडाहरूमा पिचको काम गरेको छ । एक वडा एक किलोमिटर सडक कालोपत्रेले नगर ग्रामीण वडाहरुका पनि नगरपालिकाको महशुस गराएको छ । पछिल्लो समय नगरपालिकाभित्र गुफाचौर, डुम्रे, सुनडाँडा र तेल्घा सडक खण्डमा गरी करिब १० किलोमिटर सडक कालोपत्रे भएको तानसेन नगरपालिकानगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
विश्व बैंकको सहयोगमा संघीय सरकारमार्फत् प्राप्त अनुदानमा डुम्रे, सुनडाँडा, तेल्घा गुफाचौर, बडहरे र हुलाङ्दी सडकअन्तर्गत ६.७० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । अवस्थाअनुसार आरसीसी ढलान, कभर्ट पुल, कजवेहरु निर्माण भएका छन् । तानसेन नगरपालिकाभित्रका धेरै सडकहरूको सुधार तथा स्तरउन्नतिका कामहरु भएका छन् ।
प्रमुख प्रशासकीय तथा वडा कार्यालय पूर्वाधार
तानसेन नगरपालिकाको टँुडिखेल क्षेत्रमा रहेको प्रमुख प्रशासकीय भवनलाई स्तरउन्नति गरी तला थप्ने, ट्रस निर्माण, योजना तथा प्राविधिकहरुको लागि छुट्टै भवन निर्माण गरी कार्य सञ्चालन भएको छ । वडा नं. १, २, ३, ४, ५, ९, ११ र १२ का वडा कार्यालय भवनहरू निर्माण भई सेवा सञ्चालनमा रहेका छन् । वडा नं. ९ दमकडामा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको छ । वडा नं. ७ मा रहेको शीतभण्डार २०६४ सालदेखि निर्माणाधीन रहेकोमा हाल अन्तिम चरणमा पुगेको छ । वडा नं. ५ वनदेवी क्षेत्रमा आधुनिक सेवा सुविधासहितको नयाँ हरित बसपार्क निर्माणाधीन रहेको छ । यो बसपार्क यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी विभिन्न पूर्वाधारका कामहरु भइरहेको नगर उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।
खेलमैदान पूर्वाधार
तानसेन नगरपालिको आगनको रुपमा रहेको महत्वपूर्ण स्थान टँुडिखेल मैदानलाई स्तरउन्नति भएको छ । टँुडिखेलको वरिपरि नियमित रुपमा घुमफिरको लागि सडक निर्माण गरिएको छ । टँुडिखेलको पश्चिमतर्फ विभिन्न किसिमका कार्यक्रमहरुको लागि मञ्च निर्माण भएको छ । खेल खेल्नको लागि टँुडिखेलभित्र बरमुण्डा दुवो रोपण गरिएको छ । उत्तर पश्चिम क्षेत्रमा विभिन्न किसिमका प्रतिक्षालयहरु निर्माण भएका छन् । वडा नं. ६ को बाघ खोरमा खेल मैदानको डीपीआर तयार गरी पहिलो चरणको काम भएको छ । ग्रामीण क्षेत्रका अन्य वडामा वडास्तरीय खेलमैदानहरु निर्माण भएका छन् ।
ढलका पूर्वाधार
तानसेन पहाडी शहर भएकोले खुला ढललाइलाई व्यवस्थित गरिएको छ । परम्परागत खोल्साखोल्सीबाट बग्दै आएका ढलहरूलाई आरसीसी ढलान गरी व्यवस्थित गरिएको छ । नारायणस्थानदेखि तिनधाराको परम्परागत ढल, हुलाङ्दीदेखि बागबानीको परम्परागत ढल र वडा नं. ४ को पोडे खोल्साको ढललाई व्यवस्थित आरसीसी ढलान गरी सुरक्षित प्रदूषणमुक्त बनाइएको तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । वसन्तपुर क्षेत्र, मिसन क्षेत्र, बारुदखान क्षेत्रमा व्यवस्थित ढलान निर्माण भएका छन् ।
शिक्षा पूर्वाधार
तानसेन नगरपालिकाभित्रका अधिकांश विद्यालयहरु आरसीसी भवनमा कक्षाकोठा सञ्चालनमा रहेका छन् । विद्यालयको मागअनुसार आवश्यकताको आधारमा कक्षाकोठा थप्न पालिकाले रकम विनियोजन गर्दै आएको छ ।
स्वास्थ्य पूर्वाधार
तानसेन नगरपालिकाले बजार क्षेत्रका वडा नं. ६ मा भवन निर्माण गरी सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । वडा नं. ८, ९, १०, ११, १२, १३ र १४ मा पुनः समायोजन भएका वडाहरु भएकोले उक्त वडामा स्वास्थ्यचौकी भवनहरु निर्माण गरी स्वास्थ्य सेवा सञ्चालनमा आएका छन् ।
खानेपानी र सिँचाइ पूर्वाधार
अर्गली, छेरलुङ, माडी फाँट, प्रभास, बाँसटारी क्षेत्रमा सिँचाइको लागि पक्की कुलो निर्माण भएका छन् । उपभोक्त समितिमार्फत् खानेपानीका ट्याङ्कीहरु निर्माण भएका छन् । वडा नं. ७ को कुनसेरेमा औद्योगिक ग्रामको डीपीआर तयार भइ पहिलो चरणको काम सकिएको छ । थप कामको लागि थप बजेट संघीय मन्त्रालयमा माग गरिएको छ ।




