बुटवल । विश्वप्रसिद्ध कम्पनी सुजुकी मोटर कर्पोरेसनले इन्धन गाडीलाई विद्युतीय प्रणालीसँग संयोजन गर्ने हाइब्रिड प्रविधिबारे रुपन्देहीका व्यवसायी, प्राविधिक तथा मजदुरलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुनुका साथै दीर्घकालीन रूपमा यसको खपत घटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्सका सञ्चालक भूमी सापकोटाले जानकारी दिए।
सरकारले पनि हाइब्रिड प्रणालीका लागि तयारी गरिरहेको सन्दर्भमा यसको राम्रो सम्भावना र प्रयोग सहज बन्दै गएको उनले बताए। नयाँ प्रविधिसँग अद्यावधिक गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सापकोटाले स्पष्ट पारे।
हाइब्रिड सवारीसाधनले इन्धन खपत घटाउने, वातावरणीय प्रदूषण कम गर्ने तथा दीर्घकालीन रूपमा खर्च बचत गर्ने बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले बताए।
नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराईले अटो क्षेत्रमा अहिलेको आवश्यकता हाइब्रिड सवारी नै रहेको उल्लेख गरे। केन्द्रिय रूपमा आवश्यक तयारी भइरहेको अवस्थामा सुजुकीको यस्तो पहल प्रशंसनीय रहेको उनको भनाइ थियो।
“सीआरओ/पीजी मिट एण्ड ट्रेनिङ” नाम दिइएको उक्त कार्यक्रममा कम्पनीले आफ्ना डिलरमार्फत सहभागीलाई हाइब्रिड प्रणालीको कार्यप्रणाली, प्रयोग र फाइदाबारे जानकारी गराएको थियो। सुजुकीका ट्रेनिङ म्यानेजर बिमल यादवले परम्परागत इन्धन गाडीलाई क्रमशः विद्युतीय प्रविधिसँग जोड्दै लैजाने कम्पनीको योजना प्रस्तुत गरे।
नेशनल पार्ट्स म्यानेजर बलराम गौतमले सुजुकीका जेन्युन पार्ट्स के–के हुन्, कसरी चिन्ने र कुन पार्ट्सको काम के हो भन्ने विषयमा जानकारी दिएका थिए।
मुक्तिनाथ अटोमोटिभ ट्रेडर्सका प्रबन्ध निर्देशक श्यामप्रसाद सापकोटाको स्वागत तथा अजय तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
सन् १९०९ मा जापानमा स्थापना भएको सुजुकी प्रारम्भमा बुनाइ (लूम) मेसिन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित थियो। पछि मोटरसाइकल र सवारीसाधन उत्पादनतर्फ विस्तार हुँदै विश्वकै प्रमुख अटोमोबाइल कम्पनीका रूपमा स्थापित भएको हो।
हाल सुजुकीले मोटरसाइकल, साना तथा मध्यम श्रेणीका कार, एसयूभी, हाइब्रिड तथा विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको छ। विश्व बजारमा कम्पनीका उत्पादन विश्वसनीयता, इन्धन दक्षता र किफायती मूल्यका कारण लोकप्रिय मानिन्छन्।
नेपालमा पनि सुजुकीका विभिन्न मोडलका मोटरसाइकल तथा कार व्यापक प्रयोगमा रहेका छन्। पछिल्लो समय विद्युतीय र हाइब्रिड प्रविधितर्फ बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना सेवा तथा प्रविधिलाई थप सुदृढ बनाउँदै लैजाने लक्ष्य लिएको बताइएको छ।




