बिन्दु भट्टराई - तिलोत्तमा ।
तिलोत्तमा–१, प्रगति टोलकी हुमा पन्थ ‘गौरी ब्युटी पार्लर’ की सञ्चालक हुन् । ब्युटी पार्लरमा काम गर्ने रहर बोकेकी गौरीलाई आफू नै पार्लरको सञ्चालक बन्छु भन्ने लागेको थिएन । तर, २०८० सालमा तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सीप विकास तालिमअन्तर्गतको ब्राइडल मेकअप तालिमले उनलाई पार्लर सञ्चालक बनायो ।
तालिम लिएलगत्तै उनले आफ्नै घरमा पार्लर सञ्चालन गरेकी छन् । ‘रहर पनि पूरा हुने, सानो भएकोले बाबु पनि हुर्किने, दुई–चार पैसा कमाइ पनि हुने, निकै आनन्द छ ।’– हुमाले पार्लर सञ्चालनको सन्तुष्टी सुनाइन् । उनका श्रीमान कामको सिलसिलामा भारतमा छन् । उनी एक्लै घर र व्यवसाय सम्हालिरहेकी छन् ।
पहिले केही समय श्रीमानसँग भारतमा बस्दा पार्लरसम्बन्धी अनुभव भए पनि नगरपालिकाले दिएको तालिमपछि मात्रै व्यवसाय गर्ने आत्मविश्वास बढेको उनी बताउँछिन् । नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा सञ्चालन गरेको उक्त तालिममा १३ जना महिला सहभागी थिए ।
यसै वर्ष नगरपालिकाले २७ जनालाई झोला बनाउने तालिम, २० जना दलित युवायुवतीका लागि एड्भान्स बारिस्टा तालिम, २१ जनालाई जुत्ता–चप्पल एड्भान्स तालिम, ५ जनालाई कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ तालिम र २५ जनालाई फेसन डिजाइनर तालिम गरी ९१ जनालाई सीप विकास तालिम प्रदान गरेको थियो ।
तिलोत्तमा–११, चौकीडाँडाकी अम्बिका थापा खड्का सोही वर्षको फेसन डिजाइनर एड्भान्स तालिमकी सहभागी हुन् । उनका श्रीमानको दुर्घटनामा मृत्यु भएको थियो । उक्त घटनापछि मानसिक तनावमा रहेकी उनलाई तनाव कम होस् भन्ने उद्देश्यले घरपरिवारले नगरपालिकाद्वारा सञ्चालित तालिममा पठाएका थिए । भर्खरको घाउजस्तो पीडाका कारण सुरुमा उनी समय कटाउने सोचले मात्रै तालिममा सहभागी भएकी थिइन् ।
तर समय बित्दै जाँदा अन्य दिदीबहिनीको काम देख्दै जाँदा सिकाइप्रति उनको उत्साह बढ्दै गयो । अहिले अम्बिका आफ्नै घरमा सिलाइ–कटाइको काम गर्छिन् । ‘अन्य दिदीबहिनीले जस्तो बाहिर पसल खोल्न सकेकी छैन, तर घरखर्च भने राम्रै चलेको छ ।’– उनी भन्छिन् । कैंची समात्न पनि नजानेकी खड्का अहिले धेरैका लुगा सिलाएर सन्तुष्टि लिँदै दङ्ग छिन् । नगरपालिकाले सञ्चालन गरेको तालिमले आफ्नो दैनिकी बदलिएको उनको भनाइ छ ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१-८२ मा ३० जनालाई बारिस्टा तालिम प्रदान गरेको छ । जसमध्ये २ जना मात्र यस तालिमबाट आयआर्जनमा आबद्ध भएका छन् । यस वर्ष १८ जनाले मोन्टेसरी तालिम लिएका छन् । यसैगरी युनिसेक्स हेयर कटिङ (१५ जना), बारटेन्डर तालिम (१० जना) र प्रोफेसनल तालिममा सहभागी १५ जनामध्ये ४ जना व्यवसायमा आबद्ध छन् ।
हेयर कटिङ तथा नेल एक्सटेन्सन तालिममा १५ जनाले सहभागिता जनाएका थिए । त्यस्तै एड्भान्स ब्युटी पार्लर तालिम २१ जनालाई प्रदान गरिएकोमा ११ जना व्यवसायमा आबद्ध भई राम्रो आम्दानी गरिरहेका छन् । फेसन डिजाइनर एड्भान्स तालिममा २६ जना सहभागी थिए । ‘महिलासँग उपप्रमुख’ कार्यक्रमअन्तर्गत ५ लाख रुपैयाँ बराबरको प्रोफेसनल अकाउन्टिङ तालिम २२ जनालाई प्रदान गरिएको थियो ।
त्यस्तै ५ लाख रुपैयाँ बराबरकै कम्प्युटर अपरेटर तालिम २२ जनालाई, फेसन डिजाइनको एड्भान्स तालिम (६५ दिने) ५ लाख, ब्याग बनाउने तालिम २४ जनालाई (१५ दिने) ३ लाख, ब्राइडल मेकअप तालिम २० जनालाई (१० दिने) १ लाख ५० हजार, जुत्ता–चप्पल एड्भान्स तालिम (१ महिने) ३ लाख र ब्युटी पार्लरको बेसिक तालिम २३ जनालाई (६५ दिने) ३ लाख गरी जम्मा २५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०८०-८१ मा तालिमका लागि रु २५ लाख वजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष गत वर्ष २०८१÷८२ मा रु २० लाख वजेट छुट्याइएकोमा यस चालु आर्थिक वर्ष २०८२-८३ मा १५ लाख कम गरिएको हो । उद्यम तथा व्यवसायमा दक्ष हुँदै गएकोले रकम कम गर्दै आएको उपप्रमुख जगेश्वर देवी चौधरी बताउँछिन् ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा २ वटा तालिम सञ्चालन गरेको छ । महिलासँग तिलोत्तमा कार्यक्रमअन्तर्गतको बारिष्टा तालिम ३१ जनालाई प्रदान गरिएको छ । यसै तालिमकी सहभागी तिलोत्तमा १३ की मुना खनाल बस्याल सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहन्छिन् ।
सीपविना विदेश जाँदा कठिन हुने सुनेकी उनलाई सीप सिकेर जाँदा सहज हुने विश्वास छ । ‘विदेशमा यसको राम्रो अवसर छ भन्ने सुनेकी थिएँ नगरपालिकाको वेभसाईटमा तालिम सञ्चालनको लागि सूचना भेटें र सहभागी पनि हुन पाएँ,’ मुनाले भनिन्–‘सिकेको सीपलाई खेर जान दिने छैन, विदेश जाने सोँचका साथ लिएको तालिम हो, भएन भने नेपालमै यही व्यवसाय गरेर बस्छु ।’
नगरपालिकाले यो वर्ष युनिसेक्स हेयर कटीङ्ग सञ्चालन गरेको छ । जसमा १५ जना सहभागी छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको युवायुवतीका लागि तालिममा सहभागीमध्ये कति जना आयआर्जनमा आबद्ध भए भन्ने यकिन तथ्याङ्क नभएको तिलोत्तमा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद ज्ञवाली बताउँछन् ।
एड्भान्स ब्युटी पार्लर तालिम लिएका अधिकांश सहभागी व्यवसायमा आबद्ध भएको वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको दाबी छ । उनका अनुसार नगरपालिकाले पछिल्लो दुई वर्षमा करिब ४ सयभन्दा बढीलाई सीप विकास तालिम प्रदान गरेको छ ।
पछिल्लो समय सीप सिकेर विदेश जाने प्रवृत्ति बढेको तिलोत्तमा नगरपालिकाकी उप–प्रमुख जगेश्वरीदेवी चौधरीको गुनासो छ । ‘तालिममा सहभागी सबै आयआर्जनमा आबद्ध भएका छैनन्, तर विशेषगरी ब्युटी पार्लर, सिलाइ–कटाइ, जुत्ता–चप्पल र हेयर कटिङजस्ता सीप सिकेका धेरै युवा व्यवसायिक रूपमा अगाडि बढेका छन्,’ चौधरीले भनिन्–‘बेसिक तालिम लिएकालाई एड्भान्स तालिमसँग जोडेर दक्ष बनाउने नीति छ, केही गर्छु भन्ने इच्छाशक्ति हुनेलाई नगरपालिकाले अवसर दिएको छ, तर सीप सिकेर विदेश जाने परिपाटी बढे छ, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोंचको विकास जरुरी छ ।’
सीप विकाससम्बन्धी स्पष्ट बुझाइ र योजनाबद्ध कार्यान्वयन हुन सकेमा युवाहरूका लागि भरपर्दो जीविकोपार्जनको माध्यम बन्न सक्ने र समृद्ध नेपालको लक्ष्य हासिल गर्न पनि यसले महत्वपूर्ण योगदान पु¥याउने उपप्रमुख चौधरीले औंल्याइन् ।




