कृष्ण पोखरेल
पाल्पा
पूर्वखोला गाउँपालिकाले श्रावणदेखि फागुनसम्म गरेका कामहरु दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमार्फत् सार्वजनिक गरेको छ । गाउँपालिकाले वडा नं. २ जल्पामा घुम्ती सार्वजनिक सुनुवाइ गरी विगत ८ महिनामा भएका गतिविधिहरु सार्वजनिक गरेको हो ।
गाउँपालिकाले प्रदान गरेको सेवा तथा सञ्चालन गरेका विकास निर्माणको बारेमा आम जनतालाई जानकारी गराउने, जनताको प्रतिक्रिया लिने, जनताका गुनासाहरु सुन्ने, पालिकाको सेवा प्रवाहमा सुशासन, जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्व प्रवद्र्धन गर्ने र विकासमा जनताको अपनत्व बढाउन पालिकाले सार्वजनिक सुनुवाइ गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।
पालिकाले ८ महिनाको अवधिमा गरेका विभिन्न गतिविधिअन्तरगत स्वास्थ्यतर्फ ५७१ जना विद्यार्थीमा नसर्ने रोग र मानसिक स्वास्थ्यको बारेमा सचेतनात्मक अन्तरक्रिया गरेको, ७ जना मानसिक विद्यार्थीलाई मनोपरामर्स सेवा दिएको, पालिकाका सबै आधारभूत र माध्यमिक विद्यालयका ७३३ जना किशोरीको रक्त अल्पता परीक्षण गरिएको, एकीकृत घुम्ती शिविरमार्फत् ४४७ जनालाई चेकजाँच, २१ जनालाई इम्प्लान्ट, १९७ जनालाई भिआइए सेवा, ३९५ जनालाई एच पि भी डि एन ए सेवा, १२ जना पाठेघर खसेका महिलाको उपचार, १० जना भिआइए पोजेटिभलाई सेवा प्रदान गरेको छ ।
विपन्न नागरिक औषधी उपचारअन्तरगत ६ जना क्यान्सर, २ जना मुटु, ३ जना मृगौला रोगीलाई सिफारिस प्रदान गरेको, जटिल रोगका ५३ जनालाई मासिक ५ हजारको दरले उपचार खर्च प्रदान गरेको, पालिकाको स्वास्थ्य संस्थाबाट ७५२९ जना नयाँ बिरामीले उपचार सेवा लिएको, ११२ जनाले पूर्णखोप पाएको, १९ जना क्षयरोगी भेटिएको, ३५ जना स्वास्थ्य संस्थामा र अन्य अस्पतालमा ६७ जना गरी १०२ जनाले प्रसूति सेवा लिएका पालिकाले सार्वजनिक सुनुवाइमा जानकारी दिएको छ ।
शिक्षातर्फ ३६ जना अविभावकविहीन बालबालिकालाई ६ हजारदेखि ९ हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको, कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै छात्रालाई ३ सयका दरले छात्रवृत्ति वितरण गरेको पालिकाले जनाएको छ । पालिकाको शिक्षातर्फ २१ करोड ४६ लाख ४० हजार बजेटमध्ये १४ करोड २७ लाख ७७ हजार खर्च भएको सार्वाजनिक सुनुवाइमा जानकारी दिएको छ ।
यसैगरी कृषितर्फ २२८ जना कृषकलाई ५७० केजी तोरीको बिउ वितरण गरेको, २०७ जना कृषकलाई २० हजार किलो जैविक मल वितरण गरेको, हेक्लाङमा तरकारी पकेट कार्यक्रमको लागि १२ लाख रुपैयाँको लागतमा लागत साझेदारी कार्यक्रम अगाडि बढाएको, ९१ जना कृषकको माटो परीक्षण भएको, कृषकहरुलाई ६ हजार ९ सय ४४ केजी मकैको बिउ वितरण गरेको, ३ हजार ३ सय किसानलाई करेसाबारीअन्तरगत कम्पोजिट बिउ वितरण गरेको पालिकाले जनाएको छ । पालिकाको वार्षिक योजना र कार्यक्रममा ३४९ वटा योजना रहेकोमा १०१ वटा सम्पन्न भएको, ८० वटाको काम भइरहेको, बजेटको सुनिश्चितता नहुँदा १५६ वटा योजना सम्झौता हुन बाँकी रहेको, ठेक्काबाट १६ वटा योजनाको काम तथा प्रक्रिया अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत नेपालले जानकारी दिए ।
सार्वजनिक सुनुवाइमा विपद् व्यवस्थापन, नापी नक्सा, सामाजिक विकास शाखा, न्यायिक समिति, बालमैत्री स्थानीय शासन, सामाजिक सुरक्षा भत्ताको बारेमा समेत हालसम्म भएका कामहरुको बारेमा जानकारी गराइएको थियो । ८ महिनाको अवधीमा पूर्वखोला गाउँपालिकामा चालुतर्फ ५४ प्रतिशत र पुँजीगततर्फ १६ प्रतिशत बजेट खर्च भएको छ । पालिकाले १ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखे पनि हालसम्म २८ लाख रुपैयाँ मात्र आम्दानी भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारण जनताले विभिन्न गुनसा तथा सुझाव दिएका छन् । पालिकाबाट स्थलगत निरीक्षण गरेर आवश्यकताको आधारमा मात्र कार्यक्रम बजेट बनाउनु पर्ने, ३ लाखभन्दा मुनीका योजना एकै पटक सक्नेगरी बजेट विनियोजन गर्नुपर्ने, महिला, दलित लक्षित कार्यक्रम काटिएको पुनः सञ्चालन गर्नुपर्ने, गाउँ–गाउँमा रोजगारीमूलक दिगो कार्यक्रम सञ्चालन गुर्नुपर्ने, पालिका तथा वडाले गर्ने विविध कार्यक्रमहरु घोषित समयै गर्नुपर्ने, नापी नक्साको सचेतना शिविर वडा वडामा सञ्चालन गर्नुपर्ने, युवा लक्षित कार्यक्रम बढाउनु पर्नेलगायतका सुझाव तथा जिज्ञासा पालिकावासीले राखेका थिए । कार्यक्रममा आएका गुनसाहरुको पालिका अध्यक्ष नुनबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा नं. का वडा अध्यक्ष निरबहादुर सारुले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाइमा सम्बोधन गर्दै पालिका अध्यक्ष नुनबहादुर थापाले जनताले उठाएका गुनासा, सुझावहरुलाई कार्यान्वयन गरिने बताए । जनताबाट आएका सुझाव गुनसा केही प्रमुख प्रशासकीय अधिकृतमार्फत् नै तत्कालै सम्बोधन हुनेछन् भने केही कार्यपालिकाको बैठकमा राखी सम्बोधन गरिने अध्यक्ष थापाले बताए । पूर्वखोलाका गाउँपालिमा सुशासन कायम गर्न, गाउँपालिकालाई नमूना पालिका बनाउन, सबै किसिमको विकासका गतिविधिलाई अघि बढाउन, सबै नागरिक एक भएर लाग्नु पर्नेमा उनले जोड दिए । जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर सबैभन्दा बढी बजेट विनियोजन गरेर काम गरेकोले पाल्पा जिल्लामै प्रथम गाउँपालिका भएको अध्यक्ष थापाले जनाए । सबै स्वास्थ्य चौकीमा दक्ष कर्मचारीसहितको दरबन्दीको व्यवस्था गरेको, गाउँ–गाउँमा ल्याव सेवा देखी सुगर, प्रेसर जस्ता रोगहरुको नियमित चेकजाँचदेखि वडा– वडाको सबै स्वास्थ्य चौकीमा प्रसूति सेवाहरु सञ्चालनमा रहेको पालिका अध्यक्ष थापाले जानकारी गराए ।
पाल्पा विकास केन्द्रको सहजीकरणमा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम पालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत र विकास केन्द्रका संयोजक किरण कौशलको सञ्चालनमा भएको थियो ।




