बुटवल । बुटवल–१३, जितगढीस्थित जितेश्वरी जीवनयोग प्रयोगशालामा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। “हिमालको चेतना, विश्वको आरोग्य” भन्ने आदर्श वाक्यका साथ विश्वभर मनाइँदै आएको यस ऐतिहासिक दिवसको अवसर पारेर प्रयोगशालामा विशेष कार्यक्रम आयोजना गरिएको हो।
बिहान प्रयोगशाला सञ्चालन समितिका पदाधिकारी तथा साधक–साधिकाहरूको उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको थियो। त्यसपछि सहभागीहरूले सामूहिक रूपमा योगासन, प्राणायाम तथा ऊर्जाध्यान अभ्यास गरेका थिए। दिउँसो १:१५ देखि १:३० बजेसम्म स्वजागरण ध्यानसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आरोग्यको अर्थ, आरोग्य दिवस मनाउनुको उद्देश्य तथा यस अभियानमा नेपालको भूमिका र महत्वबारे चर्चा गरिएको थियो। वक्ताहरूले आरोग्यलाई केवल रोग नलाग्ने अवस्थासँग सीमित नगरी पूर्ण स्वास्थ्यको अवधारणाका रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए।
आरोग्यले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, आध्यात्मिक र पर्यावरणीय गरी स्वास्थ्यका छवटै आयामलाई समेट्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको सहभागीहरूले बताएका छन्।




