भैरहवा
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा रुपन्देहीको भैरहवामा ‘पाँचौँ सिद्धार्थ रैथाने सडक खाना महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा भएको यस महोत्सवले भैरहवालाई ‘फुड हब’ र प्रमुख पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको थियो ।
होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशको संरक्षकत्व तथा सिद्धार्थनगर नगरपालिकाको सह–आयोजनामा सञ्चालित महोत्सवमा स्थानीय रैथाने खानाका परिकारहरूको प्रवद्र्धनका लागि ६० भन्दा बढी स्टलहरू राखिएका थिए । आयोजकका अनुसार महोत्सवमा भारतीय र स्वदेशी गरी ३० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको थियो भने करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।
महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले यो महोत्सव केवल खानपानको उत्सव मात्र नभई नेपाली पहिचान, इतिहास र सामाजिक संस्कारको प्रतिविम्ब भएको बताए । उनले भने–‘हामी कस्तो खान्छौँ, कस्तो लाउँछौँ र हाम्रो सामाजिक तौरतरिका कस्तो छ भन्ने कुरा यस महोत्सवले झल्काएको छ । यसले आगामी पुस्तालाई समेत आफ्नो संस्कृति जोगाउन सामाजिक शिक्षा दिनेछ ।’
निर्वाचित सांसदपछि पहिलो औपचारिक कार्यक्रममा बोल्दै उनले २० वर्षअघि राष्ट्रको विकास हुने आशामा ६०० भन्दा बढी परिवार (करिब २००० व्यक्ति) ले आफ्नो घरजग्गा सरकारलाई सुम्पिए, तर अहिलेसम्म उनीहरूको त्यो ‘बलिदान’ को उचित कदर वा प्रतिफल अहिले नदेखिएको बताए । उनले विमानस्थलकै आशले विमानस्थल पूर्णरूपमा सञ्चालन नहुँदा अर्बौं लगानी गर्ने होटल व्यवसायी र उद्यमीहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका र निजी क्षेत्रमा ठूलो निराशा, चिन्ता पैदा गरेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि सदनमा निरन्तर आवाज उठाइरहने बताए ।
यो कुनै एउटा दलको मात्र नभई सम्पूर्ण रूपन्देही र देशकै साझा मुद्दा हो । जनप्रतिनिधिहरूले संसदमा दलभन्दा माथि उठेर यसबारे आवाज उठाइरहेका छन् । देशका लागि जग्गा सुम्पिएका घरपरिवारको योगदानलाई न्याय दिन हामी सबै दलका सांसदहरू एकढिक्का भएका छौँ । अर्बौँ लगानी गरेका होटल व्यवसायीहरू निरुत्साहित हुनुपर्ने अवस्थाको अन्त्य गर्न हामी प्रतिबद्ध रहेको उनले बताए । उनले विमानस्थलको नियमित सञ्चालन हुनु भनेको केवल स्थानीय माग मात्र नभई समग्र देशकै आर्थिक समृद्धिको लागि अनिवार्य सर्त रहेको जनाए ।
त्यसैगरी, अर्का प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेलले सडक महोत्सवले श्रम र पसिना बगाउने मानिसहरूको सम्मान गर्ने बताइन । बुद्ध भूमिको शान्ति सन्देशसँगै स्थानीय उत्पादन र कलाकारलाई विश्वमाझ चिनाउन यस्ता कार्यक्रमले मेरुदण्डको काम गर्ने उनको भनाइ थियो ।
सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा अधिकारीले अङ्ग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्षमा पनि यस्ता मौलिक कार्यक्रम हुनुपर्नेमा जोड दिँदै नगरपालिका सधैँ सहयोग गरिरहेको बताइन् । उनले खुला सिमानाका कारण हुने तस्करी र सुरक्षा चुनौतीका विषयमा सदनमा आवाज उठाउन सांसदहरूलाई आग्रह गर्दै नयाँ वर्षले शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरिन् ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले सिद्धार्थनगर नगरपालिकाको सहयोगले व्यवसायीहरूमा ऊर्जा थपेको बताउँदै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका व्यवसायीहरूको तर्फबाट महोत्सवको सफलताको शुभकामना दिँदै पर्यटन बजारीकरणमा यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताए ।
संगठनका अध्यक्ष राजेश महोत्राले सडक महोत्सवले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादन, कला र खानाको प्रवद्र्धनका साथै बुद्ध भूमि लुम्बिनीको पहिचान र आर्थिक चलायमान गराएको बताए । यसपटकको पाँचौँ संस्करण विगतभन्दा फरक र व्यवस्थित बनाइएको बताउँदै उनले औपचारिक कार्यक्रमलाई संक्षिप्त बनाउँदै स्थानीय स्वाद र सांस्कृतिक पक्षमा केन्द्रित गरिएको जनाए । उनले महोत्सवमा थारु, नेवारी, मगर, गुरुङका परिकारका साथै ठूला होटलका ‘सिग्नेचर डिश’हरू समेत सस्तो मूल्यमा उपलब्ध गराइएको जानकारी दिए ।
संगठनका महासचिव सुनिल घिमिरेले विगत पाँच वर्षदेखि भैरहवाको पर्यटन चलायमान बनाउन यो महोत्सव निरन्तर आयोजना भइरहेको, महोत्सवमा खानपानसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले थप रौनक थपेको बताए । गायिका सिमरन परियारलगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका थिए । सुनौली नाकादेखि विभिन्न स्थानमा गरिएको प्रचारप्रसारका कारण भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति रहनुले ‘बोर्डर टुरिज्म’मा समेत टेवा पुगेको आयोजकको भनाइ रहेको छ ।




