२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साम्राज्यवादी दलालहरूका विरुद्ध आन्दोलनमा जुटौं

साम्राज्यवादी दलालहरूका विरुद्ध आन्दोलनमा जुटौं

साम्राज्यवादी दलालहरूका विरुद्ध आन्दोलनमा जुटौं

साम्राज्यवादी दलालहरूका विरुद्ध आन्दोलनमा जुटौं

साम्राज्यवादी दलालहरूका विरुद्ध आन्दोलनमा जुटौं
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • अहिले जेनजी आन्दोलन र रास्वपाको कारण  नेपाली कांग्रेस पार्टी विभाजित भएको छ । गगन र देउवा गुटकाबिच छुट्टाछुट्टै भेला, छुट्टाछुट्टै मिटिङ एकले अर्कालाई कारबाही, निष्काशन गर्ने बताउन थालेका छन् । सुरुदेखि नै गगन पक्ष जेनजी आन्दोलन र रास्वपाप्रति अलि नरम देखिंदै आयो भने देउवा पक्ष अलि आक्रमक हुने गरेको थियो । ठीक फेरि जेनजी र रास्वपा पनि त्यस्तै गगन पक्षलाई भन्दा बढी आक्रमक देउवा पक्षपट्टि हुने गरेको छ । एक प्रकारले कांग्रेसी गगन गुट एमालेप्रति बढी आक्रमक र रास्वपाप्रति अलि बढी लचिलो नै हुँदै आयो । उनीहरुको चुनावी अभियान नै यस्तै भयो । चुनावी मूल प्रतिस्पर्धात्मक एमालेसितै हुने र पहिलो पार्टी बन्ने दाऊमा गगन पक्ष देखिएको थियो । तर गएको चुनावी परिणामले यसको ठीक उल्टो रास्वपाको रहस्यात्मक चुनावी भेलले देउवा पक्षलाई मात्रै होइन, गगन पक्षलाई पनि बढारिदियो । स्वयंं गगनले नै नराम्रोसँग चुनावी पराजय भोग्नु प¥यो । 


    सम्भवतः गगन पक्षले विशेष महाधिवेशन नगरी देउवा पक्षकै नेतृत्वमा त्यो चुनावी अभियानमा गएको भए कांग्रेसले यस प्रकारको नराम्रो पराजय भोग्नु पर्ने स्थिति अलि नहुन पनि सक्थ्यो । अर्थात् कांग्रेस, एमाले र नेकपाबीच चुनावी गठबन्धन, तालमेल हुने स्थिति पनि रहन सक्थ्यो । यदि त्यसो हुन सकेको भए रास्वपाको यस प्रकारको विजय अलि हुने थिएन । तर गगन गुटलाई लागेको थियो एमाले र नेकपाहरुसँग यस प्रकारको चुनावी तालमेल गर्नु कांग्रेस सिद्धिनु हो । तै पनि कांग्रेस बचेन सिद्धियो नै । यसका पछाडिको मूल कारण जेनजी आन्दोलन र रास्वपालाई हेर्ने बुझ्ने दृष्टिकोण नै गलत हुनु हो । 


    पहिलो कुरा रास्वपाकै गठन अनि यसको विकास नै एक प्रकारले नाटकीय रुपमा भएको थियो । त्यस्तै जेनजी आन्दोलन पनि त्यस्तै नाटकीय पाराले भयो । उक्त आन्दोलनप्रति रास्वपाको भूमिका रवि लामिछानेको जेल फरार अनि पछि एकाएक बालेन, रवि र कुलमानबिचको पार्टी एकता यी आदि घटनाक्रम सबै नाटकीय अझभन्दा रहस्यात्मक र प्रायोजित नै थिए । स्वयं तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार नै यस्तै नाटकीय रुपमा निर्माण भएको थियो । एकाएक नेपाली सेना अनि केही जेनजी अगुवाहरुले नै त्यतिबेलै बालेनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन भनेका थिए । तर त्यसलाई अस्वीकार गरेर स्वयं बालेनले नै सुशीला कार्कीलाई प्रमको प्रस्ताव गरेका थिए । यो सब रहस्यात्मक र नाटकीय शैलीमा भइरहेको थियो । अन्ततः अहिले यो सबको रहस्य र नाटकको पर्दाफास भइसकेको छ । अमेरिकी साम्राज्यवादी डिजाइजनअन्तर्गत बारबारा फाउण्डेशन, टिओबीलगायतका विभिन्न खाले एनजीओको लामो तयारी र योजनाअन्तर्गत भएको स्पष्ट छ । जेनजी जुन शब्द छ यो नै नेपाली होइन । यो आयतित शब्द हो । जसलाई पश्चिमा साम्र्राज्यवादीहरुले निर्माण गरेर विश्वव्यापी बनाए । विश्वका साना कलिला युवा पिंढीहरुको चाहना र भावनालाई उकासेर उनीहरुको कलिलो युवा जोशलाई यहाँसम्मकि सत्ता नै कब्जा हुने स्थितिसम्म पु¥यायो । आखिर यो सबका पछाडि अमेरिकी साम्राज्यवादी स्वार्थ चीनलाई घेर्ने र भारतलाई उकास्ने अनि नेपालको स्वतन्त्र सार्वभौम अस्तित्वमाथि खेलवाड गर्दै नेपाललाई युक्रेन बनाउने । एमसीसी परियोजना त्यसपछि एसपीपी यी आदि सबै यसैको लागि हो । यी सबैको अमेरिकी योजना र डिजाइन कुनै लुकाइएका कुरा होइनन् हाका हाकी अमेरिकी सरकारी मिडियाहरु कर्मचारीहरुले बताउँदै आइरहेका छन् । आखिर यस्ता अमेरिकी योजना र सहयोग केका लागि हो ? इराक, अफगानिस्तान अनि हालको युक्रेन र भेनेजुएला  अफगानिस्तान अनि हालको युक्रेन र इरानलाई बुझे भइहाल्छ । तैपनि कांग्रेसी गगन गुट, एमाले विष्णु पौडेल गुट, नेकपा प्रचण्ड र माधव गुट भने रास्वपाको पिछलग्गु भई हिंडिरहेका छन् । जेनजीको समर्थन अनि रास्वपा फेरो समातेर यिनीहरुबाट केही झर्ला र खाउँला भनी त्यसैको दलाली गर्दैै बसिरहेका छन् । 


    जेनजी आन्दोलन र रास्वपाकै कारण कांग्रेस विभाजित भइसकेको छ, अब यस्तै विभाजित हुने अवस्था एमालेभित्र पनि देखिन थालेको छ ।  विशेष महाधिवेशनको माग हुन थालेको छ । एमाले अध्यक्ष ओलीको गिरफ्तारी अनि बिरामीको मौका छोपी पार्टीको फरक मत पक्ष सुरेन्द्र र योगेश गुट यसमा अलि बढी सल्बलाउन थालेको छ । केही दिन पहिले सदनमा एमाले उपाध्यक्ष रामबहादुर बादलले दिएको भाषणबाट चिडिदै स्वयंं अर्का एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत अहिले उक्त गुटमा समावेश होलान् जस्तो देखिंदैछ । अवसरवादको कुनै नीति सिद्धान्त र कार्यक्रम केही हुँदैन । ताक परे तिवारी नत्र गोतामे जता हावा बहन्छ त्यतै लसिने चरित्र  अवसरवादीहरुको हो । 


    आज नेपालमा पश्चिमी साम्राज्यवादी विषाक्त हावा जोडतोडले बगिरहेको छ । त्यसैको प्रभावमा जेनजी आन्दोलन, सरकार र दलहरु निर्माण भइरहेका छन् । आजसम्म कुन न कुनै रुपले सत्ताको निकट रहँदै खाई पाई आएकाहरुलाई ठूलो संकट परेको छ । यस अर्थमा वर्तमान सत्ता सरकारको विरोध होइन दलाली र चाकडी गरेर केही पाउने आशामा आज यी सबै दलका अवसरवादी गुटउपुगटहरु देखा पर्दैछन् । कांग्रेसी सिंगो गगन गुट, नेकपाको सिंगो प्रचण्ड, माधव र एमालेको सुरेन्द्र, योगेश अनि विष्णु पौडेल र बासुदेव गुट आदिहरुको दैनिक नै यस्तै छ । पार्टी नेतृत्वको विरोध गर्ने नाममा जेनजी आन्दोलन र बालेन–रवि, घण्टी दलको घुमाई फिराई समर्थनमा सहयोग जुटाउँदै एमालेलाई पनि घण्टी पार्टीकै पिछलग्गु बनाइने छाँटकाँट हुँदैछ । 


     यसको अर्थ कांग्रेसी देउवा र एमाले ओली गुट राम्रा र सही छन् भन्ने पटक्कै होइन । जेनजी आन्दोलनको लगत्तै ओलीले प्रधानमन्त्रीबाट मात्रै होइन पार्टीै नेतृत्वबाट नै हटी बस्न हामीले भनेका थियौं । अझ पछि यस्तो चुनावी परिणामपछि त ओली पार्टी नेतृत्वमा एक दिन र एक घण्टा पनि बस्ने नैतिकता नह्ुनु पर्ने हो । पश्चिमा साम्राज्यवादी डिजाइनमा सञ्चालित यस्ता आन्दोलन, सरकार र दलहरुको कुनै पनि फेरो नसमाती स्वतन्त्र रुपले देशको राष्ट्रियता र स्वाभिमानको पक्षमा सतिसाल जस्तै ठिंग उभिएर देउवा, ओली साथै गगन, प्रचण्ड, माधव बाबुरामहरुको साथसाथै अरु यस्ता जोसुकैको विरोध गरी अघि बढ्नु नै देश र जनताको हितमा छ । राम बहादुर थापा बादलले उक्त दिन सदनबाट जुन शब्द वाण प्रहार गरेका थिए ।  त्यो एकदमै  समसामयिक ठीक स्थान र ठीक बेला भनेका थिए । अमेरिकी डिजाइनमा स्वयं नेपाली सेनाको भूमिकाप्रति जुन उनले टिप्पणी गरे । त्यो देशको राष्ट्रिय स्वाभिमानका लागि ऐतिहासिक महत्वको विषय हो र बनिरहनेछ । 


    त्यसको चोट र प्रहार त प्रम बालेन, रवि र घण्टी पार्टीका नेता आसेपासे आदिलाई पर्नु पर्ने थियो । तर उल्टो अचम्म त्यसको चोट त उनकै दल एमालेका उपाध्यक्ष विष्णु पौडेल, बासुदेव, योगेश र सुरेन्द्रहरुमाथि परे जस्तो गरी बादलको चर्काे विरोध गर्दै रुवाबासी गरिरहेका छन् । पार्टीकै स्थायी समितिको बैठक नै बोलाएर बादलको विरोध गर्न समेत पछि परेनन् । बरु घण्टी पार्टीका नेताहरुले त्यसलाई सुनेको न सुनै जस्तो गरी त्यसलाई कुनै महत्व नै दिएनन् । दिउन पनि किन ? साम्राज्यवादी लहरो त नेपालका हरेक पार्टी, संगठन सहर गाउँबस्ती चारैतिर फैलाई सकिएको छ । लहरो तान्दा पहरो  नै  खस्ने हो कि भन्ने आसयका साथ  यी सबै चुप लागि बसेका छन् । बरु आफूले बडार्नु पर्ने कसिङ्गरलाई हावाले उठाएपछि कस्तो हाई सञ्चो घण्टी पार्टीका नेताहरुलाई । आफ्नै दल एमालेका त्यसमा पनि उपाध्यक्ष नै भएका विष्णु पौडेलले त्यसको विरोध मात्रै होइन कांग्रेसी गगन गगुटले जस्तै विशेष महाधिवेशन बोलाई कांग्रेसी देउवालाई जस्तै एमाले अध्यक्ष ओलीलाई पत्तासाफ गर्ने दाउँ फरक मतवाला एमाले गुटको छ ।


    कांग्रेस, एमाले, नेकपाका अर्थात् कांग्रेसी गगन गुट, एमाले, विष्णु, सुरेन्द्र् र योगेश गुट साथै नेकपा प्रचण्ड, माधव गुटको यो पिछलंग्गु राजनीतिको मूलकारण भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसितको आत्मसमर्पण नै हो । किनभने यी सबै कुनै न कुनै भ्रष्टाचारी घटना मुछिएका छन् । केपी र देउवा जस्तै कारबाहीमा परिन्छ कि भन्ने ठूलो डर यिनीहरुलाई छ । आखिर यिनीहरुले साम्राज्यवादी दलालहरुको जतिसुकै चाकडी र दलाली गरे पनि दोषी भएपछि कारबाही हुन्छ नै । कुनै कारण यिनीहरुलाई यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा सरकारले कारबाही नगरे पनि पछि कुनै न कुनै दिन नेपाली जनताले कारबाही गरी छाड्ने छन् । अन्त्यमा अहिले देशमा साम्राज्यवादी अतिक्रमण बढ्दो छ । राष्ट्रको अस्तित्वकै सवाल मुख्य छ । त्यसैले यो साम्राज्यवादी दलाल सरकार अनि यस्तै दलाल पार्टीहरुको विरुद्ध सम्पूर्ण वामपन्थी, देशभक्त तथा जनवादी र राष्ट्रप्रेमी सब दल, संगठन र जनसमुदाय एक भई आन्दोलनमा जुटौं ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij