भैरहवा
मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चैत्र महिनाको लक्ष्य पार गरेको छ । यो आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व संकलन गरेको भन्सारले अरु महिनामा लक्ष्य पार नगरे पनि चैत्रको लागि पाएको लक्ष्य ९ अर्ब ७३ करोडमध्ये १० अर्ब ६७ करोड राजस्व संकलन गरेको हो ।
४ वर्षदेखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सारले भने २०८२–८३ को पहिलो महिनामा पाएको ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्यमा ९ अर्ब २ करोड ७२ लाख अर्थात १ सय २ प्रतिशत राजस्व संकलन गरेको थियो । वर्षेनी बढ्दो लक्ष्य र केही नितिगत कारणले ४ वर्षको अवधिमा एक महिनामा मात्रै राजश्व संकलन लक्ष्य पार भएको थियो । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमी हँुदै आएकोमा २०८१ को असोज महिनापछि अहिले २०८२ साउनमा कार्यालयले विभागबाट पाएको लक्ष्य पार भएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सरदर अहिले ९४ प्रतिशत राजस्व असुली भइरहँदा पहिलो महिनापछि चैत्रमा लक्ष्य पार भएको छ । गत वर्ष चैत्र महिनामा ८ अर्ब २३ करोड ५२ लाख राजस्व संकलन भएकोमा त्यसको २९ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
राजस्व लक्ष्य योगदान गर्नेमा सबैभन्दा बढी मोटरसाइकल, जीपकार भ्यान, पेट्रोल, डबल क्याब पिकअप, विद्युतीय जीपकार भ्यान, स्पोन्ज र फेरस आइरन, एमएस विलेटलगायतका बस्तु पैठारी भएका छन् ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८२०८३ का लागि एक खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा हालसम्म ७८ अर्ब ४९ करोड राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले बताए । चैत्र मसान्तसम्म भन्सारलाई ८२ अर्ब ७९ करोड लक्ष्य रहेकोमा हालसम्म ९४ प्रतिशत राजस्व संकलन भएको छ ।
कार्यालय साउनमा १०२ प्रतिशत, भदौमा ९७, असोजमा ९२, कार्तिकमा ८२, मंसिरमा ९३, पुषमा ८२, माघमा ९९ र फागुनमा ९३ प्रतिशत राजस्व संकलन गरेको थियो । राजस्व लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षभन्दा बढी राजस्व संकलन कार्यालयले गरेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९-०८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्यको ६३ प्रतिशत, आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो ।
मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योग्दान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरु पनि डाइभर्ट भएको छ । यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाइ छ । आन्दोलन, पूर्वाधार र सडक निर्माणलगायतको कार्यले गर्दा केही अवरोध भएको हो । राजस्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित हुने गरेको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भने १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजारको लक्ष्य तोकेको छ ।




