लामो समयदेखि आन्तरिक विवादले थिलोथिलो भएको कांग्रेसलाई अन्ततः सर्वोच्च अदालतले पुनर्जीवनको बाटो खोलिदिएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई विधान सम्मत भन्दै शेरबहादुर देउवा पक्षले दिएको रिट निवेदन खारेज गरेको छ । विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै शेरबहादुर देउवा पक्ष अदालतमा रिट निवेदन लिएर गएपछि कांग्रेसको आन्तरिक विवाद झनै गिजोलिएको थियो । विशेष महाधिवेशनले कांग्रेस नयाँ ढंगले पुनर्गठन भएको भन्ने एउटा पक्ष र विशेष महाधिवेशनले पार्टीलाई फुटाएको भन्ने अर्को पक्षबिचको विवादले थिलोथिलो भएको कांग्रेसलाई अब पुनर्जीवन दिने प्रष्ट दिशा तयार भएको छ ।
विशेष महाधिवेशनले कांग्रेसलाई दिशानिर्देश गरेको भनिए पनि पार्टीको एउटा खेमा अदालत गएपछि तेर्सिएको तगारो हटेको छ । अब पार्टीलाई एकताबद्ध बनाई सबैलाई मिलाएर जाने कि प्रतिशोध र इगोले सकिने भन्ने विषयको छिनोफानो कांग्रेस सभापति गगन थापाको हातमा छ । कांग्रेससहितका दलमा बेलैमा नेतृत्व हस्तान्तरण नहुँदा युवा पुस्तालाई अर्कै दलले हातमा लिएर चुनाव समेत जित्यो । युवा पुस्तालाई आकर्षित गर्न नसक्दा लामो इतिहास भएको कांग्रेस बाटो विराएको बटुवा झैं भयो । सुझबुझ र परिपक्क राजनीतिको मियो बन्नका लागि कांग्रेसमा विवेकी नेतृत्व नहुँदाको मूल्य अहिले मुलुकले चुकाउने जोखिम बढेको छ । त्यसो त लोकप्रियतावादको हावाहुरीमा कांग्रेस-एमाले जस्ता परिपक्क र विरासत बोकेका दल चेपुवामा परेका हुन् । तर लोकप्रियतावादको चेपुवामा परेको भनेर मात्रै हुँदैन । जीवन्त राजनैतिक दलमा आमुल सुधार परिर्वतनको आवश्यकता छ, समयअनुसार वैचारिक र सांगठनिक रुपमा आफूलाई चुस्त बनाउनुपर्छ भन्ने हेक्का नेतृत्वमा हुनुपर्छ । अहिले कांग्रेस–एमालेका लागि यही अपूर्व अवसर आएको छ ।
कांग्रेसको पूर्णबहादुर खड्का पक्षले पार्टीको वैधानिकताबारे सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने परिपक्क निर्णय गरेको छ।सर्वोच्च अदालत रिट लिएर पुगेका खडकाले अदालतको आदेशलाई स्वीकार गर्ने निर्णय गरेर अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति थापाको भएको बताएका छन् । मुलुकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाई मतबाट चुनिएको सरकार छ, यो गणित हेर्दा मुलुकमा बलियो सरकार छ । कांग्रेस प्रमुख प्रतिपक्षको रुपमा उपस्थित छ । बलियो सरकारले केही गर्छ भन्ने आशा पनि छ, तर बलियो सरकारले चालढाल मिलाउन जानेन, अनुभवको कमिले परिपक्कता देखाउन सकेन भने के होला ? यसको सिधा उत्तर हो –मुलुकले ठूलो मूल्य चुकाउने छ । त्यसैले कांग्रेस जस्ता दल बलियो हुनुपर्छ । अझ प्रमुख प्रतिपक्ष दल कमजोर भयो भने मुलुकमा लोकतन्त्र कमजोर बन्छ । जब सत्ताले मनपरी गर्छ, सत्ताको उन्मादमा विधि र पद्दतीमाथि आक्रमण हुन्छ, त्यसबेला प्रतिपक्ष दलको सशक्त प्रतिरोध हुनुपर्छ । त्यसैले कांग्रेसमा अहिले झगडा होइन, बलियो एकता आवश्यक छ ।




