तुल्सीराम पाण्डे
वि.स. २०५० सालदेखि २०७५ सालसम्म बुहारी ल्याउने महिलाहरु पहिले सासुबाट हेपिए र भविष्यमा बुहारीबाट हेपीने सम्भावना छ । पहिलेका बुहारीहरु सासुबाट हेपिए पनि आफू सासू बनेपछि बुहारीलाई हेप्न पाउँथे । सासुहरुले आफू धुरी र बुहारीलाई बलेनी मान्दथे । २०७० सालपछि आउने बुहारीहरुले सुरुमा आफ्ना सासुलाई हेपे पनि आफूहरुले बुहारी ल्याएपछि उनै बुहारीबाट हेपीन सक्नेछन् ।
पहिलेका बुहारीहरुलाई गाली गर्न र कुटपिट गर्न कुनै ठुलो गल्ती वा निहुँ चाहिंदैनथ्यो । सामान्य कारणमा समेत ठुलै सजाय पाउँथे । एकजना मानिसलाई आफू निदाएपछि श्रीमतीले चिसो हातले चिल्लो लगाउन जाँदा लात्तले हानेर आँटीबाट तल खसालेछन् । त्यसै चोटको कारणले गर्भ तुहिएछ । अर्को मानिसकी श्रीमतीले साउने झरीमा भिज्दै घाँसको भारी ल्याइछन् । चिसो भयो लुगा फेरेर घाँस दिउँला भनेर भारी बिसाएर लुगा फेर्न थालिछन् । त्यसैलाई निहुँ बनाएर श्रीमानले भैँसीलाई घाँस दिन ढिलो भयो, त्यही चिसा लुगासीत घाँस दिएको भए हुन्थेन, लौ फेर लुगा भनेर बलेनी थापेको गाग्रीको पानी टाउकाबाट खन्याइदिएछन् । चिसोले गर्दा गर्भवती श्रीमती बेहोस भएर पल्टीछन् । अरु परिवारले के गरेको तंैले भनेर गाली गरेछन् । त्यसपछि सेक्ने र चिल्लो लाउने गरेर होसमा ल्याएछन् । घटना भएको २०÷२२ वर्षपछि अरुसँग कुरा गर्दा आफैँले यो छोरो भुँडीमा छँदा यस्तो भएको हो भनेर सुनाएका थिए । छोरी पाएमा अरुले नहेरीदिने र डाँडीमा राखेर मेलामा जानुपर्ने हुनाले केही छोरीहरु कुजा भए । मान्यजनको अगाडि नाचगान गरेमा, आफ्नो पिरको गीत जुराएमा, पाहुर कम भएमा वा चित्त बुझ्दो नभएमा, भागेर माइत गएमा, पिट्ने र कसैले अर्को विवाह गर्दथे ।
पिट्दा पनि ढुङ्गाले हान्ने, हँसियाले झटाहा हान्ने, लौरेले पिट्ने, कपाल लुछ्ने, जे भेटायो त्यसैले हान्ने गर्दथे । हातमा जे छ त्यसैले हिर्काउने, कसैले अगेनाको नजिकै भएमा मुखमा र यौनांगमा अगुल्टोले झोस्ने गर्दथे । कुट्दा हातखुट्टा भाँचिने, दाँत भाँचिने हुन्थ्यो । फाटफुट रुपमा मृत्यु पनि हुन्थ्यो । जिउँदै भएमा पछिबाट माइतीले उपचार गर्दथे । थिचिएको जिउ बुढो भएपछि उकल्जिन्थ्यो । कसैले मृत्यु भएमा तालुकदार र पञ्चलाई घुस खुवाएर लोटेर मरेको वा आत्महत्या गरेको सावित गर्दथे । धेरै धन खान पाउँदा रकमी पनि खुसी हुन्थे ।
बुहारीको धोती, चोलो, मजेत्रो नन्द आमाजुहरुले चोरीदिन्थे । भाका नागेर आएमा भित्र पस्न नदिने, ढोग्न नदिने पाहुर फालीदिने र माइतीलाई गाली गर्दथे । एउटी चेलीले भात खाँदा फेर्ने धोती हराएर माइतीलाई धोती पठाइदिन समाचार पठाइछन् । माइतीहरु कपडा पठाउँदा हैरान परेको हुनाले लाएका कपडा फुकालेर नाङ्गै बसेर चुलामा भात खावोस् र उठेपछि पहिलेकै कपडा लावस् भनेर जवाफ पठाएछन् ।
धन नदिएमा लोग्ने ससुराली नजाने, साहु र रकमीको घरमा नुन तेल ल्याउन र झारा गर्दा बुहारीलाई पठाउने, गाउँवेशीको पाइ हुनेहरुले १० पाथी जाने धोक्रो भनेर १ मुरी धान बोकाउने, लोग्ने मान्छेले दाउराका भारी बाँधिदिने, रकमीले घुस खाएर गरिबकी छोरीलाई अपाङ्गसँग विवाह गराइदिने दिनभर मेलापात, रातभर कुटपिस, बिहानभर दैलो कुचो भोकभोकै गर्ने । रातभरी काम गर्दा लगाएका कपडाहरु भित्रबाट पशिनाले भिज्ने र बाहिरबाट शितले भिज्ने हुन्थ्यो । कसैका दिदी, फुपू र जेठानीले सिकाएमा भोकै कुटपिस गर्दा काँचै कोदो, मकै र धान चपाएर रस निलेर भोक शान्त गर्दथे । धान कुट्दा सासुसँगै जान्थे । बुहारी मन नपरेमा पोइला लगाइदिने तारतम्य मिलाउँथे । कसैले बाल विवाह गरे पनि बुहारीलाई घरैमा ल्याएर कज्याउँथे । बिरामी भएर सुतेमा भाम परेको भन्दथे ।
जति दुःख भए पनि माइतीले छोरीको घर बनाउन धेरै प्रयास गर्दथे । छोरी मरेमा बरु अल्पायु रैछ भनेर चित्त बुझाउँथे । घर बिग्रेमा र माइतीले पाल्नु परेमा बेइज्जत मानिन्थ्यो । छोरी पाल्ने घरमा छोराको विवाह गर्न गाह्रो हुन्थ्यो । अर्की छोरी माग्न समेत जाँदैन्थे, पोइला गएमा पनि फलानाका छोरीहरु त पोइला जान्छन् भनेर लेनदेन गर्दैनथे ।
बुहारीहरुले धेरै खिप्ती खेप्ने हुनाले आ–आफ्नै ढङ्गले दुःख व्यक्त गर्दथे । दुःखको सास्ती, बुहार्तन, १२ भुक्तान, शासन, आगो खाएर अँगार हगाउनी, खली खानी, पटुका कसेर हिंड्ने, माइतीका बलले बाँच्ने, सधैँको तप्केनी, टोकसो, खटन, बाघको जस्तो डर, मरे बरु सुख पाइन्थ्यो, ३ फेर परान जानी, परान फुस्कनी भनेर आपसमा दुःख बिसाउँथे । केही चेलीहरुले माइतमा बस्दा पनि आफ्नो भविष्य अन्धकार भएको देख्दा केही उखान सुनाउँथे । यो छोरीको हारेको जुनी, क्यै गरेनी घरबारै नहुनी । घरको दुःख गरे धन्सारमा हात, माइतीको दुःख गरे कोखिलामा हात । कहिले सासुको पालो कहिले बुहारीको पालो । अरु भुले पिरतीमा, म भुलें फोक्कैमा । सम्पत्तिमा सबैको हाइहाइ विपत्तिमा कोही छैन दाजुभाइ । घरको न घाटको भइयो । तीन न तेह्र भइयो । निभेको आगो कसैले ताप्दैन ।
एकजना मानिसले ठुलै साहुका घरमा छोरी दिएछन् । त्यस घरमा ३ वटी सासु, १३ भाइ छोरा, ६ वटी नन्द आमाजु, ७ वटी जेठानी, जेठाजुका छोराछोरीहरु र गोठालाहरु गर्दा सधँै काम गरिरहने र खान पालै नआउने भएछ । माइतबाट खर्च लगेर कोठीमा पकाएर खाने र घरको काम गरिछन् । माइतीले दिन गनेर खर्च सकिएपछि भरियालाई बोकाएर पठाउँदा रहेछन् । २÷३ वर्षपछि ससुराली आउँदा भदाहा भदैहरुले बाल सुलभ तरिकाले ए पुसाजु तपाईंको घरमा चामल, घिउ, पिठो छैन ? दूध खान भैसी पाल्नुभएको छैन ? भन्दा लाज मानेछन् । आफू लाहुरे भएको हुनाले लाहुरबाट आउँदा ४० सालमा दुलहीको सिरानी मुनी नबोलिकन रु २० राखिदिएछन् । नन्दले पैसा राखेको देखेर आमालाई कुरा लगाइछन् । सासुले छोरा बुहारीलाई गाली गरेर पैसा मागेर राखीछन् । अर्को वर्ष लाहुर लगेछन् र घरवार राम्रो बनेछ ।
अर्का एकजनाले तेरो छोेरी फलाना साहुको घरमा दिउँभन्दा रामै्र होला भनेर हुन्छ भनेछन् । सासु जाद्री र धनीकी छोरी हुनाले बुहारीलाई सारै हेला गरिछन् । बुहारीलाई कहिल्यै खान नदिने, सधँै काममात्र गर्नुपर्ने माइती मावली र लमीलाई समेत फलाना नाँगाकाहा मेरो छोरालाई पा¥यो भनेर गाली गर्दी रहिछन् । सासु दुर्जन भएको हुनाले ससुराले पनि केही बोलेन्छन् । त्यसबेला बाउआमासँग छोराहरु बोल्ने चलन थिएन । बोलीहालेमा कि घर छोडेर हिंड्नुपथ्र्यो कि छुट्याइदिन्थे ।
उमेर पुगेपछि ज्वाई लाहुरे भएछन् । लाहुरबाट आउँदा ससुरालीमा बोलाएर सल्लाह गरेछन् र लाहुर लैजाने भएछन् । ज्वाई घरबाट हिंड्ने दिनमा ससुरालीले छोरीलाई गल्याङसम्म ल्याइदिएछन् र छोरीज्वाइँलाई गाडीमा चढाएर आफूले नुन लिएर घर फर्केछन् । त्यसपछि घरवार राम्रो बनेछ । पछि मर्ने बेलामा उनै बुहारीले सेवा गरिछन् र उनैको काखमा प्राण गएछ ।
एकजना लमीले साहुको घरमा मास्टर केटो देखेर विवाह गरिदिएछन् । नाति जन्मेर हिंड्ने हुँदासम्म पनि बुहारीलाई कहिल्यै अघाउन्जेल खान नदिने, कहिले भागै नलगाउने गर्दा रहेछन् । नाति लिएर बुहारी भागेर माइत गइछन् । माइतीले लमीलाई त्यो कुरा सुनाएछन् । लमीले केटालाई दुलही लिन जान पठाएछन् । मास्टर भए पनि बाउ आमासँग डराएर ससुराली नभनिकन पढाउन स्कुलमा गएजस्तो गरेर लमीसँग ससुराली गएछन् र साँझमा लमीले बुहारी लिएर आएछन् । दुलाहाले ढिलो गरेमा ससुराली गएको थाहा पाउँछन् भनेर ससुराली पुगेर उत्तीखेरै फर्केर सधँैको समयमा घर गएछन् । साँझमा बुहारीलाई देखेपछि हामीलाई नसोधी माइत जाने ? छोराको अर्को बिहे गर्ने हो भनेर कराउन थालेछन् । त्यसपछि लमीले बेसरी गाली गर्दै तिमीहरुले बुहारी पाल्न नसक्ने भए किन विहे गरेको ? मसँग रुन आयौ र विवाह गरिदिएँ । अर्को बिहे गरे पनि अन्न नखाने र कपडा नलाउनी कहाँ विवाह गर्ने होला । यो केटीलाई खान दिएनौ भने मैले पञ्चायत बसालेर कि अंश लाइदिन्छु कि तिमीहरुलाई मुद्दा दिएर थुनाउन लैजान्छु भनेर हप्काएछन् । भात आटो अघाउन्जेल नदिए पनि रोटी मकै बनाएर खान पाइछन् ।
दुःख खेपेका बुहारीहरुले आफ्ना पिरलाई गीत गाएर बिसाउँथे । धनी घरको सम्पत्ति नखाइ नलाइ सकियो, बाजलपाते लहरीले कम्मर कसियो । मलाई देख्दा ससुरा काला निला अँधेरा, ठुलो गाउरी बोकेर बज्यै पँधेरा । स्वामी मेरा सधैँ हुन्छन् खुन खाएका बाघ झँै, मेरो ज्यान सुक्यो आमा गोली धागा झैं । वर्तमानमा महिलाहरुमा आएको जागरणले गर्दा २०७८ सालसम्ममा र ५० सालको तुलना गर्दा केही कुराहरुमा भिन्नता पाइएको छ । पहिले खान्दान र सम्पत्ति हेर्ने अहिले केटो - केटी र पढाइ हेर्ने । पहिले सासु कस्ती पर्छे भनेर बुहारीले पीरमान्ने अहिले बुहारी कस्ती पर्छे भनेर परिवारले पिर मान्ने । पहिले बुहारीलाई रहलपहल र नमिठो दिने, अहिले पहिल्यै र मिठो दिने । पहिले छोरीको घर बनाउन कोसेली पठाएर सासू रिझाउने, अहिले बुहारीको हातमा कारोबार दिएर रिझाउँनुपर्ने । पहिले लोग्नेले सौता ल्याउने, अहिले श्रीमतीले अंश लिने वा सम्बन्धविच्छेद गर्ने ।




