झपेन्द्र जिसी
मिलन विछोड मानव जीवनको अभिन्न र अनिवार्य सर्त हुँदोरहेछ । यस धर्तीमा कति जन्मे कति मरे सबैले जानेकै कुरा हो । यसको अभिलेख छैन । प्राणी जगतको कुरा पनि यही हो । भाग्य र दुर्भाग्यको शासन यसमा छैन ।
मानव समुदायको स्वार्थहरु, इच्छा–आकांक्षाहरुको मेल हुञ्जेलसँगै बस्छन् । स्वार्थहरु नमिलेपछि छुट्टिभिन्न हुन्छन् । यति मात्र कहाँ होर ? सबैले देखेकै जानेकै भोगेकै कुरा हो, अग्नि साक्षी राखी विवाह बन्धनमा बाँधिएका पति पत्नीका बीचमा पनि सम्बन्धविच्छेद हुन्छ । यस्तो किन हुन्छ ? स्वार्थ नमिलेर । यसरी नै एउटै आमाको पेटबाट जन्मेका तिनै आमाको लान्द्रो (स्तनपान) चुसेर हुर्केका बढेका, समरथजमडल्ल भएका सन्तान छुट्टिभिन्न भई अलग चुलोचौको चलाउँछन् । यति मात्र कहाँ हो र दाइले भाइलाई, भाइले दाइको वा दिदीबहिनी समेतको हत्या र दिदी बहिनीले बाबु आमाको र दाजुभाइको हत्या समेत गर्दछन् । सुन्दा पनि आँगै जिरिङ्ग गर्ने कुरा यी सबै प्रवृत्तिगत खराबी हुन् वा प्रवृत्तिगत स्वभाव हुन् । अब यो कलम राजनीतिक इतिहासतर्फ अघि बढ्छ । राजनीतिक, संगठन प्रणालीले पनि हाम्रो देश नेपालमा त्यस्तै भोग्दै, व्यहोर्दै आएको छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको जन्म सँगसँगै जस्तो भएको हो । कम्युनिष्ट मनधारीहरु शुरुमा सबै कांग्रेसमा आबद्ध भएका थिए । तर ७÷८ महिनाभित्र कांग्रेस पार्टीमा सामन्तहरु र पूँजीवादीहरुको हैकम भएको र यो पार्टीले श्रमिक किसानको हितभलो गर्न कदापि सक्दैन भनी पुष्पलालले कांग्रेस परित्याग गरी २२ अप्रिल १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको इतिहास छ । त्यसो त यी भन्दा पहिले नेपाल प्रजापरिषद् पार्टी स्थापना भई आन्दोलन गरिसकेको थियो । यी दुई पार्टीहरु स्थापना भएपछि क्रमशः संगठन विस्तार र आफ्नो विचार सिद्धान्त विस्तार र प्रचारमा लाग्दै रहे । सुरुमै मातृका कांग्रेस डिल्लीरमण रेग्मी कांग्रेस विभाजन भई संगठन गर्न थाले । पछि स्वार्थ मिलन हुँदा एकीकृत भए ।
यता २०१० सालसम्म एकीकृत रहेको कम्युनिष्ट पार्टीमा डा. केशरजंग रायमाझीको प्रवेशपछि राजावादी प्रवृत्ति बढ्दै जाँदा तेस्रो राष्ट्रिय महाधिवेशन (२०१९) तुल्सीलाल महासचिव भए, राजावादी केशरजङ्गहरुलाई हटाए पनि पार्टी अघि बढ्न सकेन ।
२०१७ सालमा राजा महेन्द्रले संसदीय प्रणालीको अन्त्य गरी जनअधिकारबाट जनतालाई वञ्चित गरी पार्टीहरु माथि प्रतिबन्ध पनि लगाए ।
२०२५ सालमा पुष्पलालले बनारसमा तेस्रो सम्मेलन गरी पार्टी पुनव्यवस्थापन र पुनर्गठन गर्न थाले । सशक्त रुपमा पुनर्गठन हुन सकेन । एकातिर टाल्दा अर्काेतर्फ चुहुन थाल्यो । मोहन विक्रम सिंह लगायतले २०२४ तिरै अर्काे पार्टी गठन गरे । क्रमशः नेतापिच्छे कम्युनिष्ट पार्टी गठन गर्न थाले । यथा विष्णु बहादुर मानन्धरको नेकपा, निर्मल लामाको नेकपा यस्तै यस्तै आदि इत्यादि ।
मोहन विक्रमले नेतृत्व गरेको नेकपा विक्रमको चौथो दशकमा आइपुग्दा त निर्मल लामाको मोटो मशाल पुन, मोहन विक्रमको पातलो मशाल अनि फेरि मोटो मशालमा पुष्प कमल दाहालले प्रवेशपछि नेकपा माओवादी बनाएर जनविद्रोहको नाममा मुलुकमा हिंसात्मक युद्ध भयो । भनिन्छ १७ हजार मानिसको हत्या भयो ।
मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा (माले) ले चौथो महाधिवेशन गरी ५औं राष्ट्रिय महाधिवेशन २०४९ सम्म आइपुग्दा मनमोहन अधिकारी, सहाना प्रधान नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकता गरी नेकपा एमाले निर्माण ग¥यो ।
यो पार्टीको जनताको बहुदीय जनवादी कार्यक्रम र सिद्धान्त अनुसार २०४६ सालको राजाको हुकुमी निर्दलीय पंचायतलाई अन्त्य गर्न सबै पार्टीहरुसँग मिलेर आन्दोलनमा होमियो । २०५१ सालको निर्वाचनमा सबैभन्दा बढी संसद सीट जितेर संसदमा सबैभन्दा ठूलो पार्टीको हैसियतले सरकार गठन ग¥यो ।
मनमोहन अधिकारी प्रधानमन्त्री, गृहमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री माधव नेपाल रहेको यो पार्टीले जनताको जीवनलाई उत्थान गर्ने खालका निकै धेरै लोकप्रिय कार्यक्रम अगाडि सा¥यो र ९ महिनासम्म कार्य सम्पादन गर्दै गरेको लोकप्रिय सरकारलाई नेकाले अन्य पार्टीसँग गठबन्धन गरेर सरकारलाई ढालियो ।
यो सरकारलाई ढालेपछि नेपाली राजनीतिक क्षितिजमा काला बादल लाग्न थाले । २०५२ साल फागुन १ गते सुरु भएको माओवादी जनयुद्धको क्रममा सरकार पक्षका पुलिस, आर्मी, माओवादी पक्षका नेता कार्यकर्ता समर्थकहरु, एमाले र कांग्रेसका नेता, कार्यकर्ता र समर्थक जनता र यसरी नै व्यवसायीहरु, शिक्षकहरु, निर्दाेष सर्वसाधारण र जनताहरु समेत १७ हजारको ज्यान गयो भन्ने तथ्यांक छ ।
कालगतिले मर्नु स्वाभाविकै हो । राम्रो औषधोउपचार भएमा काललाई पनि जित्न सकिन्छ । काल समेतलाई जित्ने समाज निर्माण गर्नु मानव अभीष्ट हो । पार्टीहरुको अभीष्ट हुनु पर्दछ । कम्युनिष्ट पार्टीको अभीष्ट (लक्ष्य) हुनु पर्छ । हत्या हिंसा गर्ने लक्ष्य वा अभीष्ट त हुनै हुँदैन ।
यसरी ७५ वर्षसम्मको सुनौलो इतिहास निर्माण गरिसकेका पार्टीहरुलाई २०८२ भाद्र २३ र २४ को जेनजी नामक विद्रोहको हत्या, हिंसाबाट सत्ताच्यूत गरायो भने २०८२ फागुन २१ गते भएको निर्वाचनले पनि उक्सिन दिएन । सरकार र सत्ताबाट बाहिरै परे किन ? यो लेखाजोखाको विषय हो ।
टिओबी भेष्टधारी को हुन् ? यी कसका नेता वा कसका सुरक्षा गार्ड हुन् । जसले हत्या, हिंसा गराउन राष्ट्रिय सम्पदा जलाउने काम गरे ।
भन्छन्– यी त तिब्बतलाई स्वतन्त्र बनाउन (फ्रिटिवेट) बनाउन नेपालमा शरणार्थीका रुपमा बसोबास गर्दै आएका दलाइ लामा समर्थक हुन् । नेपाल एक चीन नीतिमा अडिक भन्छन् । तर यी शरणार्र्थीलाई हाम्रा नानीबाबुको शान्तिपूर्ण आन्दोलनमा कसले तानेर ल्यायो । यदि यस्तो हो भने अन्त्यमा नेपाल सरकारले नेपालबाट यिनलाई खेदनुपर्छ नेपालमा बसेर नेपालमै विध्वंस गर्दै बस्न पाइंदैन मूर्दावाद भन्नुपर्छ ।
हामी नेपालीको एउटा नराम्रो स्वभाव छ । स्वार्थ मिल्यो भने देशघाती देशहरु साम्र्राज्यवादीलाई पनि स्वागत गर्ने बधाई भन्ने । स्वार्थ मिलेन भने मात्रै उही मान्छेले उही मुखले मूर्दावाद भन्ने ।
जेनजीहरुको शान्तिपूर्ण जुलुसमा टिओबीधारीहरुलाई डाक्ने बोलाउने र ताण्डव नृत्य गराउनेको छानविन खोई ? छानबिन गर गराऊ । अहिले कांग्रेस पनि विभाजित मनस्थितिमा छ । विभाजित नभएको राम्रो । सिद्धान्त विचार व्यवहार मिल्दैन भने विभाजित राम्ररी अघि बढे राम्रो !
कम्युनिष्टतर्फको कुरा गर्दा नेपाली कम्युनिष्टतर्फ धेरै नेता भए जस्तो देखिन्छ । अब बुढाबा, हजुर बा मात्रै भएर हुँदैन, ठाउँ डाँडेर नबसेकै राम्रो यता यसरी नै एमालेतर्फ र अन्य कम्युनिष्ट समूहहरु बुढाबा, हजुरबाहरुले ठाउँ डाँडेर नबसेकै राम्रो । बुढाबा मात्र होइन हाम्रा युवा नेता भन्नेहरुले पनि तातो रगत उमालेर मात्र हुँदैन, अध्ययनशील, परिश्रमशील र उत्पादनशील बनेर देखाउन जरुरी छ ।
विरोधका लागि विरोध गरेर हुँदैन । पुनव्र्यवस्थापन भनेको अध्यक्ष हटाऊ अभियान मात्र होइन । अन्य पदाधिकारीहरुले ख्याल गर, सुधार गर, आत्म समीक्षा गर । यति मात्र होइन, एउटै व्यक्ति पटकपटक संसद कति पटकपटक मन्त्री बन्ने ? कति पटक पार्टीकोे केन्द्रीय सदस्य बन्ने ? यो ख्याल गर्न पर्दैन ? तिमीहरु पनि ठाउँ डाँडेर नबस ।
अन्त्यमा कम्युनिष्ट एकता, वाम एकता नहोस् भनेको होइन, सबैभन्दा पहिले त केही हैन जनता र राष्ट्रको हितभलोको पक्षमा कार्यक्रम प्रस्तुत गर । जनताले फलना नेता कार्यकर्ता सफा छ, पारदर्शी छ, इमान्दार छ भनेर छर्लङ्ग पारेर व्यवहारमा देखाऊ ।




