लुम्बिनी संवाददाता
बुटवल
जितगढी विजयोत्सव धुमधामका साथ मनाइएको छ । वि.सं. १८७२ बैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो ।
बुटवल उप–महानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जितगढी विजयोत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ मनाइएको हो ।
कार्यक्रमको लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको जनाए ।
मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न निरन्तर पहल भइरहेको बताए ।
‘यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचीकृत गर्ने र जितगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ,’ उनले भने–‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ ।’
उनले जितगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए । रुपन्देही जिल्लालाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताए ।
मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राखे । ‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो ।’–उनले भने । उनले जितगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबै नेपालीको दायित्व भएको बताए ।
कार्यक्रम बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र पहिचानलाई जिगतढीले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका उनले जितगढीको विकासका लागि यहाँका स्थानीयसहितको समन्वयमा सुरक्षा गर्दै यसको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
बुटवल उप–महानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले जितगढीलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा इतिहासविद् देवेन्द्रराज शाक्य ले जितगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएका थिए ।
वि.सं. १८७२ बैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो ।
उजिरसिंह थापा को नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए । उक्त युद्धमा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।
इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले विजय प्राप्त भएमा भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । विजयपछि पाल्पामा मन्दिर निर्माण गरिएको र हालसम्म भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ । चुरे पर्वतको काख र तिनाउ नदीको पश्चिम किनारमा रहेको जितगढी किल्ला सेनकालीन समयमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धपछि विजयको प्रतीकका रूपमा यसको नाम ‘जीतगढी’ रहन गएको हो ।




