बुटवल । सरकारले सुकुम्बासी बस्ती भत्काएपछि आफ्नो घरजग्गा नभएको भन्दै नाम टिपाउने पीडितको संख्या बढ्दै गएको छ। सोमबार अपराह्नसम्म ६०७ परिवारले विवरण टिपाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नदी तथा खोला किनारका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएपछि शनिबार र आइतबार काठमाडौँका पाँच बस्तीमा डोजर चलेको थियो। बस्तीबाट हटाइएका सुकुम्बासीलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलन गर्न थालिएको थियो।
रंगशालामा आएर सोमबार अपराह्नसम्म ६०७ परिवारले विवरण टिपाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ती परिवारमा दुई हजार ५६५ जना रहेका छन्।
नाम टिपाउने क्रम जारी रहेको छ। ‘आफ्नो जग्गा, घर, आयस्रोत नभएको र सहयोग गर्ने कोही नभएको भनेर सरकारको सम्पर्कमा आउने क्रम बढेको छ,’ प्रधानमन्त्री शाहकी संचार विज्ञ दीपा दाहालले भनिन्।
यसरी सम्पर्कमा आएका परिवारलाई होटल र कीर्तिपुरमा राखिएको दाहालले जानकारी दिइन्। ‘अब त्यहाँबाट नै सुकुम्बासी हो या होइन भन्ने पहिचान गरिनेछ। अहिलेलाई १५ दिन जति लाग्छ भनिएको छ,’ उनले भनिन्।
छानबिनपछि सुकुम्बासी परिवारलार्य नागार्जुनस्थित सरकारी अपरार्टमेन्टमा राख्ने तयारी छ। त्यो पनि अस्थायी बसोबास मात्रै हो। त्यसपछि दीर्घकालिन व्यवस्थापनमा लाग्ने प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, तत्काललाई थप बस्ती नहटाइने भएको छ। नदी किनारका बस्ती मात्रै हटाउने योजना रहेको जनाइएको छ। ‘पूर्व निर्णय अनुसार अहिलेलाई थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहारा मात्रै नदी किनार र जोखिमपूर्ण वस्ती खालि गरिएको हो,’ संचार विज्ञ दाहालले भनिन्।




