नवीन लोचनमगर
रोल्पा
शारीरिकरुपमा अशक्त रहेका रोल्पा नगरपालिका–१०, धाङ्सीका १२ वर्षीय सन्देश बुढामगरलाई शिवम् सिमेन्ट्सले माध्यमिक तहसम्मको अध्ययनका लागि सहयोग गर्ने भएको छ ।
दुवै हात नचल्ने सन्देशले खुट्टाको सहायताबाट परीक्षा दिइरहेको भिडियो सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा सार्वजनिक भएपछि सोमबार शिवम् सिमेन्ट्सका मार्केटिङ उपमहाप्रबन्धक केशव अर्यालले घरमै पुगी माध्यमिक तहसम्मको अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनलाई बुवा रामु बुढाको साथमा काठमाडौं लगिएको छ ।
धाङ्सीकै नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ को परीक्षा दिएका सन्देशले खुट्टाले लेखेर अहिलेसम्म अध्ययन गरिरहेका छन् । जन्मजात दुबै हात नचल्ने र खुट्टाको सहारामा अध्ययन गरिरहेका उनका लागि रोल्पामा कुनै अपाङ्गमैत्री विद्यालय नभएकाले काठमाडौंमा लगेर अध्ययन गराउने योजना रहेको केशव अर्यालले बताए ।
उनका अनुसार सन्देशको अध्ययनका लागि काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरिसकिएको छ । उनको रेखदेख र आवासीय व्यवस्थापनमा अपाङ्ग नवजीवन केन्द्रले सहयोग गर्ने बताइएको छ । शिवम् सिमेन्ट्सले केन्द्रलाई अर्धवार्षिक रकम हस्तान्तरण गर्ने अर्याल बताउँछन् ।
‘पैसा दिनुभन्दा शिक्षा दिँदा सन्देशको भविष्यका लागि उपयोगी हुने सोचेर अध्ययनमा सहयोग गर्ने योजना बनायौं,’ अर्यालले भने–‘उनको पढाइमा करिब वार्षिक ३० हजार रुपैयाँ खर्च हुने अनुमान छ, त्यसलाई अर्धवार्षिकरुपमा सहयोग गर्छौं ।’
यता सन्देशका बुवा रामु बुढाले विकट ठाउँ, आर्थिक अवस्था कमजोर रहेको र अपाङ्गताका कारण समस्या भोग्दै गरेको अवस्थामा शिवम् सिमेन्ट्सले छोराको अध्ययनमा सहयोग गर्ने कुराले आफूलाई निकै खुसी लागेको बताए ।
त्यस्तै सन्देशलाई अध्यापन गराइरहेका धाङ्सीका शिक्षक खिमराज बुढामगरले दुवै हात नचल्दा पनि अध्ययनप्रतिको उनको मेहनतले उचित वातावरण पाएमा ठूलै प्रगति गर्ने विश्वास व्यक्त गरे ।
समाजका हरेक वर्गको विकासमा साथ दिने लक्ष्यअनुरुप विशेष क्षमता र आवश्यकता भएका बालबालिकाहरुलाई उनीहरुको आवश्यकताअनुसारको अपाङ्गमैत्री शैक्षिक संस्थामा अध्ययनको अवसर प्रदान गर्ने गरिएको कम्पनीले जनाएको छ ।




