तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ । मणिग्राम चोकदेखि करिब सयमिटर उत्तरमा स्थापना गरिएको उक्त फार्मेसीको उद्घाटन नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रूपमा गरेका हुन् ।
उक्त फार्मेसी बुड्स मेडिको कन्सर्नको व्यवस्थापनमा पाँच वर्षका लागि सञ्चालन हुने गरी सम्झौता गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खाणले स्थानीय तहबाट नेपालमै पहिलोपटक यस्तो प्रयास गरिएको दाबी गरे । उनले गुणस्तरीय तथा मान्यताप्राप्त औषधि सहज रूपमा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै भौतिक विकाससँगै मानवीय विकासमा पनि ध्यान दिनुपर्ने बताए । फार्मेसीमार्फत औषधिमा २५.१० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिँदै उनले यसबाट आम नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे । साथै, सेवा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाको यो पहलले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सहजता ल्याउने बताइन् । उनले सुलभ र भरपर्दो औषधि सेवा विस्तारमा निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमै समावेश गरी फार्मेसी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले डाक्टरको पे्रस्क्रिप्सनका आधारमा गुणस्तरीय औषधि सस्तो मूल्यमा उपलब्ध गराइने व्यवस्था मिलाइएको बताए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रुस्तम कंडेलले नगरपालिकाको यो कामलाई उदाहरणीय भन्दै सेवा थप विस्तार गर्नुपर्ने र नियमित अनुगमन आवश्यक रहेको बताए । नेकपा एमालेका नगर अध्यक्ष मिन प्रसाद पोख्रेलले नगरबासीको हितमा गरिएको कार्य भएकाले यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग र निगरानी आवश्यक रहेको धारणा राखे । नेपाली कांग्रेसका सभापति हरिलाल पाण्डेले घरघरमै औषधि सेवा सहज बनाउने दिशामा यो पहल महत्वपूर्ण भएको उल्लेख गरे ।
कार्यक्रममा तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष नेत्र प्रसाद न्यौपाने, तिलोत्तमा–५ का वडा अध्यक्ष रमेश डुम्रे,स्वास्थ्य शाखाका अधिकृत तथा स्वास्थ्य निरीक्षक रामप्रसाद ढकालले पनि आफ्ना धारणा राखेका थिए । सो फार्मेसीको सटर भाडा नगरपालिकाले व्यवस्थापन गर्ने छ भने औषधि खरिद बिक्री बुड्स मेडिकोले नै गर्ने छ ।
सम्झौताअनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिरिदिने छ । फार्मेसीमा सबै देश र कम्पनीका औषधि उपलब्ध हुनेछन् ।
नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवा गर्ने बिरामीलाई सेवा दिन प्राथमिकता दिएर फार्मेसीको अवधारणा पालिकाले अघि सारेको बताए । यसले बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन यसले सहयोग पु¥याउने विश्वास लिइएको छ ।




