बुटवल । श्रमिक दिवसको पूर्वसन्ध्यामा रुपन्देहीको तिलोत्तमा–१, ड्राइभरटोलमा रहेकाे न्यू होराइजन कलेजले सरसफाइ तथा कार्यक्रम गरेकाे छ । स्थानीय स्तरमा सरसफाइप्रति जागरूकता बढाउने उद्देश्यले “टोल सरसफाइ तथा सचेतना कार्यक्रम” सञ्चालन गरिएको बिद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले जानकारी दिए ।
कलेजको विद्यार्थी काउन्सिल, बी.एससी. प्रोग्राम आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा टोल क्षेत्रमा सरसफाइ गरिनुका साथै वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीका विषयमा जनचेतना फैलाइएको बिद्यार्थी विवेक पौडेलले बताए । कलेजबाट निस्केका बिद्यार्थीहरुले कलेज प्रांगण, हाटबजार र ड्राइभरटोल चोक लगायतमा सरसफाइ गरिएकाे थियाे ।
उक्त कार्यक्रममा प्राचार्य आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, प्राध्यापक डा. तारानाथ भट्टराई तथा टोल समितिका फर्शुराम भण्डारीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले श्रमिक दिवसको महत्वलाई स्मरण गर्दै श्रमको सम्मान र सामाजिक उत्तरदायित्वबारे सन्देश प्रवाह गरेका थिए। यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको प्रध्यापक डा तारानाथ भट्टराइले बताए । कार्यक्रम रसायन शास्त्रका प्राध्यापक दिपक केसिको संयोजकत्वमा सम्पन्न भएको थियो ।




