शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारभरका बौद्धमार्गीको मात्रै नभएर अहिंसा र शान्तिप्रेमीहरुको समेत आस्थाको केन्द्र हो । विश्व शान्तिको मुहान लुम्बिनीले संसार सामु हाम्रो शिर उचो भएको छ । लुम्बिनीकै कारण संसारभर नेपालको परिचय स्थापित भएको छ । लुम्बिनीको गरिमा र महत्वका धेरै विषयहरु छन्, जसले नेपालको परिचय र गौरव बढाएका छन् । लुम्बिनी हाम्रा लागि आर्थिक समृद्धिको आधार हो, तर किन हामी समृद्धिसँग जोड्न सकिरहेका छैनौं ?
लुम्बिनी गुरुयोजना सुरु भएको पाँच दशक भयो अझै गुरुयोजनाको काम पूरा हुन सकेको छैन । गुरुयोजनाको काम छिटो पूरा गर्न पछिल्ला वर्ष तत्परता देखिए पनि गुरुयोजना पूरा गर्नको लागि बजेट खर्च गर्न सक्ने क्षमताको विकास हुन सकेको छैन । लुम्बिनी विकास कोषको बजेट खर्च गर्न सक्ने क्षमता विकास बढाउन आवश्यक छ । पहिले बजेट भएन्, काम भएन अहिले बजेट आउँछ खर्च गर्न सक्ने प्रशासनिक क्षमता विस्तार भएन ।
जापानी पुरातत्वविद् प्रो. केञ्जो टांगेले तयार गरेको गुरूयोजना पूरा गर्न जति आवश्यक छ । बृहत्तर लुम्बिनी क्षेत्रको विकासको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक छ । अब लुम्बिनीलाई केन्द्रविन्दु मानेर रूपन्देही, नवलपरासी र कपिलवस्तुका बौद्ध स्थलको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धन एकीकृत ढंगले गर्न आवश्यक छ । त्यसका लागि एशियाली विकास बैंकको ऋण सहयोगमा काम अघि बढाउने तयारी सरकारले गरेको छ ।
लुम्बिनीलाई प्रदूषणबाट मुक्त पार्न सर्वोच्च अदालतले भदौ १ गते लुम्बिनीबाट १५ किमी क्षेत्रभित्रका उद्योगहरुलाई अन्यत्र सार्न परमादेश जारी गरेको छ । अदालतले दुई वर्षभित्र यहाँका उद्योगलाई अन्यत्र सार्न निर्देशन दिएकाले प्रदूषणले यहाँका सम्पदास्थल जोखिमबाट जोगाउन बल पुगेको छ । पहिले यहाँ उद्योग स्थापना गर्न दिएर राज्यले गल्ती ग¥यो । अब अदालतको आदेश कार्यान्वयनमा चुनौती छ । नवलपरासी र कपिलवस्तुका सांस्कृतिक सम्पदा आसपास पनि उद्योग खोल्न स्वीकृति नदिने वातावरण बनाउन आवश्यक छ । अहिलेदेखि नै यहाँ उद्योग खोल्न स्वीकृति नदिने हो भने राज्यलाई अनावश्यक बोझ र तनाव हुँदैन । र, उद्योगीको लगानी डुब्ने जोखिम पनि हुन्न । राज्यको सम्पदा संरक्षणमा दीर्घकालीन नीतिको अभावले समस्या भएको छ ।
लुम्बिनीलाई साँच्चै विकास गर्ने हो भने केञ्जो टांगेको गुरुयोजनालाई तलमाथि नगरी अघि बढाउन आवश्यक छ । विभिन्न विहारहरुले अनुमति विना बनाएका संरचनालाई भत्काउन आवश्यक छ । र, विगतमा मापदण्डविपरीत दिइएका अनुमतिलाई खारेज गर्न आवश्यक छ । विहार क्षेत्रलाई विदेशीहरुको प्रतिस्पर्धाको थलो होइन, आध्यात्मिक जागरणको थलोको रुपमा विकास गर्न प्रोत्साहन गर्नु उपयुक्त हुनेछ । सबैभन्दा महत्वपूर्ण विषय लुम्बिनीको विकासप्रति स्थानीय समुदायले अपनत्व लिनुपर्छ । अपनत्व लिने अवसर दिने काम लुम्बिनी विकास कोषले हो । समुदायले अपनत्व लिनका लागि स्थानीय सरकारलाई लुम्बिनीको विकासमा साझेदारको रुपमा सँगै हिंडाउनुपर्छ । लुम्बिनी विकास कोषप्रति स्थानीय नागरिकको असन्तुष्टि कुनै बेला बेग्लै रुपमा विष्फोट हुने जोखिमलाई ख्याल गर्नुपर्छ । मूलतः समुदायलाई सँगै हिंडाउन सक्दा मात्रै दीगो विकासको आशा गर्न सकिन्छ ।
लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्न भैरहवामा गौतमबुद्ध विमानस्थल तयार भयो, तर उडान हुन सकेको छैन । अहिले विभिन्न बौद्धमार्गी मुलुकबाट दैनिक ठूलो संख्यामा पर्यटक आउनुपर्ने हो । तर अर्बौं लगानीको विमानस्थल सुनसान झैं छ । अर्बौं लगानीको लुम्बिनी नजिकको विमानस्थलमा किन बौद्धमार्गी पर्यटक ल्याउन सकिएन ? के गर्दा ल्याउन सकिन्छ ? यसबारेमा योजना बनाएर कार्यान्वयन गर्न ढिलाइ भयो ।
बुद्ध जयन्तीका अवसरमा लुम्बिनीलाई समृद्धिसँग जोड्न पहलकदमीबारे चिन्तन गरौँ । बुद्ध जयन्तीको सबैमा शुभकामना !




