डा.तारानाथ भट्टराई
हाम्रो श्रमको के मूल्य छ र यहाँ ? यो देशमा पसिनाको सम्माननै छैन । हाम्रो श्रमको अलिकतिपनि सम्मान हुने भए, कसलाई रहर छ र अरुको देशमा पसिना बगाउने ? कृषि पेशा गरी घरमा गाईँ भैसी पाल्नेको भन्दा कुकुर पाल्नेको इज्जत हुने, आफ्नो काम आफैले गर्नेको भन्दा अर्काको छोरा÷छोरीलाई काम कज्याउने को बढी इज्जत हुने, इत्यादि जस्ता हाम्रो समाजमा ब्याप्त यी यर्थाथ प्रवृत्तिहरु समाज विकासका प्रमुख बाधकहरु मध्ये रहेको मानिन्छ ।
‘श्रम विना कुनै पनि कुराको विकास सम्भव हँुदैन ।’ दार्शनिक सोफेकेलेसको यो पंक्तिले श्रमको महत्व प्रष्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ । त्यसैरी श्रम विना समाज अगाडि बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको विकासको निमित्त शान्तिपूर्ण क्रान्ति अगाडि बढाउने दाबी महात्मा गान्धीले गरेका छन् । कार्ल माक्र्सले श्रमलाई समाजमा आमूल परिवर्तन गरी पूनःसंरचनाको मार्गमा अगाडि बढाउने कारक तत्वको रुपमा ठोकुवा गरेका छन् । अब्राहम लिङ्कनले कुनै पनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एकमात्र आधारको रुपमा श्रम नै भएको कुरा दाबी गरेका छन् । दार्शनिक कन्फ्यूसियसले श्रम अर्थात मेहनत मानिसको अपरिहार्य सद्गुण हुनुपर्नेमा जोड दिएका छन् । यसरी उल्लेखित अभिव्यक्तिहरुका आधारमा भन्न सकिन्छ कि श्रम अर्थात मेहनत नै हरेक विकास तथा परिवर्तनको आधार हो । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र तथा समग्र विश्वको परिवर्तन सुधार तथा विकासको निमित्त श्रमको आवश्यकता पर्दछ । श्रम विना कुनै पनि सकारात्मक प्रकृया अगाडी बढ्न सक्दैन । अतः जुन व्यक्ति, परिवार तथा समाजमा श्रम वा मेहनत गर्ने परिपाटी हुन्छ, त्यहाँ विकास तथा परिवर्तन हुन्छ, अन्यथा त्यो यथास्थिति मै रहन्छ । यसरी श्रमको मात्रा ले नै विकासको गति निधारण गर्दछ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरुले गर्ने श्रम र श्रम प्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ ।
श्रम प्रतिको दृष्टिकोण समाजमा व्याप्त संस्कृतिबाट प्रभावति हुन्छ र त्यसले श्रमको मूल्याङ्कनलाई प्रत्यक्ष्य प्रभाव पारेको हुन्छ । समाजमा व्याप्त प्रत्येक पेशा, व्यावशाय तथा कार्यहरु श्रमसँग जोडिएका हुन्छन् र उक्त पेशा तथा कार्यहरुलाई हेर्ने दृष्टिकोण समाज अनुसार फरक पर्दछ जसको मुख्य कारण समाजमा विद्यमान संस्कृति (जुन धर्मसँग पनि जोडिएको हुन्छ) हो भन्ने आशय कार्ल माक्र्स को रहेको छ । कुनै पनि पेशा अथवा कामलाई सानो वा ठूलो, राम्रो वा नराम्रो उच्चस्तरको वा निम्नस्तरको भनि निर्धारण गर्नमा विद्यमान समाजमा व्याप्त संस्कृतिको ठूलो भूमिका हुन्छ । अतः कुनै पनि समाजमा श्रमको कति सम्मान गरिन्छ भन्ने कुरा त्यस समाजमा व्याप्त संस्कृतिले निर्धारण गर्दछ । मूलतः हिन्दु धर्मद्वारा निर्देशित हाम्रो संस्कृतिमा परम्परादेखि नै उच्च तथा निम्न जात वा वर्णका आधारमा पेशा तथा कार्य विभाजन र सोही अनुरुपको दृष्टिकोण निर्धारण भई अझसम्म पनि त्यसको प्रभाव रही रहेको पाइन्छ भन्ने धारणा शिक्षाविद् विद्यानाथ कोइरालाको रहेको छ । उदाहरणको लागि सुकिलो कपडा लगाई कुर्सीमा बसेर गरिने पेशा तथा कार्यहरुलाई उच्च सम्मान दिइनेतर खेतवारी, भवन निर्माण कलकारखाना इत्यादि जस्ता पेशा तथा कामहरुलाई निम्न दृष्टिकोणले हेरिने यथार्थ हाम्रो समाजमा विद्यमान छ । सामान्यतया यदि कसैले सजिलो खालको कार्य गर्दछ भने त्यसलाई राम्रो पेशा मानिन्छ तर अप्ठयारो अर्थात् शारीरिक श्रम बढी प्रयोग हुने कार्य गर्दछ भने त्यसलाई नराम्रो मानिने साँघुरो दृष्टिकोण अझ पनि हाम्रो समाजमा व्याप्त छ । कुनै पनि व्यक्तिसँग पहिलो पटक भेट हँुदा उसले के काम गर्दछ भन्ने प्रश्न हाम्रो समाजमा मुख्य चासोको विषय मानिन्छ । अनि उसले गर्ने काम तथा पेशाको आधारमा उ प्रतिको दृष्टिकोण तथा सम्मानको तह निर्धारण गरिन्छ । तर उसले उक्त काम कसरी गर्छ ? कति मिहनेत तथा इमान्दारिताका साथ गर्छ भन्ने कुराको त्यति चासो राखिन्न । मानौ कुनै सार्वजनिक स्थलमा बाटो खन्ने कार्य भइरहेको छ, मरिमरि पसिना चुहाई बाटो खन्नेहरुलाई भन्दा त्यहाँका कथित नाइकेहरु जो अनावश्यक गफ गरेर बसिरहेका हुन्छन्, तिनीहरुलाई नै ठूला मान्छेको दर्जा दिइन्छ, सम्मान गरिन्छ । जसले गर्दा पसिनाको मूल्य नगन्य हुनजान्छ । फलःस्वरुप सबैलाई नेता बन्ने होडबाजी, कुर्सीमा बस्ने तछाडमछाड को परिपाटीको विकास हुनजान्छ । मेहनत गर्ने परिपाटी निरुत्साहित भई ठगी तथा भ्रष्टचारी मौलाउँदै जान्छ ।
उत्पादनशिलतामा काम आउँछ, विकासको गति कमजोर हुँदैजान्छ । हाम्रो समाज यही कुसंस्कृतिले ग्रसित छ, त्यसैले विकासमा पछाडि छ । तर विकसित समाजको संस्कृतिले यस्तो भन्दैन । पश्चिमेली विद्वान इडविनले दाबीका साथ भनेका छन् की तपाईंको श्रमको सम्मान तपार्इंले के काम गर्नुहुन्छ ? मा होइन, तपाईंले त्यो काम कसरी गर्नुहुन्छ ? मा हुन्छ । यसबाट स्पष्ट हुन्छकी श्रमको मूल्याङ्कन कुनै पनि व्यक्तिको कार्यशैली, इमान्दारिता, कार्यदक्षता तथा प्रभावकारिताका आधारमा गरिनु पर्दछ । यसरी हेर्दा श्रमको सम्मान भनेको त मेहनेतको सम्मान हो । पसिनाको सम्मान हो । इमान्दारिताको सम्मान हो । कार्यदक्षता, प्रभावकारिता अथवा सीपको सम्मान हो ।
कुनै पनि काम सानो हुँदैन, जुनसुकै काम जसले मानव र मानवताको हित गर्छ, त्यसको समान महत्व हुन्छ र त्यसलाई सधँै सम्मान गरिनु पर्दछ भनि मार्टिन लुथर कींङ्ग जुनियरले ठोकुवा गरेका छन् । विकसित देशहरुमा तपाईं के काम गर्नुहुन्छ ? भन्ने प्रश्न सोधिंदैन बरु तपाईं कुन ठाउँमा काम गर्नुहुन्छ ? कति घण्टा काम गर्नुहुन्छ ? भनेर सोधिन्छ । यसले हाम्रो र उनीहरुको पेशाा प्रतिको दृष्टिकोणमा स्पष्ट भिन्नता देखाउँछ । फलानोले के पेशा ÷के नोकरी गर्छ ? यो हाम्रो चासो हो, अनि संस्कति हो । यसैबाट हामी प्रशिक्षित छौं । त्यसैले यो हाम्रो शिक्षा पनि हो । फलानोले कति इमान्दारिता र प्रभावकारिताका साथ काम गर्छ ? यो प्रश्न हाम्रो संस्कृतिमा गौण देखिन्छ ।
तुलनात्मक रुपमा हेर्दा विकसित देशहरु र हाम्रो समाजमा श्रम प्रतिको दृष्टिकोणमा ठूलो भिन्नता देखिन्छ । उदाहरणको लागी अमेरिकामा भवन निर्माण, विद्युत् तथा धारा जडान मर्मत, घर पेन्टीङ्ग, ढल सरसफाइ इत्यादि जस्तो शारीरिक श्रमजन्य कार्यहरुलाई अरु सामान्य कार्य (जस्तै पसलमा सामान वेच्ने, निरीक्षण गर्ने) भन्दा दशगुणासम्म बढी परिश्रमिक दिइन्छ । यसको अर्थ जत्ति बढी श्रम, त्यत्ति नै सम्मान भन्ने बुझिन्छ । तसर्थ अमेरिकामा यस्ता कामहरु प्राप्त गर्न सामान्य व्यक्तिहरुमा तछाडमछाडको परिस्थिति सृजना भएको पाइन्छ । यस्ता कामदारहरुको आम्दानी बढी हुने भएकोले जीवनस्तर तथा जीवन शैली आकर्षक हुन्छ । तर हाम्रो समाजमा यसको ठीक उल्टो परिस्थिति व्याप्त छ । सकी नसकी पसीना बगाई उच्च शरीरिक जोखिम मोलेर काम गर्नेहरुको परिश्रमिक नगन्य हुन्छ, साथै उनीहरुलाई सामान्यतया समाजले हेर्ने दृष्टिकोण पनि निम्न हुन्छ, जीवनस्तर पनि कठिन हुन्छ ।
बाँकी ३ पेजमा




