परासी । २५७० औं बुद्ध जयन्ती को अवसरमा नवलपरासी (पश्चिमं) मा पर्यटन प्रवर्द्धनका लागि पण्डितपुरदेखि रामग्राम स्तूप सम्म बृहत् साइकल र्याली गरिएको छ। रामग्राम नगरपालिकाले पण्डितपुर रामग्राम स्तूपाको पर्यटन प्रबर्द्धन गर्न उदेश्यले बृहत् साइकल र्याली गरेको हो । र्यालीमा करिब एक हजार साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको नगरपालिकाका मेयर धनपत यादवले बताए ।
बुद्धसँग प्रत्यक्ष सम्बन्ध जोडिएको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तूपको प्रचार–प्रसार गर्ने उद्देश्यले फरक शैलीमा कार्यक्रम आयोजना गरिएको नगरप्रमुख धनपत यादव ले जानकारी दिए। उनका अनुसार परम्परागत कार्यक्रमभन्दा पृथक् तरिकाले युवापुस्तालाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको हो। हामिले यसको बिकास गर्न चाहिँ रहेका छौ,नगरपालिकाले चाहेर पनि काम गर्न पाएका छैनौ,न लुम्बिनी बिकास कोषले आफुले काम गर्छ,न हामिलाई काम गर्न दिन्छ,बास्तवमै भन्ने हो भने उपेक्षा नै गरिएको हामिले महसुस गरेका छौ नगरप्रमुख यादवको गुनासो छ ।
र्याली पण्डितपुरबाट सुरु भई विभिन्न स्थान हुँदै रामग्राम स्तूपमा पुगेर समापन गरिने छ । कार्यक्रममार्फत बुद्धसँग सम्बन्धित ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह सक्रिय रहेको सन्देश दिइएको आयोजकको भनाइ छ।
रामग्राम स्तूपलाई बुद्धको एकमात्र अस्थि धातु रहेको स्थलका रूपमा चिनिन्छ, जसले यसको धार्मिक तथा पर्यटन महत्त्व झन् बढाएको छ। यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न टेवा पुग्ने विश्वास गरिएको छ। साईकल यात्रुको नेतृत्व रामग्राम निवासी स्थानीय साईकल राईडर बिष्णु खड्काले गर्नु भएको छ ।साईकल यात्रामा युवाहरुको उत्साहजनक सहभागीता रहेको खड्काले बताए । र्यालीमा स्थानीय ,विद्यार्थी एवम् विभिन्न संघ सस्थाको सहभागीता रहेको थियो । रामग्राम नगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओम प्रकाश यादवले रामग्रमा नगरपालिकाले गरेको साईकल र्यालीले यसको प्रचार प्रसारमा फरक सन्देश दिएको उल्लेख गरे ।
स्थानीयवासी तथा सहभागीहरूले यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य सचेतना र वातावरण संरक्षणको सन्देश पनि साइकल र्यालीमार्फत प्रवाह गरिएको आयोजकले जनाएको छ।नगरपालिकाले हरेक बर्षजसो विभिन्न कार्यक्रम गर्दै आएपनी लुम्बिनी बिकास कोषले यसको प्रचार प्रसार र प्रवर्द्धनलाई उपेक्षा गरेको स्थानीयको गुनासो रहेको छ ।




