अर्घाखाँची । निर्माणाधीन अर्घा भगवती विमानस्थलले गति लिँदै जाँदा संघीय सरकारको चासोसमेत बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) ले आज सन्धिखर्कस्थित विमानस्थलको स्थलगत अवलोकन गर्दै निर्माण प्रगतिको प्रत्यक्ष समीक्षा गर्नुभएको हो।
अवलोकनका क्रममा मन्त्री पौडेललाई सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ तथा स्थानीय प्रतिनिधि कुशल भुसालले हालसम्म सम्पन्न काम, बाँकी संरचना र आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराएका थिए।
निर्माण सम्पन्न भएपछि अर्घा भगवती विमानस्थलले जिल्लाको यातायात पहुँचमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि र समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थलगत अवलोकन कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरि भुसाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिनेश सुनार तथा चिरञ्जीवी सुनार, निर्माण व्यवसायी नारायण बन्जाडे, कृष्ण भुसाल, प्रेम थापा र समाजसेवी दल बहादुर केसीलगायतको उपस्थिति रहेको थियो।
सुपा देउरालीमा मन्त्रीकाे स्वागत
अर्घाखाँचीकाे प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) लाई मन्दिर व्यवस्थापन स्थानीय अगुवाले मायाकाे चिनाे सहित स्वागत गरेका छन् ।
मन्त्री पाैडेल सगसगै अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य माननीय हरि प्रसाद भुसाल व्युठानका प्रतिनिधिसभा सदस्य सुशान्त बैद्विक रास्वपाका नेता दिनेश सुनार निर्माण व्यवसायी कृष्ण भुसाल प्रेम थापा लगायतकाे सहभागीता रहेको थियाे ।
सुपादेउरालीमा श्रदालुभक्तले विगत देखि पार्किङ व्यवस्थापन , खानेपानीकाे बैकल्पिक व्यवस्थापन फाेहाेरमैलाकाे व्यवस्थापन लगायतका समस्या भाेग्दै आएका छन् यी समस्याका बारेमा मन्दिर व्यवस्थापन समिति र स्थानीय अगुवाले मन्त्री पाैडेल र प्रतिनिधिसभा सदस्य हरि भुसालको ध्यानाकर्षण गराएका छन् ।




