नवराज पाण्डे
३० वर्ष लामो निरकुंश पञ्चायती व्यवस्था यत्तिकै अन्त्य भएको थिएन । पञ्चायको अन्त्य तथा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षको इतिहास अध्ययन गर्दा प्रायः पुरुषहरूको चर्चा हुन्छ ।
राजनीतिक सङ्घर्ष, त्याग र बलिदान केवल पुरुषहरूले गरेको जस्तो प्रस्तुत गरिन्छ । तर कुनै राष्ट्रको राजनीतिक परिवर्तनमा समाजका विभिन्न तह र तप्का मानिसहरूको भूमिका हुन्छ । डा. विन्दा पाण्डेको सम्पादकत्वमा भर्खरै प्रकाशित ‘भूमिगत महिला’ वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्याय स्थापनाका लागि योगदान गरेका २८ साहसी महिलाको जीवन भोगाईको अभिलेख हो ।
परिवर्तनका लागि परिवार, बालबच्चा, अध्ययनलाई त्यागी बलिदानी भावनासाथ समर्पित महिला योद्धाहरूको कथा हो । मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित यो पुस्तकमा पञ्चायती निरकुंशता विरुद्धको लडाईमा महिलाहरूको भूमिकालाई संयोजक डा. विन्दा पाण्डे र साथीहरूले ज्यादै प्रभावकारी रूपमा संयोजन गर्नुभएको छ।
विशेषगरी २०४६ सालको परिवर्तनभन्दा पहिलेको नेपालको राजनीतिक अवस्थाको बारेमा चित्रण गरिएको यस पुस्तकमा निरंकुश व्यवस्था र परिवर्तनको लागि महिलाले पुर्याएको योगदानको नखुलेका कथाहरू उल्लेख छन् । त्यसअर्थमा यो एउटा महत्वपूर्ण दस्तावेज हो र नयाँ पुस्ताको लागि पञ्चायती कठिन समय महसुस गर्नका लागि उपयुक्त पुस्तक हो ।
पुस्तकमा हामी सङ्घर्षशील महिलाका अपत्यारिला योगदानहरू भेट्छौ । १६ वर्षको उमेरमा स्कुल छोडेर क्रान्तिको लागि होमिएकी गौरा प्रसाईले भोगेको धरपकड र यातनाको कथाले विद्रोही आवाजलाई तत्कालीन सरकारले कुन स्तरमा दबाउन चाहन्थ्यो चित्रण गरेको छ। धनी किसान परिवारकी छोरी भएर पनि क्रान्तिको लागि आफ्नो दुधे बच्चा आश्रयदाताको घरमा छोडेर भूमिगत विद्रोहमा होमिएकी सीता खड्का पटक–पटक मृत्युको मुखमा पुगेको कथाले पाठकको मस्तिष्क हल्लाइदिन्छ।
अर्घाखाँचीमा जन्मिएकी शान्ता मानवीको आठ वर्षको उमेरमा विवाह भएको र १३ वर्षको उमेरमा विधवा हुनुपरेको प्रसङ्गले स्तब्ध बनाउँछ। कुनै चलचित्र वा उपन्यास जस्तो विधवा महिलाले कुन हदसम्मको मानसिक, शारीरिक, सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक तथा पारिवारिक प्रताडना भोगेपछि परिस्थितिले घर छोड्न बाध्य बनाउँछ वर्णनले पाठकको आँखा अनायासै रसाउँछ।
घर छोडेर अर्घाखाँचीदेखि पाल्पा, पाल्पादेखि भैरहवा, भैरहवादेखि लखनउ हुँदै दिल्ली पुगेर घरायसी कामदारको रूपमा काम गरिरहेकी शान्ता मित दाजु मोदनाथको आग्रहमा बनारस पुग्छिन् । त्यहाँ पुष्पलालसँग भेट हुन्छ र राजनीतिक सङ्घर्षमा सामेल हुन्छिन् ।पुस्तकमा उनको भूमिगत जीवन, सांसद र मन्त्रीसम्मको यात्राका भोगाई, जीविका र राजनीतिक संघर्षको कठोर यात्रालाई समेटिएको छ।
अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा (स्विटर बुन्ने दिदी)का संघर्षका कथाहरू पनि ज्यादै रोचक ढङ्गबाट समेटिएका छन् । प्रहरीको गोलीबाट जोगिएर जंगलमा भाग्दै गर्दा प्रहरीले जंगलमै आगो लगाएर मार्ने प्रयास गरेको सुशीला श्रेष्ठको कथाले भूमिगत समयको त्रासदी पूर्ण जीवन र कठोर सङ्घर्ष झल्काउँछ ।
आफूसँग भएका गरगहना, नगद र लगाउन किनेका छालाका जुत्ता बेचेको पैसा समेत पार्टी कोषलाई हस्तान्तरण गरेर आन्दोलनमा होमिएकी राधा तिमिल्सिना, प्रभा कोइरालाहरूका भोगाई यो संग्रहमा छुटाउनै नहुने कथा हुन् ।
भूमिगत कालमा प्रहरीलाई कब्जामा लिएर समातिएका आफ्ना सहकर्मी र पर्चा–कागजपत्र खोसेका टुका हमालहरूका साहसी कथाहरूले महिलालाई केवल अबला र कोमल ठान्ने दृष्टिकोण नै बदलिदिन्छन्।
पुस्तकमा चर्चा भएको चित्रे गाउँको कथाले निरंकुश पञ्चायतको अत्याचारले सर्वसाधारणलाई कुन हदसम्मको दमन गर्थ्यो भन्ने कुरा देखाउँछ। चित्रे गाउँका जनताहरूले भोग्नुपरेको कहाली लाग्दो कथाले यति धेरै विक्षिप्त बनाउँछ कि पाठकलाई ऐठन पारिदिन्छ, सोच्न बाध्य तुल्याउँछ।
कथामा भूमिगत कालमा विरोधी तत्त्व र प्रहरीको आँखा छल्न कहिले नक्कली बेहुला बेहुली बनेको, कहिले चुरेनी बोक्सी जस्तो राति राति राति पँधेरोमा नाच्नुपरेको, कहिले सानीमा त कहिले भान्जी बन्नु परेको तितामिठा प्रसङ्ग पनि समेटिएका छन्।
पुरुषहरूभन्दा महिलाको भूमिगत सङ्घर्ष झनै जटिल र कठोर हुन्छ । पुस्तकमा यस्ता धेरै प्रसङ्गहरू छन् ।
भूमिगत कालमै विवाह र पारिवारिक जीवन जिउने प्रयत्न भएको देखिन्छ । सबैभन्दा कष्टकर त मातृत्व हुँदोरहेछ । गर्भावस्थामा घाम देख्न नपाएको कारण बच्चा अस्वस्थ जन्मिएको, सानो बच्चा आश्रयदाताकोमा महिनौसम्म छोड्दा बच्चाले आमा नचिनेको जस्ता प्रसङ्गहरू जति कारुणिक छन् महिला योद्धाको समर्पणको घनत्व प्रष्ट पार्न यथेष्ट छन् ।
आन्दोलनको क्रममा गिरफ्तारी, जेलजीवन, शारीरिक–मानसिक यातना पाउँदा समेत विचलित नभएका योद्धाहरू नेताहरूको हानथाप र स्वार्थका कारण कार्यकर्ता भकुण्डो जस्तो बन्नु परेको अनुभवले भने पाठक मन खिन्न बनाउँछ।
यो संग्रहमा सङ्ग्रहित २८ वटै जीवन भोगाएका कथाहरू ज्यादै सशक्त छन्।लामो समयदेखि खोज र अनुसन्धानमा खारिएकी डा. पाण्डेको सम्पादकत्वमा कमजोरी र खोट लगाउने ठाउँ भेट्न मुस्किल पर्छ । भाषाशैली र प्रस्तुति ज्यादै सरल छ। विषयवस्तु यति सशक्त छ कि पाठकलाई चुम्बकले जस्तै तानिरहन्छ ।
पुस्तक पढी भ्याउँदा कथाको संकलकले तपाईंको दिमागमा अव्यक्त रूपमा एउटा यस्तो प्रश्न जन्माइदिन्छ कि त्यो रगत, पसिना, त्याग र बलिदानको उचित मूल्याङ्कन हालका दिनहरूमा भइरहेको छ कि छैन? पक्कै पनि केही समस्या र असन्तुष्टिहरू छन् । तर पुस्तकले प्रष्ट पार्छ यो देशमा वामपन्थी आन्दोलनको जग ज्यादै बलियो छ।
अन्त्यमा, यो पुस्तक वास्तवमै समाजले महिलाप्रति हेर्ने दृष्टिकोण नै बदलिदिने प्रकृतिको छ । यो पुस्तकको अध्ययन गर्दा परिवर्तनको लागि योगदान गर्नुहुने ती साहसी महिलाहरूबारे थाहा पाउने होइन सम्मान पनि हुन्छ ।




