२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राज्यको अनुपस्थितिले खल्लो बनेको बुद्ध जयन्ती

राज्यको अनुपस्थितिले खल्लो बनेको बुद्ध जयन्ती

राज्यको अनुपस्थितिले खल्लो बनेको बुद्ध जयन्ती

राज्यको अनुपस्थितिले खल्लो बनेको बुद्ध जयन्ती

राज्यको अनुपस्थितिले खल्लो बनेको बुद्ध जयन्ती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • ईन्द्रप्रसाद भुसाल
    नेपालको सांस्कृतिक, धार्मिक र ऐतिहासिक आत्मासँग गहिरो रूपमा गाँसिएको  २५७०औँ बुद्ध जयन्ती यस वर्ष भने अपेक्षित गरिमाभन्दा निकै फरक र निराशाजनक परिवेशमा सम्पन्न भएको अनुभूति भयो । विश्वभर शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने  बुद्ध जयन्तीलाई अनुपम अवसरका रूपमा हेरिएता पनि यसपटक राज्यको प्राथमिकतामा नपरेजस्तो देखियो । अन्तर्राष्ट्रिय जगतले ध्यानपूर्वक नियाल्ने यो महान र गौरवमय पर्वमा देखिएको कमजोरीले हाम्रो सांस्कृतिक चेतना र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ । अझ, बेमौसमी वर्षा र  सरकारका राष्ट्रपति प्रधानमन्त्री जस्ता प्रमुख नेतृत्वको अनुपस्थितिले समग्र वातावरणलाई झन् खल्लो बनाइदियो  भने  अर्कोतिर  यो पर्वको ऐतिहासिक महत्वसँग मेल खाने ऊर्जा र उत्साहलाई कमजोर बनायो । राज्य, सरकार र स्वयम् लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको गरिमालाई महत्व नदिनुले अन्धकारमा हराएको लुम्बिनीले बुद्ध जयन्तीलाई एउटा गहिरो प्रश्नमा रुपान्तरण गरिदियो ।  “अप्प दीपो भव” भन्ने गौतमबुद्धको सन्देश र आत्मबोधको क्रान्ति लुम्बिनी विकास कोषले भुलेको सन्देश दिन्छ । मायादेवी मन्दिरको निस्तब्धता र अव्यवस्थित वातावरण मात्र होइन, लुम्बिनी विकास कोषले निर्वाह गर्नुपर्ने  न्यूनतम  भूमिका पनि पुरा नगरेको वातावरणले झन् लज्जित बनाउने खालको देखियो । 


    यस्तो पवित्र स्थलमा न्यूनतम व्यवस्थापन र गरिमा कायम गर्न नसक्नु कोषको दायित्वप्रतिको उदासीनता हो । विशेषतः लुम्बिनी,  गौतमबुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित छ  । बुद्धजयन्तीको दिन लुम्बिनीमा देखिएका दृश्यहरुले यसपटक विगतका वर्षहरूको तुलनामा निकै फितलो देखियो । सामान्यतया बैशाख पूर्णिमाको दिन लुम्बिनीमा हजारौं श्रद्धालु, भिक्षु–भिक्षुणी, पर्यटक तथा अन्तर्राष्ट्रिय पाहुनाहरूले भरिभराउ हुने गर्दछ, जहाँ शान्ति पदयात्रा, ध्यान, प्रवचन र सांस्कृतिक कार्यक्रमहरूले वातावरणलाई आध्यात्मिक ऊर्जा प्रदान गर्छन्, तर यसपटक कार्यक्रमको तयारी, व्यवस्थापन र समन्वयमा देखिएको कमजोरीका कारण ती सबै गतिविधिहरू अपेक्षित रूपमा सम्पन्न हुन सकेनन् । मायादेवी मन्दिर परिसरमा सामान्य  रुपमा सजाइएको मञ्च र खाली कुर्सीहरूले स्वयं एउटा मौन प्रश्न उभ्याइरहेका थिए कि के हामी र हाम्रो सरकार आफ्नै सांस्कृतिक इतिहासको सम्मान गर्न असफल हुँदैछौं ?


    यस सन्दर्भमा प्रधानमन्त्रीको अनुपस्थिति व्यापक रूपमा चर्चा र आलोचनाको विषय बन्यो । विगतमा राष्ट्रप्रमुख वा उच्चस्तरीय नेतृत्वको उपस्थिति रहने परम्परा यसपटक तोडिनु केवल एउटा कार्यक्रम छुट्नु मात्र होइन, त्यो सांस्कृतिक निरन्तरतामा आएको विच्छेदको संकेत पनि हो । अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका प्रतिनिधिहरू, राजदूतहरू तथा पाहुनाहरूको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा प्रमुख नेतृत्वको अनुपस्थिति रहनु, नेपालको सांस्कृतिक कूटनीतिमाथि नै प्रश्न उठाउने खालको घटना बन्यो ।  विश्व समुदायले लुम्बिनीलाई शान्तिको प्रतीकका रूपमा उच्च सम्मान दिइरहेको अवस्थामा बुद्ध जयन्तिको दिन देखिएको फितलो व्यवस्थापनले हामी आफ्नै धरोहरप्रति पर्याप्त संवेदनशील छैनौ भन्ने  कुराको सन्देश दिएको छ ।


    यसपटकको अर्को महŒवपूर्ण पक्ष भनेको बेमौसमी वर्षा हो, जसले भौतिक रूपमा कार्यक्रमलाई प्रभावित मात्र गरेन, समग्र भावनात्मक वातावरणलाई पनि शिथिल बनायो । निरन्तर परेको वर्षाका कारण दर्शनार्थीहरूलाई मायादेवी मन्दिरसम्म पुग्न कठिनाइ भयो, धेरै कार्यक्रमहरू स्थगित भए र विदेशी पर्यटकहरूको अनुभवसमेत प्रभावित बन्यो । यद्यपि प्राकृतिक घटना मानव नियन्त्रणभन्दा बाहिर हुन्छन्, तर यस्तो परिस्थितिमा वैकल्पिक व्यवस्थापन र पूर्वतयारी गर्न नसक्नु मानवीय कमजोरीकै रूपमा देखिन्छ । जब प्रकृति प्रतिकूल हुन्छ, तब राज्यको व्यवस्थापन क्षमता अझ स्पष्ट रूपमा परीक्षण हुन्छ । यसपटक त्यो परीक्षा अपेक्षित रूपमा सफल देखिएन् । 


    यस्ता कमजोरीहरूको बिचमा पनि गौतमबुद्धका दिव्य उपदेशहरूको सान्दर्भिकता अझ गहिरो रूपमा महसुस गर्न सकिन्छ । बुद्धले मानव जीवनका दुःख, तिनका कारण र मुक्ति मार्गबारे दिएका शिक्षाहरू आजको सामाजिक र राजनीतिक सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण छन् । चार आर्य सत्यले जीवनको यथार्थ बुझ्न सिकाउँछन् भने अष्टाङ्ग मार्गले सही आचरणको दिशा देखाउँछ । करुणा, मैत्री, अहिंसा र मध्यम मार्गजस्ता सिद्धान्तहरू केवल व्यक्तिगत जीवनका लागि मात्र होइन, शासन प्रणाली र सामाजिक संरचनाका लागि पनि मार्गदर्शक बन्न सक्छन् । यदि राज्य सञ्चालनमा यी मूल्यहरूलाई आत्मसात गरिन्थ्यो भने, सायद यस्ता सांस्कृतिक पर्वहरूको व्यवस्थापनमा देखिएको कमजोरी दोहोरिने थिएन ।


    लुम्बिनीको महत्व केवल धार्मिक सीमाभित्र मात्र सीमित छैन । सन् १९९७ मा ग्ल्भ्क्ऋइ द्वारा विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि यसको अन्तर्राष्ट्रिय प्रतिष्ठा झन् उचाइमा पुगेको छ । विश्वका विभिन्न देशबाट आउने श्रद्धालु र पर्यटकहरूले लुम्बिनीलाई शान्ति, ध्यान र आध्यात्मिक अभ्यासको केन्द्रका रूपमा लिने गरेका छन् ।  यहाँ आयोजना हुने बुद्ध जयन्ती केवल एउटा राष्ट्रिय पर्व मात्र होइन । यो अन्तर्राष्ट्रिय सांस्कृतिक, कूटनीतिक अवसर पनि हो । बुद्धजयन्ती जस्तो अन्तर्राष्ट्रिय पर्वको व्यवस्थापनमा देखिने सानो कमजोरीले हामी आफ्नो सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा कति गम्भीर छौं भन्ने सन्देश पनि दिन्छ । 
    नेपाल जस्तो बहुसांस्कृतिक र बहुधार्मिक देशमा सांस्कृतिक जगेर्ना राज्यको प्रमुख दायित्वभित्र पर्छ । लोकतान्त्रिक गणतन्त्रको मर्म केवल राजनीतिक अधिकारमा सीमित हुँदैन; यसले सांस्कृतिक पहिचानको संरक्षण र सम्मानलाई पनि समेट्नुपर्छ । बुद्धजयन्ती जस्तो पर्वलाई भव्य, समावेशी र व्यवस्थित रूपमा मनाउनु केवल धार्मिक आस्था प्रदर्शन मात्र नभै राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो, तर यसपटक देखिएको फितलोपनले  हामीले आफ्नो प्राथमिकता निर्धारणमा कतै न कतै गल्ती गरिरहेका छौं भन्ने सङ्केत दिएको छ । 


    अब हामीले आत्ममूल्याङ्कन गर्ने बेला आएको छ; के हामी केवल औपचारिक रूपमा पर्व मनाउने दिशामा अघि बढिरहेका छौं ? के हामीले बुद्धका शिक्षाहरूलाई व्यवहारमा उतार्न सकेका छौं ? यदि छैन भने, बुद्ध जयन्तीको वास्तविक उद्देश्य नै अधुरो रहनेछ । बुद्धले सिकाएको करुणा, सहिष्णुता र सम्यक दृष्टि आजको विभाजित र अस्थिर विश्वका लागि झन् आवश्यक छन् । ती मूल्यहरूलाई केवल प्रवचनमा सीमित नराखी व्यवहारमा लागू गर्न सके मात्र यस्ता पर्वहरूको सार्थकता हुन्छ । 


    प्रकृतिको प्रतिकूलता भन्दा पनि मानव निर्मित कमजोरीहरू अझ बढी गम्भीर हुन्छन् भन्ने कुरा यस वर्षको अनुभवले एउटा महत्वपूर्ण सन्देश दिएको छ  । बेमौसमी वर्षाले कार्यक्रमलाई प्रभावित पार्न सक्छ, तर त्यसलाई व्यवस्थापन गर्न सकिने क्षमता राज्यसँग हुनुपर्छ । जब नेतृत्व स्वयं अनुपस्थित हुन्छ र तयारी कमजोर हुन्छ, तब परिणामस्वरूप सम्पूर्ण पर्व नै प्रभावहीन बन्न पुग्छ । २५७०आँै बुद्ध जयन्तिमा देखिएका कमजोरीले भविष्यका लागि एउटा चेतावनी पनि दिएको छ, यदि हामीले आफ्नो सांस्कृतिक धरोहरप्रति गम्भीरता देखाएनौ भने, यस्ता ऐतिहासिक पर्वहरू केवल औपचारिकतामा सीमित हुनेछन् ।


    बुद्ध जयन्ती केवल विगतको सम्झना मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो भन्ने कुरा सम्पूर्ण सरोकार वालाले बुझ्न जरुरी छ । लुम्बिनी जस्तो पवित्र स्थलले विश्वलाई शान्तिको सन्देश दिइरहेको छ, तर त्यो सन्देशलाई प्रभावकारी बनाउन हाम्रो व्यवहार, हाम्रो नीति र हाम्रो प्राथमिकताले साथ दिनुपर्छ । हामीले बुद्धका उपदेशहरूलाई जीवन र शासन दुवैमा आत्मसात गर्न सकेनौं भने, यस्तो खल्लोपन भविष्यमा पनि दोहोरिन सक्छ । हामीले आफ्नो इतिहासलाई केवल सम्झने मात्र नभै सम्मानपूर्वक जिउने आधार बनाउ सक्नु नै सच्चा नागरिकको कर्तव्य हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij