अविजित पन्थी
बुटवल
बुटवल उप–महानगरपालिका–११ स्थित श्री देवीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडको आयोजनामा सरसफाइ तथा हरियाली प्रवद्र्धनसम्बन्धी दुई छुट्टाछुट्टै कार्यक्रम सफलता पूर्वक सम्पन्न भएका छन् । बैशाख १८ गते सरसफाइ अभियान र बैशाख १९ गते सचेतनामूलक गोष्ठी आयोजना गरिएको थियो ।
बैशाख १९ गते आयोजित “सरसफाइ तथा हरियाली प्रवद्र्धन” सम्बन्धी एकदिने सचेतनामूलक गोष्ठी कार्यक्रममा करिब ३०० जना उपभोक्ता तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाकर खनाल रहेका थिए । उनले सहकारीको भूमिका, व्यवस्थापन तथा सामुदायिक विकासमा यसको योगदानबारे प्रशिक्षणमूलक मन्तव्य प्रस्तुत गरे ।
विशिष्ट अतिथिका रूपमा कृषि शाखा प्रमुख सन्तोष जिसी सहभागी रहेका थिए । उनले कौसी खेती, सरसफाइ व्यवस्थापन तथा हरियाली प्रवद्र्धनका व्यावहारिक पक्षबारे सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष सुरेशकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष भगवती पन्थीले व्यक्त गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव हरिप्रसाद भट्टराईले गरेका थिए ।
गोष्ठीमा वक्ताहरूले सरसफाइलाई दैनिक जीवनशैलीको अभिन्न अंग बनाउनुपर्ने र हरियाली विस्तारमार्फत स्वच्छ तथा स्वस्थ वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहने कुरामा जोड दिएका थिए ।
यसअघि बुद्ध जयन्तीको अवसरमा बैशाख १८ गते “देवीनगर सरसफाइ अभियान–२०८३” अन्तर्गत सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको थियो । उक्त अभियानमा करिब ५०० जनाभन्दा बढी स्थानीयवासी, स्वयंसेवक तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मञ्जु भुसाल रहेकी थिइन् भने अध्यक्षता संस्थाका अध्यक्ष सुरेशकुमार पौडेलले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव हरि प्रसाद भट्टराईले गरेका थिए ।
अभियानअन्तर्गत देवीनगर क्षेत्रका सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रहरूमा सरसफाइ गरिएको थियो भने वातावरणीय सन्देश प्रवाह गर्न विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो ।
लगातार दुई दिनसम्म आयोजना गरिएका यी कार्यक्रमहरूले देवीनगर क्षेत्रमा सरसफाइ तथा हरियालीप्रति उल्लेखनीय जनचेतना अभिवृद्धि गरेको छ । सहकारी संस्थाले समुदायस्तरमा सरसफाइलाई अभियानकै रूपमा अघि बढाउँदै लैजाने र हरियाली विस्तारमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सहभागीहरूले यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा थप्नुका साथै समुदायमा जिम्मेवारीबोध बढाएको बताएका छन् ।




