भैरहवा । अन्तर्राष्ट्रिय बौद्ध मानवतावादी संस्था चू जीले बुद्ध जन्मभूमि लुम्बिनीमा आफ्नो सेवायात्रालाई नयाँ उचाइमा पु¥याउँदै चू जी लुम्बिनी क्याम्पसको सुरुवात गरेको छ । नेपालसँग तीन दशक लामो भावनात्मक र सेवामूलक सम्बन्ध रहेको यस संस्थाले पछिल्लो चार वर्षदेखि लुम्बिनी क्षेत्रमा गरेको गहिरो प्रतिबद्धताको परिणामस्वरुप यो स्थायी संरचना निर्माण भएको हो । यो सुरुवात केवल एउटा भवनको सञ्चालन मात्र नभई, वर्षौंदेखि स्थानीय समुदायसँग गाँसिएको विश्वास र सहकार्यको एउटा बलियो कडी बनेको छ ।
नेपालसँग चू जीको सम्बन्ध सन् १९९३ को विनाशकारी बाढीपछि सुरु भएको थियो, जतिबेला संस्थाले राहत र आवास निर्माणमा ठूलो सहयोग पु¥याएको थियो ।
त्यसयता सन् २०१५ को भूकम्प र कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा पनि संस्थाले नेपाललाई निरन्तर साथ दियो । विशेषगरी कोभिडको समयमा १० वटा चार्टर्ड उडानमार्फत् अत्यावश्यक स्वास्थ्य सामग्री र सुरक्षा उपकरण उपलब्ध गराएर संस्थाले संकटको साथीका रूपमा आफूलाई उभ्याएको थियो ।
सन् २०२२ देखि भने चू जीका स्वयंसेवकहरूले लुम्बिनी, कपिलवस्तु र काठमाडौँका विपन्न समुदायलाई लक्षित गरी शिक्षा, स्वास्थ्य र सीप विकासका कार्यक्रमहरूलाई थप सघन बनाएका छन् ।
नयाँ सञ्चालनमा आएको लुम्बिनी क्याम्पसले स्वास्थ्य, शिक्षा र सञ्चारलाई एकीकृत रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ । शिक्षातर्फ लुम्बिनी बुद्धिष्ट चुजी स्कुलले किन्डरगार्टेनदेखि कक्षा २ सम्मको शैक्षिक सत्र सुरु गरिसकेको छ, जसलाई निकट भविष्यमै कक्षा १२ सम्म विस्तार गरिनेछ । दीर्घकालीन रूपमा यहाँ प्राविधिक शिक्षालय र विश्वविद्यालय नै स्थापना गर्ने संस्थाको महत्वकाङ्क्षी योजना रहेको छ । स्वास्थ्यतर्फ, पहिले सानो कार्यालयबाट सञ्चालन हुँदै आएको निःशुल्क क्लिनिकलाई अब यही क्याम्पसबाट व्यवस्थित रूपमा सञ्चालन गरिएको छ भने ठूलो सुविधासम्पन्न अस्पताल निर्माणको काम पनि अघि बढिरहेको छ । यसका साथै, सकारात्मक सन्देश र सांस्कृतिक चेतना फैलाउन बोदी टिभी समेत क्याम्पस परिसरबाटै सञ्चालनमा आइसकेको छ ।
चू जीले आफ्नो सबैभन्दा ठूलो उपलब्धिका रूपमा स्थानीयको बढ्दो सहभागिता र स्वयंसेवालाई लिएको छ ।
कुनै समय सहयोगको आशामा बस्ने व्यक्तिहरू अहिले आफैँ स्वयंसेवक बनेर अरूलाई सहयोग गर्न अग्रसर हुनुले समुदायमा सकारात्मक परिवर्तन आएको संस्थाको ठहर छ । संस्थापक धर्मा मास्टर चेङ यानको बौद्ध धर्मका लागि, सबै प्राणीका लागि भन्ने मूल मन्त्रलाई शिरोधार्य गर्दै दुःख कम गर्ने, शिक्षा दिने र मानिसलाई आत्मनिर्भर बनाउने बाटोमा संस्था अघि बढेको छ ।
विश्वका १३९ देशमा सक्रिय रहेको यो संस्थाले नेपाल सरकार, स्थानीय निकाय र समुदायप्रति आभार व्यक्त गर्दै बुद्धभूमिमा करुणाको शक्तिलाई थप गहिरो गरी स्थापित गर्ने संकल्प गरेको छ । बुद्धप्रति सम्मान केवल श्रद्धामा मात्र सीमित हुनुहुँदैन, त्यो सेवा र शिक्षाका माध्यमबाट व्यक्त हुनुपर्छ भन्ने मान्यताका साथ चू जीले आगामी दिनमा पनि विनम्रता र दीर्घकालीन प्रतिबद्धताका साथ नेपालमा आफ्नो सेवा जारी राख्ने जनाएको छ । यो क्याम्पसको स्थापनासँगै लुम्बिनी क्षेत्रको समग्र विकास र विपन्न समुदायको उत्थानमा एउटा नयाँ अध्याय सुरु भएको छ ।




