टेकराज पौडेल
शहरका सुकुम्वासी बस्तीहरूलाई टाढाबाट हेर्दा ती केवल टिनका छाना, प्लास्टिकका बार र अस्थायी टहरा जस्ता देखिन्छन् । तर नजिकबाट हेर्ने हो भने ती प्रत्येक झुपडीभित्र एउटा मन छ-डरले थिचिएको, आशाले बाँचेको, र अपमानसँग लडिरहेको । त्यहाँ बस्ने मानिसहरू अपराधी होइनन्, अवसरबाट वञ्चित गरिएका नागरिक हुन् । उनीहरूको सबैभन्दा ठूलो पीडा भोक मात्र होइन–“मान्छे भएर पनि मान्छे जस्तो नदेखिने” अवस्था हो ।
गाउँ छोडेर शहर आउने निर्णय कसैले हल्का रूपमा लिँदैन । त्यो निर्णयमा असफल खेती, बेरोजगारी, ऋणको भारी, र सन्तानको भविष्यको चिन्ता मिसिएको हुन्छ । जब गाउँले जीवनले आधार दिन छोड्छ, शहर अन्तिम आश्रय बन्छ । शहर उनीहरूका लागि सपना होइन, संघर्षको मैदान हो-जहाँ बिहानदेखि बेलुकासम्मको पसिना बेचेर साँझको छाक जोहो गर्नुपर्छ। सडक पेटीमा सामान बेच्ने, ठेला चलाउने, सस्तो खाना बनाउने-यही हो उनीहरूको अर्थतन्त्र, यही हो जीवन ।
तर शहरले उनीहरूलाई केन्द्रमा राख्दैन; किनारामा धकेल्छ । नदी किनार, पुलमुनि, खाली जमिन-यहीँ उनीहरूको संसार बस्छ । त्यहाँ बस्नु उनीहरूको चाहना होइन, बाध्यता हो । किनकि त्यही ठाउँ काम नजिक हुन्छ, त्यहीँ आफ्नै जस्तो मान्छे भेटिन्छन्, र त्यहीँ जीवन धान्ने सानो सम्भावना रहन्छ । पक्की घर भन्दा पनि “काम नजिकको ठाउँ” उनीहरूको लागि बढी महत्वपूर्ण हुन्छ—यो कुरा बुझ्न नसक्दा हामी उनीहरूको निर्णयलाई गलत ठान्छौं ।
जब राज्यले बस्ती हटाउने निर्णय लिन्छ, त्यो केवल संरचना हटाउने निर्णय जस्तो देखिन्छ। तर त्यो निर्णयले हजारौँ मनहरूमा भूकम्प ल्याउँछ । एकैछिनमा घर भत्किँदा केवल भौतिक संरचना ढल्दैन—बच्चाहरूको पढाइ टुट्छ, छिमेकीसँगको सहारा हराउँछ, र भविष्यप्रतिको विश्वास चकनाचुर हुन्छ । उनीहरूका लागि “घर” भनेको चारवटा पर्खाल मात्र होइन; त्यो उनीहरूको सुरक्षा, सम्बन्ध र आत्मसम्मानको केन्द्र हो ।
अझ गहिरो मनोवैज्ञानिक पक्ष के हो भने—किन कतिपय सुकुम्बासीहरूलाई दिइएका पक्की घरहरू पनि टिकाउ समाधान बन्न सकेनन् ? यसको उत्तर सीधा छः घरले मात्र जीवन चल्दैन । यदि नयाँ ठाउँमा रोजगारी छैन, बजार छैन, पुरानो सामाजिक सञ्जाल छैन भने पक्की घर पनि पराइ जस्तो लाग्छ । मानिसले केवल आश्रय होइन, आफ्नो “जड” खोज्छ—जहाँ ऊ काम गर्न सक्छ, जहाँ ऊ चिनिन्छ, जहाँ ऊ एक्लो हुँदैन ।
यो यथार्थ नेपालमा मात्र सीमित छैन । पाकिस्तान को कराची, भारत को मुम्बई, मेक्सिको को मेक्सिको सिटी, केन्या को नैरोबी, र दक्षिण अफ्रिका को केपटाउन-यी सबै शहरहरूमा सुकुम्वासी बस्तीहरू छन् । फरक देश, फरक भाषा, फरक संस्कृति—तर पीडा उस्तै । यसले देखाउँछ, सुकुम्बासी समस्या कुनै एक देशको असफलता होइन; यो विश्वव्यापी असमानता र असन्तुलित विकासको परिणाम हो । तर समाजको दृष्टिकोण अझै कठोर छ । सुकुम्वासीलाई हेर्ने नजरमा सहानुभूतिभन्दा बढी तिरस्कार देखिन्छ । सामाजिक सञ्जालमा उनीहरूको पीडामा हाँसो उडाउने, हटाइँदा ताली बजाउने प्रवृत्ति बढ्दो छ । यो केवल असंवेदनशीलता होइन; यो मानवीयता हराउँदै गएको संकेत हो । वास्तविकता के हो भने, शहरको अर्थतन्त्र उनीहरूको काँधमा टिकेको छ । सस्तो श्रम, दैनिक सेवा, निर्माण कार्य-यी सबैमा उनीहरूको योगदान अदृश्य भए पनि अत्यन्त महत्वपूर्ण छ ।
समाधानको बाटो केवल बस्ती भत्काउनु होइन, जीवन बनाउनु हो । राज्यले यदि साँच्चै परिवर्तन चाहन्छ भने, आवाससँगै रोजगारी, सीप विकास, साना व्यवसायका अवसर र सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्छ । सुकुम्वासीलाई हटाएर शहर सफा देखिन सक्छ, तर समस्या झन् गहिरो भएर अर्को ठाउँमा उम्रिन्छ ।
अन्ततः, सुकुम्वासी कुनै “समस्या” होइनन्उ-नीहरू समस्याको परिणाम हुन् । उनीहरूको आँखामा हेर्दा हामीले असफल नीति, असमान समाज र बेवास्ता गरिएको मानवता देख्न सक्छौं । जबसम्म हामी उनीहरूलाई “अवैध बासिन्दा” होइन, “अधिकार भएका नागरिक” का रूपमा हेर्न सिक्दैनौं, तबसम्म कुनै पनि समाधान पूर्ण हुँदैन ।
मानिसलाई बस्ने ठाउँ मात्र होइन, बाँच्ने आधार चाहिन्छ-र त्यो आधार दिनु नै सभ्य राज्य र संवेदनशील समाजको साँचो परीक्षा हो ।




