अनिल नेपाली - अर्घाखाँची । “हाम्रो साहस” को आयोजनामा तथा दलित महिला संघको साझेदारीमा अन्तरपुस्ता छलफल कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रमले विभिन्न पुस्ताका नागरिकलाई एउटै मञ्चमा ल्याउँदै जातीय विभेद अन्त्यका विषयमा खुला संवाद गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले पछिल्लो समय जातीय विभेद विगतको तुलनामा उल्लेखनीय रूपमा घट्दै गएको बताउनुभयो।
उहाँले नगरपालिकाले समुदायस्तरमै प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै वडा तहसम्म जनचेतना विस्तार गरिरहेको जानकारी दिनुभयो। “जातीय विभेदको अन्त्य हामी आफैँबाट सुरु गर्न सके विद्यालय, घर र समुदायमा समानताको वातावरण निर्माण हुन्छ,” उहाँले जोड दिनुभयो।
त्यसैगरी सन्धिखर्क–१० का वडा अध्यक्ष मोहन सिंह ठकुरीले सामाजिक परिवर्तन घरभित्रबाटै सुरु हुनुपर्ने धारणा राख्नुभयो। विशेषगरी महिलाहरू सचेत र सक्रिय भएमा दलित तथा गैरदलितबीचको विभाजन क्रमशः अन्त्य हुँदै जाने उहाँको भनाइ थियो।
कार्यक्रममा इन्सेकका प्रतिनिधि कुलबहादुर नेपालीले जिल्लामा अझै पनि विभेदसम्बन्धी मुद्दाहरू दर्ता भइरहेकाले यसको अन्त्यका लागि समावेशी प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। सबै समुदायको अधिकार सुनिश्चित गर्दै कसैलाई पनि वञ्चित हुन नदिने दिशामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमको सहजीकरण गर्दै राधा नेपालीले “साहस अन्तरपुस्ता कार्यक्रम” मा जेनजीदेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहेको बताउँदै यसले समुदायको समग्र आवाज बुझ्न सहज बनाएको बताउनुभयो।
उनका अनुसार उक्त कार्यक्रम भूमिकास्थान नगरपालिका वडा नं. ३ र ४ तथा सन्धिखर्क नगरपालिका वडा नं. २ र १० मा सञ्चालन भइरहेको छ।
कार्यक्रममा ठाकुर अधिकारी, गोविन्द सुनार, शिवनाथ श्रेष्ठ, लेखनाथ भुसाल, कमल पोखरेल र दीपक भुसाल लगायत सहभागीहरूले जातीय विभेद अन्त्य नै मुख्य उद्देश्य रहेको उल्लेख गर्दै यसका लागि सबै निकायको सहकार्य अपरिहार्य रहेको बताए।
दलित चेतना विकास संघ अर्घाखाँचीकी अध्यक्ष बसन्ता गतराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम अनिल नेपालीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले विगतको तुलनामा हाल विभेद घट्दै गएको अनुभव समेत साझा गरेका थिए।




