नेपालमा मनसुनजन्य जोखिमको याम सुरु भएको छ । गत वर्ष लामो खडेरी भयो, त्यसपछि निरन्तर ठूलो वर्षा । त्यसले निम्त्याएको कहालीलाग्दो विपत्ति । विगतको त्यो घटनालाई सम्झदै अहिले नै विपद्सँग जुध्न कार्यक्रम अघि बढाउन आवश्यक छ । अहिले पोहोर झैं खडेरी त भएन्, केही दिन बिराएर ठाउँ–ठाउँमा वर्षा र हिमपात भएको छ । खडेरीको मार खेप्न नपरे पनि मनसुन भित्रिन लागेकोले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको लागि पूर्वतयारी आवश्यक छ ।
विपद्को पूर्वतयारीका कार्यमा ध्यान दिन सके क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद् व्यवस्थापनमा पूर्व तयारी र कार्य तथा विपद्पछिको उद्दार र राहतमा सरकारको ध्यान जानुपर्छ । अघिल्लो वर्ष विपद् व्यवस्थापनमा चुक्दा ठूलो जनधनको क्षति भयो । गत वर्ष रसुवामा आएको बाढीको उद्दारमा सतर्कता अपनाउँदा नागरिकले राज्यको अनुभूति गर्न पाए । विपद्को पूर्व तयारी र प्रतिकार्यमा अझै पनि हामी कमजोर छौँ । उद्दार र राहतका लागि जति सक्रियता छ, विपद् पूर्व तयारीमा हामी कमजोर छौँ । विपद् रोक्न सक्रियता कमजोर हुँदा ठूलो जनधनको क्षति भएको पाठ सिक्न राज्य निरन्तर चुकिरहेको छ ।
जलवायु परिवर्तनको असरले विपद्का घटना बढिरहेका छन् । अतिवृष्टि र अनावृष्टिका घटना बढिरहेका छन् । हिमालमा हिउँ पर्न छाडेको र तापक्रम बढ्दै जाँदा हिउँ पग्लने क्रम बढिरहेको बेला यो वर्ष हिउँदमा हिमाली क्षेत्रमा हिमपात भयो । हिमाली क्षेत्रमा पनि वर्षा हुने दर बढिरहेकोले त्यसले निम्त्याउने विपत्तिमा राज्य चनाखो हुनुपर्छ ।
मुलुकमा संघीय शासन प्रणाली स्थापना भएपछि तहगत सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयनलाई जोड दिँदै आएका छन् । कार्ययोजनामा तहगत सरकारले गर्नुपर्नेकाम, समन्वय र सहकार्य प्रष्ट उल्लेख भए पनि कार्यान्वयन फितलो हुँदा जोखिम न्यूनीकरण हुन सकिरहेको छैन । विपद् व्यवस्थापनका लागि आवश्यक स्रोतको पर्याप्त व्यवस्थापन नहुँदा समेत प्रहरी-सेनाको सक्रियता महत्वपूर्ण छ ।
तहगत सरकारबिचको समन्वय र सकारात्मक पहलकदमीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ । तहगत सरकारको सहकार्यलाई प्रभावकारी बनाउने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री बालेन्द्र साहले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पहलकदमी लिन सक्छन् । अहिले गृहमन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेकाले विपद् व्यवस्थापनको पहलकदमीमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण छ ।
गृहमन्त्रालयको काम सुरक्षा निकायबिच समन्वय, परिचालन, समग्र गृह प्रशासनको परिचालन हो । यस्तो संवेदनशील समयमा गृहमन्त्रालय अहिले नेतृत्वविहीन छ । गृहमन्त्री सुदन गुरूङ विवादमा तानिएपछि राजीनामा दिए । उनको राजीनामापछि गृहमन्त्रालयको कमाण्ड प्रधानमन्त्रीले नै हेर्दै आएका छन् । गृहमन्त्रालयमा विभागीय मन्त्री हुन आवश्यक छ ।




