गंगा पोखरेल
आजको आधुनिक जीवनशैलीले हामीलाई अकल्पनीय सुविधा दिएको छ । बजारमा पुग्दा सामान सजिलै उपलब्ध हुन्छ, अनलाइन अर्डर गर्दा घरमै डेलिभरी आइपुग्छ र दैनिक आवश्यकताका वस्तुहरू प्लास्टिकका प्याकेटमा सुरक्षित भएर घर–घरमा भित्रिन्छन् । तर यही सुविधा, जसले हाम्रो जीवन सहज बनाएको छ, आज वातावरणका लागि गम्भीर संकटको कारण बन्दै गएको छ । नेपालमा विशेष गरी पछिल्ला वर्षहरूमा प्लास्टिकको अनियन्त्रित प्रयोगले प्रदूषणको आयतन दिनप्रतिदिन बढाइरहेको छ ।
पहिलेका दिनमा मानिसहरू कपडाको झोला बोकेर बजार जान्थे । तर अहिले बजारदेखि घरसम्मको यात्रा प्लास्टिकमा निर्भर भएको छ । अहिले बजारमा जुनसुकै पसलमा पनि सानोभन्दा सानो सामानदेखि ठूलो सामानसम्म प्लास्टिकका झोलामा दिने गरिन्छ । अझ अलि धेरै सामान भयो भने त प्लास्टिकका झोलालाई दोब्बर तेब्बर गरेर पनि सामान हातमा झुण्डाउँदै हिँडिरहेको दृश्य देख्न सकिन्छ । तरकारी, फलफूल, दालचामलदेखि दुग्धजन्य पदार्थ, पानीको बोतल, स्न्याक्स, औषधि सबै कुरा प्लास्टिकमै प्याक भएर आउँछ ।
अत्यन्तै सस्तो रूपमा र सहजै उपलब्ध हुने प्लास्टिकका झोलाहरू दिनेले र लिनेले सजिलोसँग प्रयोग गरिरहेको देख्न सकिन्छ । अझ भनौ जति सामानका प्रकार छन्, त्यति नै मात्रामा प्लास्टिकका झोलाहरूमा सामान दिने गरिन्छ ।
विशेषगरी शहरी क्षेत्रहरूमा “एकपटक प्रयोग गरेर फाल्ने” (कष्लनभि–गकभ) प्लास्टिकको प्रयोग अत्यधिक बढेको छ । प्लास्टिकका झोला, कप, प्लेट, स्ट्र, बोतल, ¥यापरहरू जताततै फालिएको देख्न सकिन्छ । यी वस्तुहरू प्रयोग गर्न सजिला भए पनि, फालिसकेपछि तिनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राज्यले सरसफाइ व्यवस्थापनको लागि शहरी क्षेत्रबाट फोहोर सङ्कलनमा जति लगानी गरे पनि यत्रतत्र खोला, खोल्सा र खाली जमिनमा प्लास्टिकजन्य वस्तुहरू प्रशस्त मात्रामा देख्न सकिन्छ, जसले गर्दा शहरी सौन्दर्यलाई नै विद्रुप बनाएको छ ।
प्लास्टिक विघटन हुन नसक्ने विष हो । प्लास्टिकको सबैभन्दा ठूलो समस्या भनेको यसको अविनाशी प्रकृति हो । एउटा सामान्य प्लास्टिकको झोला विघटन हुन सयौं वर्ष लाग्छ । यसले माटो, पानी र हावामा विषाक्त प्रभाव पार्छ । नेपालजस्तो देशमा, जहाँ फोहोर व्यवस्थापन प्रणाली अझै व्यवस्थित छैन, प्लास्टिकको समस्या झन् जटिल बनेको छ । अधिकांश प्लास्टिक फोहोर खुला ठाउँमा फालिन्छ, जलाइन्छ वा नदीमा बगाइन्छ । यसले वातावरणमा दीर्घकालीन क्षति पु¥याइरहेको छ ।
नदी र जलस्रोतमा प्लास्टिक प्रदूषणको प्रभाव व्यापक रूपमा देख्न सकिन्छ । नेपालका नदीहरू अहिले प्लास्टिक प्रदूषणको साक्षी बनेका छन् । शहरहरूबाट निस्किएको फोहोर सिधँै नदीमा मिसिन्छ । प्लास्टिकका बोतल, झोला, ¥यापरहरू नदीको सतहमा तैरिरहेका देखिन्छन् । यसले जलचर जीवहरूलाई प्रत्यक्ष असर पारेको छ ।
कृषि र माटोमा पनि प्लास्टिकजन्य पदार्थहरूको असर प्रत्यक्ष रूपमा देख्न सकिन्छ । प्लास्टिक फोहोर खेतबारीमा पुग्दा माटोको उर्वराशक्ति घट्छ । प्लास्टिकले माटोको संरचना बिगार्छ, जसले पानी र हावाको सन्तुलनमा असर पार्छ । यसले बाली उत्पादनमा कमी ल्याउँछ ।
किसानहरूले प्रयोग गर्ने मल र विषादी पनि प्रायः प्लास्टिकको प्याकेटमा आउँछन्, जुन प्रयोगपछि खुला ठाउँमा फालिन्छ । यसले ग्रामीण क्षेत्रमा पनि प्लास्टिक प्रदूषण फैलाइरहेको छ । प्लास्टिक केवल वातावरणीय समस्या मात्र होइन, यो मानव स्वास्थ्यको लागि पनि गम्भीर खतरा हो । प्लास्टिक जलाउँदा विषाक्त धुँवा निस्कन्छ, जसले श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउछ ।
त्यस्तै, प्लास्टिकका बोतल र कन्टेनरहरूबाट निस्कने रसायनहरू खाना र पानीमा मिसिदा यसले दीर्घकालीन रूपमा क्यान्सर, हार्मोन असन्तुलन र अन्य रोगहरूको जोखिम बढाइरहेको छ ।
यसको असर पर्यटन क्षेत्रमा पनि उत्तिकै पर्दछ । नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटन हो । तर प्राकृतिक सौन्दर्य नै प्लास्टिकजन्य फोहोरले बिगार्दै गएको छ । हिमाल, जंगल, पदमार्ग, र धार्मिक स्थलहरूमा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन थालेको छ । विदेशी पर्यटकहरू नेपाल घुम्न आउँदा स्वच्छ वातावरणको अपेक्षा गर्छन् । तर प्लास्टिक प्रदूषणले नेपालको छवि नकारात्मक बनाइरहेको छ ।
सम्मानित सर्वोच्च अदालतबाट २०७८-७९ बजेटको वक्तव्यको बुँदा नम्बर १६० मा ४० माइक्रोनभन्दा कम पातलो प्लास्टिकका झोलाहरूलाई २०७८ श्रावण १ गतेबाट पूर्ण रूपमा देशैभर प्रतिबन्ध लगाउने भन्ने आदेश उपर पनि यो कार्यमा कुनै कार्यान्वयन हुन सकेको छैन । वास्तवमा यो अत्यन्तै राम्रो निर्णय थियो । अहिले डम्पिङ साइडको एरियामा ८० प्रतिशत फोहोर चालीस माइक्रोनभन्दा पातलो प्लास्टिकहरू देख्न सकिन्छ । सम्भव भएका ठाउँमा पनि प्लास्टिकको विकल्प खोज्ने इच्छाशक्ति नहुँदा यसले वातावरणमा प्रत्यक्ष असर पारिरहेको छ, यो एउटा विकराल समस्या हो ।
प्लास्टिक नियन्त्रणसम्बन्धी सरकारी प्रयास पनि कढाइका साथ लागू हुन नसक्दा यो चुनौतीपूर्ण बनेको छ । यसरी प्लास्टिकजन्य पदार्थहरूको प्रदूषण बढ्दै जानु जनचेतनाको अभाव र वैकल्पिक उपायहरूको कमी हो । जबसम्म मानिसहरूले आफ्नै बानी परिवर्तन गर्दैनन्, तबसम्म नियम मात्रले समस्या समाधान गर्न सक्दैन ।
प्लास्टिक प्रदूषणको समाधानमा उपभोक्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ । हामी सबैले साना–साना बानी परिवर्तन गरेर ठूलो प्रभाव पार्न सक्छौं । बजार जाँदा कपडाको झोला प्रयोग गर्ने अत्यावश्यक काममा बाहेक प्लास्टिकका झोलाहरूको प्रयोगलाई घटाउने हो र प्रयोगमा ल्याएका प्लास्टिकजन्य सामग्रीहरूको उचित व्यवस्थापन प्रत्येक घरले गर्न सक्यो भने मात्रै समग्र वातावरणको संरक्षण गर्न सकिन्छ । साथै, ग्राहकलाई प्लास्टिकको सट्टा वैकल्पिक सामग्री दिन प्रोत्साहन गर्नुपर्छ ।
“नो प्लास्टिक” अभियानलाई व्यापक रूपमा प्रचारप्रसार गरी प्लास्टिकजन्य सामग्रीको दीर्घकालीन असरबारे सचेतना जगाउँदै जनस्तरबाटै प्लास्टिक प्रदूषणलाई घटाउन सकिन्छ । प्लास्टिक प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन योजना बनाउन आवश्यक छ । यसका लागि प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकास, पुनःप्रयोग र पुनर्चक्रण (चभअथअष्लिन) प्रवद्र्धन रजनचेतना अभियान सञ्चालन गरिनुपर्छ । साथै, विद्यालय र समुदायस्तरमा वातावरणीय शिक्षा दिनु पनि अत्यन्त जरुरी छ ।
निष्कर्ष
प्लास्टिक प्रदूषण कुनै एक व्यक्ति वा संस्थाको समस्या होइन । यो हाम्रो साझा चुनौती हो । आज हामीले लिएको सानो निर्णयले भोलिको वातावरण निर्धारण गर्छ । यदि हामीले अहिले नै सचेत भएर प्लास्टिकको प्रयोग घटाउने प्रयास गरेनौं भने, आगामी पुस्ताले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ ।
त्यसैले, समयमै सचेत बनौं, आफ्ना बानी परिवर्तन गरौं, र स्वच्छ, हराभरा नेपाल निर्माणमा योगदान गरौँ ।




